छुटेको जहाज

म बसेको कम्पनी होस्टल नजिकै एउटा सानो पार्क छ। पार्कमा केही थान बडेमानका रुखहरु, शारीरिक अभ्यास गर्ने उपकरणहरु र आराम गरेर बस्ने बेञ्च आदि छन।

 बेलुकीको केही समय म त्यही पार्कमा सुस्ताउँछु। अलि परको हाईवेमा ल्याम्प्पोष्टहरुको दुधिलो किरण पच्छ्याउँदै बत्तिएका सवारी साधनहरु, हाईवेलाई टेकेर उभिएका मझौला पहाडहरु, पहाडहरुको बिचबाट अझ पर देखिने चम्किलो शहर, शहरको काँधैमा भएको समुन्द्रमा बलिरहेका बत्तिहरु….. । म यहाँ आएको शुरुवाती दिनहरुमा एक तमासको अत्यास लागेथ्यो यी सबै हेर्दा। तर आजकल त यी सबै आदत बनिसके। 

प्रायः म बेञ्चमा बसेर आकाश हेर्दा हवाईजहाजहरु तँछाडमछाड गर्दै बेग मारिरहेका देखिन्थे। पुच्छारमा जुनकिरी बाले जस्तै देखिने ती हवाईजहाजका पङ्ती देखेर म मनमनै देश पुग्थेँ र एक्कासी आँगनमा खेलिरहेका कुखुराका चल्लाहरु गने जस्तै निश्चल हुन्थेँ। झसंग झस्किएपछि मन कुँडिन्थ्यो र आत्तिन्थेँ, “कहिले होला म घर फर्किने?” प्रत्येक दिन हिसाब गर्थेँ आफूले बिरानो ठाउँमा बिताएका दिनहरु। तर कत्ति नछाेटिएका दिनहरू !  

तर आजकल त्यो पार्कमा उसै गरि आकाश हेर्दा त्यति देखिन्नन हवाईजहाजहरु। फाट्टफुट्ट उडिरहेका जहाजहरूले कति सपना, त्रास, हिम्मत, आशा-भरोसा अनि सम्भावना ओसारिरहेका होलान्! 

समय एकनासको हुँदैन। समय बितेसंगै समयप्रति मान्छेका धारणा र अपेक्षाहरु पनि फेरिँदै जान्छन्। हिजो हवाईजहाजहरुको बेगसंगै घरदेश पुगेको कल्पनामा हराउने म बिस्तारै यहाँको शान्त ताल, घरिघरी छचल्किने समुन्द्रका छाल, रोबोट जस्तै दैनिकी अनि आफन्त र साथीभाइविहिन निक्खुट एक्लो दैनिकीमा अभ्यस्त हुँदै जान थालेँ। जसरी नयाँ दुलहीले फरक घर र परिवेशमा आफूलाई समाहित गरेर त्यसैलाई आफ्नो बनाउँछिन्।

यदि समय गत डिसेम्बर अन्तिमबाट फरक ढंगले नमोडिएको हुन्थ्यो भने यतिखेर म नेपालमा आफ्ना परिवार, आफन्त र साथीभाइहरुसंग गफिइरहेको हुन्थेँ हुँला । वा कतै घुमिरहेको हुन्थेँ हुँला ।अस्पतालहरुमा चक्कर काटिरहेको पो हुन्थेँ कि? कमजोर आँखा र एकैछिन नि निहुरिन नमिल्ने गरि दुखिरहने ढाँडको उपचार गर्न म स्वदेश फर्कन चाहिरहेको थिएँ। तीन बर्षपछि पहिलो पटक छुट्टिमा घर जाने निधो हुँदा मन पुलकित भएर जुन रफ्तारमा आकाशिएको थियो, अप्रत्यासित रुपमा चीनबाट सुरु भएको कोभिड १९ को आतंकले कोरियालाई समेत लपेट्न थाल्दा लगभग ५ दर्जन देशहरुले कोरियासंगको हवाईसम्बन्ध टुटाएपछी छुट्टि क्यान्सिल हुँदा त्यो भन्दा द्रुत रफ्तारमा म पछारिएँ। 

छोराछोरीको स्कुल परिक्षापछि छुट्टि हुन्छ चैतमा। त्यही छुट्टिमा उनीहरुसँगै केही ठाउँ पुग्न चाहन्थेँ म। मनमनै योजना बनाएको थिएँ। एक महिनाको छुट्टि बसाईमा म नानीहरुलाई हेटौडाको बन बिज्ञान संग्रहालय, सहिद स्मृती पार्क, पोखरा, लुम्बिनी तथा काठमाडौका केही स्थानहरु चिनाउन चाहन्थेँ । गाउँ पुगेर पुराना यादहरुलाई पुनर्ताजगी गर्न चाहन्थेँ।  तर ती सबै योजनाहरु एक्कासी तासको घर जस्तै भत्किए। थाहा छैन, अब कहिले फर्किन पाउँछु! र त्यो पटकको फर्काइमा अहिले जस्तो उत्साह हुन्छ हुन्न !! भन्ने नि थाहा छैन। किनकी समयसंगै मान्छेको कुनै दृष्टिकोणहरु फेरिन्छन्, धारणाहरु बद्लिन्छन्।

शक्ति आर्जनको नाममा प्रकृतिलाई नै चुनौती दिने मान्छेका लागि यो ठूलो चेतावनी हुनसक्छ। मान्छेले न त पानीलाई आफ्नो तरिकाले बग्न दियो न त हावालाई आफ्नै लयमा बहन दियो। न त फलफूललाई आफ्नै समयमा हुर्कन दियो न त जीव जन्तुलाई आफ्नो प्राकृतिक स्वरुप र बासस्थानमा बाँच्न दियो। यी सबैलाई मिचमाच गरेर सबै प्राकृतिक गुणहरु नाश गरिदियो। र प्रकृतिलाई समेत मान्छेले आफ्नै रिमोट कन्ट्रोलमा चलाउन खोज्यो। सायद यस्तै बेहुदा हर्कतका कारण हामी यो समय भोग्दैछाैं । 

म बसिरहेको कोठाको झ्यालबाट बाहिर चिहाउँछु, सडक किनारामा उभिएर फुलिरहेका मनमोहक शाकुराका बोटहरु। अस्तितिर हिउँ र तुषारोले खाएर झिक्रा मात्रै बाँकी राखेको अलि माथिको जंगलका रुखहरुमा पलाइरहेका नयाँ पालुवाहरु। झ्याल नजिकै रहेको रेड लिफको रुख नै ढाक्नेगरी बस्दै-उड्दै रमाइरहेका भंगेराका हुलहरु। अनि सम्झिन्छु देश, सम्झिन्छु गाउँ जहाँ मैले जिन्दगीको स्वर्णिम क्षण समेटेको थिएँ। सायद आरु-बखडाहरु यताका शाकुरा जस्तै पात पलाउनु अघि नै बोटै नदेखिने गरि फुलिरहेका होलान्, अलि मा…..थी लेकतिर सेतो, बैजनी रंगमा पैँयुँहरु फुलेका होलान्। दैनिक घाँस काट्न जाने पारिपट्टिको जंगलमा कटुस फुलेर जंगलै मगमगाइरहेको होला।  भिर पाखातिर काट्न छुटेका खरका बुच्काहरु तिलचामले भएर पलाउँदै होलान्। घरको खट्पलहरुमा भंगेराहरुका नयाँ बचेराहरु उड्न ठिक्क पर्दै होलान्। घुर्‍यानको डिलमा भएको बकाईनोको रुखमा राखिदिएको टोड्कोमा रुपीका बच्चाहरु हुर्किरहेका होलान्। 

चार महिना अघिको समय सहज र सरल ढंगले चलिरहेको भए यतिखेर यिनीहरूसँग यथार्थमै मेरो भेट हुने थियाे । तर 

यतिखेर म, आफू काम गर्ने कम्पनीभन्दा बाहिर जान पाउँदिन। आवस्यक सामग्रीहरु अनलाईनबाट मगाउनुपर्छ। सामान आइपुगेपछी त्यसलाई सावधानीपूर्वक सफाइ गरेर मात्रै प्रयोग गर्नुपर्छ। यहाँको सरकारले यात्रामा लगभग प्रतिबन्ध नै लगाएको छ। यहाँका मान्छेहरु आफै सचेत छन्, अनुशासित छन्। सरकार पनि जवाफदेही छ। चीनपछि सबैभन्दा उच्च दरमा भाइरस फैलिएको कोरियाले त्यसलाई आफ्नो नियन्त्रणमा लिन दुई हप्ता पनि लागेन। अहिले संक्रमण दर न्यून छ। 

बितेका शतकमा दुई वटा बिश्वयुद्ध लडेको आजको मानव सभ्यता विश्वब्यापी रुपमा यति निरीह भएको सायद यो पहिलो पटक होला। विश्वयुद्धहरुमा पनि यति धेरै मानिसहरु एकै साथ एउटै भयमा बाँचेनन् सायद। युद्धमा प्रत्यक्ष सहभागी देश र तिनका सहायक बाहेक अन्य देशका सर्वसाधारण मान्छेहरुलाई त्यो युद्ध आउँदो न जाँदोको थियो। तर आज कोरोना भाइरसको बारेमा नसुन्ने र त्यसबाट त्रसित नहुने मान्छे भेटिन्छ भन्ने तर्क गर्नु युक्तिसंगत नहोला। 

धेरै मान्छेहरु सम्भावित खतराको महसुस गरेर बेलैमा राजधानी र शहरहरुबाट गाउँतिर फर्किए रे । सम्झिन्छु यतिखेर, गाउँ अलि अस्तिभन्दा गुल्जार भएको होला । कुनै समय आफ्ना खेतबारी मात्रै नभएर निक्कै पर परसम्मका खोरियाहरुमा भस्मे फाँडेर खेतीपाती गर्थे मानिसहरु। बढ्दो बैदेशिक रोजगार, बजारको दबदबा अनि विकसित प्रविधिले मान्छेमा निर्माण गरिदिएको मनोदशाका कारण मान्छेहरु गाउँ छोडेर पिच सडकको लम्बाई नाप्दै शहर छिर्न थाले। अनि त खेतबारी, प्रसस्तै फराकिलो घर आँगनलाई झोर जंगल र झाडी बन्न छोडिदिएर १०/१० को एउटा साँघुरो कोठामा खुसी खोज्न थाले। कङ्क्रीटको जंगलले पुरै जमिन ढाक्न लाग्यो। प्रकृतिको संरक्षण गर्दै उत्पादनमा वृद्धि गर्ने परम्परागत प्रणालीहरु भत्किए। 

अहिले बिश्वभरिका मानिसहरुलाई आफ्नो घरभित्र बसेर यो बारेमा सोँच्न बाध्य बनाएको छ। सबैसंग फुर्सद छ यतिखेर। कतै जानु छैन, कतै पुग्नु छैन। कसैलाई भेट्नु छैन र केही गरिहाल्नु नि छैन। तर यो संकटबाट बाहिरिए पछि भने उल्लेखित बिषयहरुमा बिश्वब्यापी छलफल हुन जरुरी छ।

अहिलेको परिवेश नै यस्तो बनिदियो कि एउटा कुरामा सरल रेखिय कुरा लेख्न खोज्दा कैयौं आयामहरु आफै तन्किन पुग्छन्। त्यस्तै भयो यहाँ पनि। 

धन्यबाद ।

दिलिप बान्तावा

हतुवागढी – २ लुङ्गिन, भोजपुर हाल : दक्षिण कोरिया

No responses yet

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply