आजभोली त बिरामी आएको देख्दा नि टाढैबाट “के भएर आउनु भयो ” भनेर सोध्नु पर्ने भएको छ । ज्वरो र खोकीका बिरामीहरू आए भने त झन मुटु नै ढुक- ढुक गर्छ। तर के गर्नु, स्वास्थ्यकर्मी भएर जिम्मेवारी लिएपछि सक्दो गर्नैपर्छ । त्यसमाथि यस्ताे बेलामा त हाम्रो जिम्मेवारी अझै धेरै छ । यसरी अरूलाई मर्का परेको बेलामा सहयोग गर्न पाइने मेरो पेशाप्रति मलाई गर्व छ ।
COVID-19 को संक्रमण फैलिने डरले केही हप्ता यता लाखौ मान्छेले काठमाडौं छोडे । उनीहरू सबै अहिले गाउँ छिरेका छन् । त्यसैले अब शहरका स्वास्थ्य संस्था संगसंगै ग्रामिण स्वास्थ्य संस्था पनि जोखिममा छन् जस्तो मलाई लाग्छ । गाउँ फर्की आएका लाखौ मान्छे मध्ये १ जनालाई मात्रै पनि संक्रमण भएको रैछ भने के गर्ने !यस्तो बेला हामी गाउँमा बसेर सेवा दिने स्वास्थ्यकर्मीले विना सुरक्षा काम गर्नु कति जोखिम होला, सबैले सजिलै अनुमान लगाउन सक्नुहुन्छ । तर यसो भन्दैमा हामी हाम्रो जिम्मेवारीबाट पन्छिदैनाै । आफ्नो वर्कतले भ्याएसम्म हामी सेवा गरिरहनेछाै ।
तर हाम्रो सरकारले अहिलेसम्म पर्याप्त मात्रामा सुरक्षा उपकरण र उपचार गर्दा लगाउनुपर्ने PPE गाउँसम्म पठाउन सकेको छैन । हामी एउटा मास्क र पन्जाको भरमा बिरामी हेर्दैछौ । त्यै पनि पुग्दो छैन । प्रयोग गरिसकेकाे मास्क र पन्जा नै धोइ पखाली गरेर फेरि प्रयोग गर्दैछाै । के गर्नु, मर्नु भन्दा यस्तै उपाय अपनाउनु ठिक लाग्दैछ ।
यस्तो बेला बिरामीलाई उचित परामर्श दिनु हाम्रो कर्तव्य हो । आफ्नो घर परिवारलाई चित्त बुझाउन पनि एकदमै गाह्रो हुने रहेछ । यता पनि सम्झाउँदै, उता पनि सम्झाउँदै काम गरिरहेका छौ हामी सबै स्वास्थ्यकर्मीहरु । घरमा बा-आमालाई पो केही हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । यस्तो सोच्दा रातमा निन्द्रा लाग्दैन । भेट्न जान पनि घर टाढा छ । लक डाउनले आउन जान पनि मिल्दैन । फोनमै कुरा गर्छाैं । यतिबेला हामी सबै साथीहरूको आँखा पिल्पिलाउँछ ।
सरकारले ग्रामीण स्वास्थ संस्थाहरुलाई पनि ध्यान दिएर चाहिने जति PPE मास्क र पन्जाको व्यवस्था गरे हामी कत्ति खुशी खुशी काम गर्ने थियाै । अनि लक डाउनको मारमा परेका बेसाहरा, बिपन्न वर्ग र मजदुरहरुलाई एक छाक मात्रै भए पनि भोक मेट्ने व्यवस्था मिलादिए मेरो मनमा सन्तोक हुनेथियो ।
No responses yet