विश्व स्वास्थ्य संगठनले खतराको सज्ञां दिएपछि नेपाल सरकारले ५ गते वेलुका अलि धेरै चासो लिएर फटाभट निर्णय गर्न थाल्यो । त्यतिबेला सम्म त नेपालमा आएको छैन के भो र भने जस्तो लाग्थ्यो । तर जव सरकारले एसइइको परिक्षा नै रोक्यो तब संकटै परेको हो कि भन्ने लाग्यो । ५ गते साँझदेखि नै अफिसबाट घर जाने गाडी मुस्किलले पाइन थाल्यो। चैत्र ६ देखि धेरै मानिसहरु काठमाडौबाट बाहिरिरहेका थिए। केही दिन हिडेर अफिसबाट घर , घरबाट अफिस गर्दै आइयो। त्यसपछि सुरू भयो मेरो घर वसाइ । गाउँ तिर जाने हो की भनेर सल्लाह पनि भयो । तर गाडीको संभावना कम देख्न थालियो । दशैं भन्दा वढी भिड लागेको छ भन्ने पो सुनियो !
कुनै बेला सोचिन्थ्यो दिनभर सुतेर सिनेमा हेरेर वस्न पाए क्या आनन्द आउँथ्यो। त्यो मज्जाका दिन यस पाला भोगियो । पहिलो दिन त रमाइलै लाग्यो । दिन भर घरमा बसेर समाचार पढ्दै सुतेरै बिताएँ। । राति युट्युबमा नेपाली सिनेमा हेरें । मेरा लागि सुत्न पाउनु खुसीको कुरा हुन्थ्यो तर त्यसदिन निन्द्रै लागेन। यस्तो वसाइ कति दिन चल्छ कुनै टुङ्गो छैन । पहिला कुनै वेला यस्तो संकट भोगेको पनि छैन । त्यसैले हामी अनुभवी हुने कुरै भएन ।
चैत्र ११ गते लकडाउनको दोस्राे दिन । बिहानै उठेर पास मिल्छ कि भनेर अफिसमा सम्पर्क गरेँ। पास नभएपछि घरमै बस्ने निर्णयमा पुगेँ। दिनभर समाचार पढेर दिन बित्यो। यस पछिका दिनहरुमा घरमा वस्नुको विकल्प थिएन । गाउँ जाने संभावना पनि सकिएको छ ।
घरमा बसीरहँदा के गर्ने मैले योजना वनाउन लागे । अनलाईन हेर्ने र खवर अपडेट भैरहने । परिवारका सदस्यहरुसँग दिनको कम्तीमा दिनको २ पटक मेसेन्जरवाट भिडियो गफ गर्ने । आवश्यकता अनुसार फोनवाट हुने रिपोर्टिङ गर्ने । अनि दिनको एउटा नेपाली सिनेमा हेर्ने । सँगै रहेका २ दाजुहरुसँगै खाना खाने । बेलाबेलामा सावुन पानीले हात धाेइरहने । यी कामलाई दैनिकीमै ढाल्ने कोशिस गरें ।
साहित्यको ‘स’ पनि थाहा नभएको मलाई यो लकडाउनले साहित्यकार बनाउँला जस्तो पो भइसक्यो । यो अवधिमा दुई वटा उपन्यास पढेर सिध्याएँ। विजय कुमारको ‘खुसी’ र पावलो कोहेलाेको ‘द अल्केमिस्ट’को नेपाली अनुवाद ‘किमियागर’। यी उपन्यास पढेपछि आफ्नो सपना,इच्छा र लक्ष्य पुरा गर्न ‘मनको कुरा सुनेर’ अघि बढ्नु पर्ने रहेछ भन्ने प्रेरणा पनि मिल्याे ।
छिमेकमै बस्ने ७० बर्षीय बुवासँग कुरा गरेर पनि केही समय बिताएँ। उहाँको परिवारले पनि पछि संकटमा परिन्छ कि भनेरे केही खाद्यन्न र ग्याँस सञ्चय गरेर राखेका रहेछन। यस्तो अवस्था पहिले पनि आएको थियो रे ! बुवाका अनुसार बिसं २०२२, २५ सालतिर नेपालको जनसङ्या ८० लाख जति थियो। आफ्नै देशको खाद्यान्नले पुग्थ्यो, चाहिने एउटा मट्टितेल मात्र थियो। बिसं २०४०, ४५ सालसम्म नेपालले धान निर्यात गर्थ्याे । आत्मनिर्भर थियो। अहिले काठमाडौेको जनसङ्ख्या किरासरी छ। हरेक सामानमा भारतमा निर्भर हुनु परेको छ। खेती गर्न पनि छाडे । गाउँका पनि प्राय सबै सहर पस्ने होडमा हुन्छन।बुबाले यस्तै सुनाउनुभयो ।
अन्यौलता छ । तैपनि सकेसम्म रमाइलो गरी घर भित्रै वस्नुको विकल्प छैन । २५ गते सम्मलाई त पुग्ने गरी खानपिनको जोहो भएको छ । त्यस पछि के होला झै लाग्छ ! ६ ठाउँमा छरिएर बसेका हाम्रो परिवार दैनिक २ चोटी म्यसेन्जरबाट जोडिन्छौँ। यस्तो बिपतको बेला सबैभन्दा पहिला सम्झने आफ्नो परिवार नै हो।
हरेक समस्यामा अवसर लुकेको हुन्छ । लकडाउनको अर्को फाइदा खाना पकाउन नजान्ने मलाई खाना पकाउन सिकाएको छ। पाठ्यक्रमको पढाइलाई पनि राम्ररी निरन्तरता दिन पाएको छु । मेरा लागि यो समय रिफ्रेस हुने अवसर भएको छ।