१२ कक्षाको बोर्ड परीक्षा नजिकिदै जाँदा सबै कोर्स सक्ने चटारोसँगै परीक्षाको पनि उत्तिकै प्रेसर थियो, विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि।
त्यस बेलामा फाट्टफुट्ट कोरोनाको खबर त सुनि राखिएको थियो। तर पनि त्यति धेरै ध्यान गएको थिएन। त्यति चटारोको बिचमा पनि म भने हरेक दिन योजना बनाइरहेको थिएँ। राजधानी बाहिर बस्नुको सानोतिनो समस्या भोगिरहेकै बेला कलेजको परीक्षा सकेर काठमाण्डौँ जाम्ला अनि विदेशमा विद्यावारिधि गर्न जानका लागि आवश्यक तयारी गरौँला भनि सपना बुन्दै थिएँ। त्यसै बिचमा चैत्र ५ गते अचानक खबर आयो सबै शैक्षिक संस्थाहरु अनिश्चित समयकालागि बन्द भनेर। त्यो घोषणाको गाम्भिर्यतालाई नबुझेको त होइन तर त्यो बेलामा केबल सुरक्षा मात्र अपनाएको होला भाइरस त कहाँ आएको छ र भन्ने लाग्यो। एक मनमा अलिकति भए पनि राहत मिल्यो किनकी लगातारको कलेज पढाउन जानुपर्ने, परीक्षाको उत्तरपुस्तिका जाँच्नुपर्ने, खुट्टा दुखिन्जेल परीक्षामा बस्नुपर्ने जस्ता कामहरुबाट केही समयकालागि भए पनि छुटकारा पाइएको थियो। अनि अब आफूले सोचेको काममा एकाग्र भइ लाग्न पाइने भइयो भनेर मन मनै गदगद थिएँ ।
काठमाण्डौँ जाने तयारीले मन फुरुङ्ग थियो। पछि अर्को खबर आयो भारतमा लकडउन भयो रे। अनि कोभिड १९ को संक्रमित पनि भेटियो रे। यो कुरा सेलाउन नपाउँदै चैत्र १० गते बेलुका काठमाण्डौँ बस्दै आएकी मेरी साथीको फोन आयो, ‘लौ भोलिबाट नेपालमा पनि लकडाउन रे सब बन्द हुन्छ। ‘ त्यसपछि बल्ल पो मैले महशुस गरेँ समय त निकै कठिन भैसकेको रहेछ। सरकारको यस्तो अपर्झटको निर्णयले मलाई जस्तै पक्कै सबैलाई असर पर्यो होला। तर पनि यस्तो निर्णय लिनु परिस्थितिको माग थियो ।अब बल्ल पो मन अत्तालिन थाल्यो। घरमा केही रासनको व्यवस्था थिएन न त पैसा नै साथमा थियो। लकडाउनको तेस्रो दिन थाहा भयो एउटा पसल खुल्छ रे त्यो पनि ७ बजे राति मात्र। अनि यताउता पैसा जोहो गरेर हतारिँदै दादा र म १५ मिनेटको बाटो हिंडेर पसल पुग्यौँ। कतै प्रहरीले गाली गर्ने त होइनन् भन्ने डर छँदै थियो।
हामी जस्ता मध्यमवर्गीय परिवारलाई त थेग्न गाह्रो भएको अवस्थामा हरेक दिन ज्याला मजदुर गरेर हातमुख जोड्नेलाई कति गाह्रो भइरहेको होला सम्झँदा पनि कहाली लाग्छ । अष्ट्रेलिया बस्ने मेरो भतिजीसँग कुरा हुँदा त झन् मुटु भक्कानिएर आउँछ । त्यस माथि नचाहि्दो अफवाह फैलाउनेको संख्या पनि उत्तिकै बढिरहेको छ अहिले। त्यस्ता समाचार भिडियो हेरेर विदेशमा बसिरहेका नेपाली आफन्तको मन कति रुँदो हो।अहिलेको अवस्थामा सोच्ने हो भने नकरात्मक कुरा बढी आउँछ तर हामीले सकरात्मकलाई बढी प्राथमिकता दिने हो भने हामी जस्तोसुकै नराम्रो अवस्थाबाट बाहिर निस्कन सकिन्छ ।
लकडाउनमा आफ्नाे र परिवारको लागि भने प्रशस्त समय पाइएको छ। व्यस्त दिनचर्याले थकित र सुत्ने खाने टुङ्गो नहुँदा बढेको मेरो ग्यास्ट्रिकको सही हेरचाह भएकाे छ। खाजा, खाना र सुत्ने प्रशस्त समय मिलेको हुनाले मेरो ग्यास्ट्रिक कम भइसकेको छ। आमा छोरी सँगसँगै व्यायाम गरेर फिट रहने कोसिस गरिरहेका छौं। हरेक दिन नुहाउने, बाहिर गएर घर फर्के पश्चात हातखुट्टा धोएर मात्र भित्र पस्ने लगायतका सानातिना तर निकै महत्वपूर्ण कुराहरुमा विशेष ध्यान पुर्याउन थालेका छौँ। कहिल्यै बारी नछिरेको मेरो ठूलबुवाको छोराले कोदालो लिएर मकै छर्न निस्केकाे देखेँ। लुगा धुन सम्म अल्छि गर्ने मेराे दादाले भाउजूलाई खाना बनाउन सघाउन थाल्नु भएको छ। त्यसो त भाग लगाएको खानाको गास समेत आनन्दले टिप्न नभ्याउने मेरो भिनाजु अचेल केटाकेटीसँग खेलेर उनीहरुलाई पढाउन थाल्नु भएको छ।
विश्वभरि फैलिएको महामारीले मन त सबैको अत्तालिदो हो, मेरो पनि अत्तालिन्छ। आफन्तहरु एक ठाउँमा, आफू अर्को ठाउँमा। कहिले लकडाउन सकिएला र भेट्न पाइएला भन्ने सबैलाई लागेको होला। कति परिवारबाट टाढा होलान्, कतिका श्रीमान् श्रीमती फरक फरक ठाउँमा होलान् भने कतिका छोराछोरी साथमा नहोलान् । सबै कुरालाई एका तर्फ राखेर यसलाई सुनौंलो अवसर मान्ने हो भने हामी यो समयलाई अझै उचित तरिकाले प्रयोग गर्न सक्छौँ। कति योजना थाति राखेर बसेका छौँ समय नपाएर। हेर्नुस् त यदि लकडाउनको अवस्था नभएको भए हामी केही न केही काममा दौडिरहेका हुन्थ्यौँ ।
यो समय आफ्नो सपनाको एक खुड्कीलो उक्लने सुवर्ण अवसर पनि हो । कतिलाई गितार सिक्न मन लागेको होला, कतिलाई अंग्रेजी सुधार गर्न, कतिलाई टिकटक बनाउन मन लागेको होला त कतिलाई खाना पकाउन सिक्न। त्यसैले मन लागेको कुरा गरेमा मात्र पनि यो समय सुनौंलो बन्नेछ। आजको थोरै दुरीले भोलि जिन्दगी भरिको साथ निर्धारण गर्न सक्छ। यही मिठो सपना देख्दै भोलि सबै कुरा अवश्य सही हुनेछ भन्ने आशा गर्दै बितिरहेका छन् मेरा लकडाउनका दिनहरु ।
मनैबाट देखिएका सपनाहरु अवश्य पूरा हुनेछन् ।