भनेको जस्तो के नै हुन्छ र ! म त समयको सिमा भित्र जे पनि अनिश्चिता मात्र देख्छु। यो अनिश्चित बन्दाबन्दीले मलाई मेरो घरको चार पर्खालमा घेरेर राखेको आज दुई महिना भन्दा नि बढी भएछ।
महामारीले सिर्जेको बन्दाबन्दी मेरो लागि कल्पनीय थिएन। दुई-तीन हप्ता त इन्डोर भ्याकेसन नै जस्तो भयो। तर जब दिन गन्ती लम्बिदै गए, मनभित्र अटेसमटेस पनि थपिदैं गएको रहेछ। त्यसैले होला, घरको आगँनबाट देखिने निलो आकाश र सडकमा हिडँदा देखिने निलो आकाश फरक भए जस्तो लाग्न थालेको छ हिजोआज । व्यस्त जिन्दगी अस्तव्यस्तमा रुमल्लिएकाे छ। रुमानी समय पनि उराठलाग्दाे जर्जर बन्न कसरी सकेको होला? त्यसको कहालीलाग्दो सन्नाटाले मन विचलित भएको छ। के समयले पनि आफ्नो वेग हावा सरि परिवर्तन गरिरहन्छ र!
मनमा कुरा नखेलाउने म, हिजोआज मन र मगजका कुराहरूको युध्दले कुरूक्षेत्रमा सोचको लडाइ लड्दैछु जस्तो आभाष हुन्छ। त्यो सोच हरेक पलको समयलाई लिएर आउँछ, हरेक क्षणको सोचाइलाई लिएर आउँछ। यो सोचाइ र भोगाइको अन्तर कति धेरै छ है ! सोचमा गफ पनि भेट्छु, अनि भोगाइले अनुभवलाई भेटाउँछ। जे होस् बन्दाबन्दीको अनुभव अद्भुत होला हरेकको।
सुनेको थिए, समयले हर थोक दिन्छ रे! तर त्यसको लागि समय आउनु पर्छ रे! हो, म पनि त्यसको पर्खाइमा छु। जहाँ सामान्य तर सहज जीवनयापन संम्भव होस्। एक छाक भोकको रोदन कसैलाई नपरोस्। काम र मामको सम्बन्ध अहिलेको जसरी बिच्छेद नहोस्। स्कृनकाे कृतिम हाँसोमा अल्झिन नपरोस्। आफ्नै घरभित्र कैदि जसरी बस्न नपरोस्। कामना छ समयसँगको मेरो मित्रताले मलाई मेरो विगत जस्तै आगत दिनेछ।
प्रकृतिको र समयको आज क्या मिल्ती छ। समयले आज मलाई उसको रुपको चिनारी गराएको छ। त्यो रुप जहाँ सौन्दर्यमा प्रदुषण छैन। दुई महिना आगाडि आगँनको माच्छापुच्छ्रे र दुई महिना पछाडिको माच्छापुच्छ्रेमा क्या भिन्नता छ! खैरो सतहले माच्छापुच्छ्रेलाई ढाक्दा उसको सौन्दर्य लुटिए जस्तो थियो तर आज त्यो सौन्दर्य हरेक कोणबाट मनचोर्ने भएर परिपूर्ण छ। वारिपारिको रानी बन र लभ्ली डाँडा पनि अर्कै स्वरुपमा जाँदै छन् जस्तो लाग्छ। उनीहरुसँगको सामिप्यता भन्दा पर, घरको छतबाट नियाल्दा मात्र आज मलाई यिनीहरु आफ्नै आफन्त झैँ प्रिय लाग्छन्।
भन्छन् बनको बाघ भन्दा मनको बाघ धेरै शक्तिशाली हुन्छ। आज म मेरो मनको बाघसँग मित्रता गर्दै समयका प्रत्येक डोबसँग विगत झैँ आगतको कामनामा रमेको छु।
No responses yet