चैत्र १० गते सोमबारको दिनसम्म कार्यालय जानु परिरहेको थियो। एकाएक साँझको करिब ६ बजेतिर समाचारमा सुनेँ “भोलिबाट सरकारी कर्मचारीलाई घरबाटनै काम गर्ने वातावरण मिलाइने भयो।” लामो समयदेखि घर जान आत्तिरहेको मेरो मन खुसी हुँदै इसेवामा फ्लाईटको टिकट हेर्न पुग्यो । किनकी लामो दुरीका गाडीहरु दुई दिन अघिबाट नै बन्द भैसकेका थिए। भैरहवा, नेपालगंज, पोखरा कहाँको टिकट दर कति । अहिलेको अवस्थामा कहाँ जान उचित भनेर सोच्दै मात्र के थिएँ “देश भोलि बिहान ६ बजेबाट लकडाउनमा जाने सरकारको निर्णय” भन्ने अर्को समाचार आयो।
म बानेश्वरमा होस्टलमा बस्दै आएको थिएँ । एकाएक मनमा डर पैदा हुनथाल्यो। पूरै ठप्प भएपछि होस्टलमा कसरी बस्ने भन्ने चिन्ताले सताउन थाल्यो। भैँसीपाटीमा बस्ने ठूलो ममीसँग बरोबर फोन सम्पर्क भैरहन्थ्यो। त्यस दिन पनि समाचारहरु सुनेपश्चात हतारमा मलाई फोन गरेर ठूलममीले भन्नुभयो, “भोलि बिहान ६ बजे भित्र आइपुग्दैनो होला तिमी। ट्याक्सी खोजेर सामान लिएर आजै आऊ।”
सम्पूर्ण सामानहरु होस्टलबाट निकाल्नुपर्ने थियो। न सामान प्याक गर्न सहज न ट्याक्सीमा नै अट्ने। अतालिँदै सामान प्याक गर्दै गोंगबु बस्ने दाजुको भ्यान मगाएँ। दाजु आफै भ्यान लिएर आउनुभएको थियो। सामान लोड गरेर अघि अघि भ्यान अनि पछि पछि स्कुटरमा कुद्दै रातको १० बजे ठुलममीकोमा आइपुगेँ। यसरी हतार हतार आउँदा मलाई लागेको थियो, लौन नि कसैले लखेट्दै छ यसरी। आखिर के हो यो कोरोना भाइरस।
२०७६ साल मंसिरमा बिहे लगत्तै म कामबाट सरुवा भइ काठमाडाैँ आएको थिएँ । जागिरे बुहारी भएर बिहे पश्चात घर बस्ने अवसर जुरेन। काठमाडाैँ आएपछि नजिकिँदै गरेको लोकसेवाको परीक्षालाई ध्यानमा राखेर मैले केही समय होस्टल बस्ने निर्णय गरेको थिएँ । पढाइले सोचे अनुरुपको गति लिन नसकेतापनि चैत्र महिनामा परीक्षा दिएपछि मात्र घर, माइती दुवै ठाउँ पुग्नुपर्ला भनेर चित्त बुझाउँदै बसिरहेको थिएँ। एकाएक काठमाण्डौँमा लकडाउन भएर बस्नुपर्यो ।
लकडाउन हरेक हप्ता बढेसँगै मेरो घरको बुवा ममीहरु नयाँ बुहारी बिहे पछि घरमा बसेकै छैन भन्दै निकै आत्तिनुहुन्छ। अनि काठमाडाैँ बर्दघाटसम्म बुहारीलाई ल्याउनकालागि कहिले एम्बुलेन्स त कहिले रासनको ट्रक लगायतका उपायहरु सोचिरहनुहुन्छ। तर यस्तो जोखिमको अवस्थामा हामी जस्ता बुझेका व्यक्तिहरुले भावनामा बगेर गलत कार्य कदापि गर्नुहुँदैन। हामी धैर्यवान र संयमित हुनैपर्छ। माइतीका बा आमाको दुख उहाँहरुकै मनमा छ। जन्माएर यहाँसम्म पुर्याएको छोरी, पढ्दा होस् या जागिर गर्दा टाढा टाढाबाट यात्रा गरेर प्राय भेट्न आइरहने छोरी, बिहे पछि यतिका महिनामा एक पटक पनि घर आइन भनेर सोच्नु हुँदो हो। सबै छोरीहरुलाई आत्मनिर्भर बनाएका मेरा बा आमा निकै व्यवहारिक हुनुहुन्छ। बाहिर नदेखाएपनि फोन गर्दा सिधै मेरो मुटुमा वाण लाग्छ। अनि भिडियो कल गर्दा मलिन अनुहार देखिन्छ। तैपनि दरिलो भएको देखाउने सक्दो कोसिस गर्नुहुन्छ उहाँहरु किनकी तत्कालको अवस्थामा मुटु दरिलो पार्नुको अन्य कुनै विकल्प छैन।
माइतीको माया एकातिर, घरको माया एकातिर र श्रीमान एकातिर भए पनि समयले थप धैर्यवान बन्न सिकाएको छ मलाई। जहाँ छु घरमा जस्तै सुरक्षित र सुखी छु । हरेक दिन ठूलाेममी र ठूलबुवाबाट नयाँ कुराहरु सिक्दै छु। यो समयलाई घर परिवार र व्यवहारका कुरा सिक्ने अवसरको रुपमा लिएको छु मैले। भनिन्छ सुख आफ्नो हेर्नु दुख अरुको। यो समयमा घर, माइत या श्रीमानसँग हुन पाएको भए हुने भन्ने मात्र न हो अरु त के कमी छ र यहाँ मलाई। नियमित रुटीन बनेको छ। बिहान सबेरै उठ्ने, सरसफाई गर्ने, भान्छामा बुवा ममीको सहयोगी हुने, योगा गर्ने, टीभी, इन्टरनेट चलाउने, मन लागे पढ्ने आदि इत्यादि । आफ्नो संसारबाट बाहिरिएर हेर्याे भने बिचरा बस्ने, खाने नभएर अलपत्र परेका कति व्यक्तिहरुबारे सुन्छौँ, देख्छौँ हामी । यस्तो कुराले मन कुँडिएर आउँछ।
लकडाउनको २१ औँ दिनसम्म आइपुग्दा मन कुनै बेला थोरै अत्तालिएको छ। के भइरहेको छ र कहिले सम्म यत्तिकै हुने हो भन्ने लाग्छ । तर हामी अत्तालियौँ, कमजोर भयौँ भने परिस्थिति सहज कहिल्यै हुन सक्दैन। परिस्थिति जतिनै विषम भए पनि, भित्री मनोबल कहिँ कतै डगमगाएता पनि एकछिन अत्तालिनु, कमजोर महसुस गर्नु स्विकार्य हुन्छ तर कमजोर परिस्थितिले आफूलाई धरमराउन दिनुहुँदैन। अँधेरी रात पछि सुनौलो बिहानी अवश्य आउँछ। जब हामी निराशा बिच दरिएर आशावादी हुन सक्छौँ तब मात्र हाम्रो जीवन सार्थक हुन्छ।
यस पटक पनि मलाई आशा अनि भरोसा छ, विश्वव्यापी रुपमा आतंक मच्याइरहको कोरोना भाइरस पनि एक दिन परास्त भएर जानेछ। मेरो देश साथै विश्व नै सामान्य अवस्थामा आउनेछ । निकट भविष्यमा म मेरो घर परिवारलाई भेट्न पाउँनेछु।
नयाँ साल २०७७ को सबैमा शुभकामना।
No responses yet