सधैं झैं उमंग र उर्जा छैन बिहानीमा, दिन उस्तै, समय उही । बदलिँदो मौसम जस्तै बदलिँदा भोगाई सँगैका भावनाहरु ।
एउटा सानो संसार भन्नु नै आफू बस्दै आएको कोठा, क्षितिजलाई नियाल्ने झ्याल र साँघुरो घेरामा अटाएका दृश्यहरु ।कोठाको आकार उस्तै, भित्ता उस्तै,सँगै जोडिएको झ्यालको उचाई र चौडाइ उस्तै, कोठामा आ–आफनो स्थानको स्वामित्व जमाएर बसेका सामान उस्तै भिन्न त केबल worldometer मा दिइएका कोभिड–१९ का देशैपिच्छेका तथ्याङ्क र त्योसँगै जोडिएर मनमा आउने सोचाइ र त्रासको उचाई !
कोभिड–१९ का कारण कैयौं मानिसहरु दिनहुँ संसार छोडिरहेका छन् । कयौं आफन्तजन, परिवार,आफ्ना प्रिय मान्छे गुमाउँदाको पीडा सहेर बसेका छन् । बिडम्बना त, आफ्ना प्रिय मान्छे गुमाउँदा पनि छेउमै बसेर अन्तिम संस्कार गर्न नपाउनु ? अङ्गालेर रुन नपाउनु?
हाल म जर्मनीस्थित सानो सहर Greifswald मा बस्दै आएकी छु । करिब ८ महिनाको बसाई सँधै रोचक, नयाँ अनि पृथक नै लाग्दथ्यो । मलगायत यस सहरमा बस्दै आएका नेपाली मुलका साथीहरु पनि आ–आफ्नै दैनिकी बिताइरहेका छन् । बिदेशमा रहँदा घर परिवार,आफन्त, साथीभाई, चाडबाड र आफुले अङ्गगालेको सँस्कृती औधी मिस गरिन्छ । विपतको समयमा यो मन कयौं समुन्द्र पार गरि उही आफ्नै थलोमा पुगिदिन्छ । लाग्छ यो समयमा मन र मस्तिष्क आ–आफ्नै गतिमा कुदिरहेका छन् ।
हरेक दिन झटट् हेरिने दृश्यहरु अहिले घन्टौंसम्म नियाल्न पाएकी छु । कहिले त झ्याल नखोली, बिहानदेखि साँझसम्म कोठामा नपुगी दिन बित्थ्यो । अहिले ति भित्तामा कोरिएका रङ्ग, कोठामा रहेका हरेक बस्तुको स्थान र आकारको हेक्का पाउने भएको छु । आफ्नै पैतालाले दिनभरि कति पाइला चाले कहाँ कहाँ पुगे पत्तो नपाउने, अहिले किचन र बेडरुमसम्मको दुरी पाइलामा नाप्ने भएकी छु । सुन्दा अचम्म लाग्ने तर यी आँखाले आफू सुत्ने गरेको ओछ्ययानको तन्नामा रहेका बुट्टामा भरिएका रङ्ग र तिनको बनावटमा अडिएर बिम्व कोर्ने भएकी छु ।
झ्यालमा रहेको पर्दा र त्यसबाट देखिने दृश्य संग जोडिएका घर। घरमा कोरिएका चित्र, डिजाइन । घरसँगै जोडिएको मोटर कुद्ने बाटो, वसन्त ऋृतुको आगमन सँगै मुस्कुराएका चेरीका रुखहरु र केही दुरीमा रहेका निर्जिव जस्ता देखिने अन्य रुखहरु, ती रुखमा आफनो घर बसाई चिरविर गर्दै वरपर उड्ने चराहरु यी सबै अति प्रिय र आत्मिय लाग्न थालेका छन् । बाटोमा बिरलै हिँडेका मान्छेहरु र मनमा उब्जने प्रश्नहरु, ती मान्छेहरु के बाध्यताले हिँडेका होलान? यस्तै यस्तै जिज्ञाशु मन अनि मस्तिष्क !
विशेषत यो लकडाउनकमा मेरो हरपलको साथी बनेको छ सामाजिक सञ्जाल र त्यसमा प्रेसित समाचार, फिल्म, डकुमेन्ट्री, अन्य भिडियोहरु र ट्रोल । केहीले प्रेरणा, केहीले खुसी, केहीले हाँसो, केहीले ज्ञान त केहीले दुःखी बनाउँछन् ।
… लाग्छ यही नै मेरो अहिलेको दैनिकी हो ! मेरो त आज २१ औं दिन, अनि हजुरहरुको नि ?
No responses yet