सानो छँदा पढेको थिए “धनभन्दा विद्या ठूलो “यो कुरामा हाम्रो वादविवाद पनि नभएको होइन ।
कक्षा कोठामा मात्र सिमित यो वादविवाद आज एकान्तबास बाट सोच्न बाध्य बनायो । सायद त्यतिबेला मन मस्तिष्कमा यी सबै कुरा अटाउने पो थिएनन कि ? तर, आज यस बिश्वव्यापी फैलिएको महामारी covid-19 (कोरोना भाइरस ) ले सोच्न बाध्य बनायो । आज हामी कुन हालतमा छौ ? हाम्रो के हैसियत रहेछ त यस पृथ्वीलोकमा ? आज विभिन्न विकसित देशहरु यो महामारीलाई परास्त गर्न अनेकौं जुक्ति लगाइरहेका छन । तर, महामारी भने दिन दुई गुणा रात चौगुणा हुदै फैलिदै छ । कसैले सोचेको पनि थिएन होला यस्तो परिस्थिति आउला भनेर ।
आज दुख लाग्छ किन यस्तो दुनियाँमा जन्म लिन पुगेछु भनेर । हामी साँच्चै हाम्रो पू्र्खाहरुले देखाएको बाटोमा हिडेका छौं त ? पू्र्खाहरुले दिएको संस्कृति बचाएर राखेका छौं ? पक्कै छैनौ ! वृद्ध अवस्थाका बा-आमालाई एक्लै छोडी आफ्नो प्राण भन्दा प्यारी (भन्ने गर्छौं नि )श्रीमती लाई सुखसयल दिन भनी शहर तिर लागेका छौ। संजोग मिल्यो भने मेला पर्वमा मात्र घर जाने गरेका छौं। या भनौ शहर तिर केही आपत विपत पर्यो भने मात्र गाउँ समाज छरछिमेक बा आमा, दाजुभाइ, दिदिबहिनी, आफन्त सम्झने गर्छौ । भुकम्पको बेला होस् या कोरोनाको बेला। केही दुई पैसा कमाउँदैमा ‘मै ठूलो, मै राजा” भन्ने हरुलाई पनि आखिर चाहिने त त्यही भिर पाखो त रैछ नि ! फेरि के को घमण्ड ?
आज विभिन्न विकसित देशहरुको हालत देख्दा दुख लाग्छ । त्यस्तै हालत मेरो देशको पनि हुने होकि भन्ने चिन्ता पनि लाग्छ । तर मैले मात्र चिन्ता गरेर पनि नहुँदो रहेछ । सरकार चलाउने उच्च ओहाेदामा बस्ने हरुको समाचार आउँछ – फलानोले यति भ्रष्टाचार गर्यो रे ! ढिस्कानाले यति भ्रष्टाचार गर्यो भन्दा मन दुखेर आउँछ ।साच्चै होला कि भन्ने सोचाइ पनि आउँछ । तर होइन कि! यस्ता समाचार त गलत पनि हुन सक्छ भन्छु र मनलाई शान्ति बनाउँछु । किनभने हालै त्यता समाचार छाप्ने अन्लाईन मिडियालाई ब्लक गरेको पनि सुनेको छु र आज भोलि ती मिडियाको समाचार पढ्न नपाउँदा पनि खुसी छु ।
बिश्वव्यापी फैलिएको यस महामारीबाट हामी उम्कोँला नउम्कौँला यो त समयले बताउला । तर, यस महामारीले भने केही पाठ अवस्य सिकाएर जानेछ । हिजो धर्म,जातपात,उचनिचका कुरा गर्ने खै आज ? आज अरबौ धन हुने हरु पनि यो कोरोना बाट अछुतो हुन सकेनन् । गरिबको त कुरा नगरौ । आज किन चाहिएन त्यो महल त्यो धन सम्पत्ति ? त्यो आराम ? आज मनुष्यको औकात देखाइ दियो महामारीले ।आज मनुष्यलाई जीवन चाहिएको छ । मृत्यु देखि डर लागेर आएको छ । तर म ढुक्क छु मानिसलाई केही त चेतना होला अब । वातावरणसंग खेलबाड गर्नुको नतिजा त आइसक्यो । अब झन् के के हुन बाँकी छ । यस्तै यस्तै मनमा कुरा खेलाउँदै एकान्तमा धैर्यका साथ बसेको छु ।