कोरोना भाइरस संक्रमणले विश्वलाई थला पारिरहेछ । दैनिक हजार भन्दा बढीको मृत्यु भयो भन्दा मन अत्तालिन्छ । त्यही माथि विश्वका शक्तिशाली राष्ट्रहरुले परास्त गर्न नसकेको कोरोना भाइरस संक्रमण हाम्रो सानो मुलुकमा फैलिए के होला ? निरन्तर यही प्रश्नले झक्झकाइ रहन्छ ।
पेशाले पत्रकार हुँ । चाहेर वा नचाहेर पनि देश भित्र र बाहिर के भइरहेकाे थाहा पाउनु मेरो काम र रूचीभित्रै पर्छ । यतिवेला स्थानीय स्तरमा पनि सानो तिनो भएपनि दैनिक तयारी भइरहेको देख्छु । म पनि डराइ डराइ यिनै दैनिक तयारीबारे निरन्तर सूचना अपडेट लिन्छु । जस्तो सुकै अप्ठेरो पर्दा पनि मान्छेलाई सूचना दिने काम त छोड्नु भएन । विपदमा हाम्रो कामको महत्व झनै धेरै हुने रहेछ ।
म आफूलाई पनि झलझली घर गाउँ र परिवार याद आइरहेको छ । ‘साथीभाइहरु सबै गाउँ फर्किसके, जे जसो भएपनि आफ्नै घरमा सुरक्षित भएर परिवारका साथ बस्नुको मजा बेग्लै छ । तर पेशाको दायित्वले गर्दा त्यो सब देखेर पनि नदेखेझै गरी बसेको छु । मेरो दैनिकी चैं कोरोना भाइरस संक्रमण रोकथामका लागि कसले के गर्दैछ, स्थानीय सरकार र यिनका कमी कमजोरीमा प्रश्न गर्दै वितिरहेको छ ।
अहिले बजार सानसुन छ ।गाउँघरमा निकै चहलपहल बढेको छ । छोडेर गएका घरहरु टालटुल गर्दै खेतीपातीमा व्यस्त भएकाे गाउँघरको तस्वीर साथीभाइहरुले सामाजिक सञ्जालमा हाल्दा म आफैँ पुर्ख्याैली गाउँघर पुगेको अनुभूति गर्दैछु । विदेशीएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुले पनि आफ्नो पुर्ख्याैली गाउँघर सझिरहेकाे देख्छु । रमाइलो लाग्छ । बुढापाकाले धानेको गाउँघर, आफ्ना छोराछोरी जन्मस्थल सम्झिएर आउँदा कति खुसी होलान् । सम्झीदा नै मन दंग हुन्छ !!
यो विपदको बेला शहर पसेकाहरुले पुर्ख्याैली घर सम्झने प्रचलन हाम्रो लागि नौलो होइन । ०७२ सालको महाभूकम्प, नाकावन्दी लगायत प्राकृतिक विपदका बेला गाउँघरले शहर पसेकालाई राम्रै गुन लगाएको छ । रोजगारका लागि गाउँ छाेडेका मेरा धेरै साथीभाइहरु छन् । म आफै पनि एक हुँ । दुई चार पैसा हुनासाथ बजार पस्ने प्रवृत्तिवाट हाम्रो गाउँघर पनि अछुतो छैन । सरकारी विद्यालयहरुमा पठनपाठन दिनहुँ खस्किदै छ । आफ्ना छोराछोरीलाई राम्रै विद्यालयमा पढाउनका लागि नचाहदाँ नचाहदै पनि हामी शहर पसिरहेकै छाै ।
याे सब सोचि ल्याउँदा मन खिन्न हुन्छ । पत्रकार भएकले थिती बेथितीका धेरथोर कुरा थाहा पाउँछु । विपदका बेलामा काम गर्दा मनमा दुवै किसिमको भाव हुँदो रहेछ । खुशी पनि दुखी पनि । यतिबेला कोरोनासँग लड्नको लागि दक्ष जनशक्ति छैन, पूर्वाधार छैन, सरकारसँग ठोस योजना छैन, आवश्यक तयारी छैन भन्ने सब कुरा थाहा पाइसकेपछि पनि केही हुन्न भनि चित्त बुझाउन गाह्रो हुँदोरहेछ ।
म लगायत सबै नेपालीहरु यतिबेला भगवान भरोसामा बाँचेको जस्तै लाग्दैछ । यस्तो अवस्थामा म जस्ता धेरै नेपालीहरु सरकार भन्दा पनि आफ्नै गाउँघर सम्झिरहेका छन् । सुखको बेला पुर्ख्याैली थलोको नाम लिन लजाउनेहरु आज विपदको बेला सुरक्षाको लागि पुर्ख्याैली थलो पुगेका छन् । पुर्ख्याैली थलोलाई विपदको बेला मात्र होइन अरू बेलामा पनि सम्झिए गाउँघर सधैं गाउँघर जस्तै हुन्थ्याे होला ! शहरमा छोराछोरी बोर्डिङ पढाउँदैमा, एक फ्ल्याट घर, दुई चार पैसा रिमिट्यान्सबाट आउँदैमा प्रगति र समृद्धि हुँदैन भन्ने पाठ यो कोरोनाले पनि सिकाइसक्याे । अलिकति मात्र शहरिया सोच बदल्ने हो भने त्यो उजाडिएका गाउँघर फेरि सधैँ हराभरा र रमणीय बन्छ होला !!
No responses yet