म बिहान आमैको सत्ताइसौं बोलावटमा उठेँ। मुख धोएँ र भान्सामा गएँ। समय साढे दश!
“के हो आज तरकारी?” त्यही नियमित प्रश्न।
अनि उत्तरको लागि दिमागमा चार ओटा अप्सन। आमैले अप्सन ए रोज्नुभो, यसो ढकन सारेर हेरेँ, सही जवाफ रैछ ।
खाना खाइसकेपछि, अफिसको काम गर्नलाई हाजिर गरेँ। खाना खाएर एकछिन नसुते त “वर्क फ्रम होम को मतलबै भएन नि।” सोच्दै कुन चाहिँ कोठाको कुन चाहिँ खाटको तापक्रम कम छ भनि छामछाम छुमछुम गर्दै चिसोचाहिँ पत्ता लगाएर सुतेँ।
तीन बजेछ । “ओहो ! आज त मस्त सुतियो ।” उठेर ब्रस गरेँ। अनि आलस्य जीउ लिएर फेरि लागेँ भान्सा तिर। दिमागमा प्रश्न आयो,”के हो खाजा आज?” चार ओटा अप्सन सहित, सही जवाफ फेरि आमाबाट। यतिबेलासम्मको हिसाब गर्दा म लगभग ४० मिनेट मात्र उठेको थिएँ। म सुतेरै पनि थकित । खाजा खान बसुन्जेल नि वाक्कै लागिसकेको थियो। ग्वामगुम खाएर सोफामा लडेँ । कोल्टे परेर। पेट भ्ल्यात्त निस्क्यो। “दशैंको बेला तिर हुँदा झन्डै याब्स नै देखिन लागि सक्याथ्यो । दुई सेन्टिमिटर जति बोसो नभाको भए हेर….!!! अब साँझमा वर्क आउट गर्नुपर्छ। हुँदैन यसरी।” मनमनै सोचेँ।
टिभीले नि कोरोना कोरोना बाहेक केहीँ दिदैन। वाहियात लागिसक्याे।”बरू एकैछिन इन्स्टाग्राम चलाउनुपर्यो।” मिम पनि केही रमाइला लागेनन् । एउटा मजाको सिनेमा डाउनलोड गरेँ। हेर्न लागेको, त्यही नामको पोर्न परेछ । स्किप स्किप गरेँ । दुइतीन मिनटपछि बन्दै गरेँ । यसपालि राम्ररी हेरेर डाउनलोड गरेँ । हेर्दा हेर्दै बिचमा एकछिन पज गरेँ।म वर्क फ्रम होम प्र्याक्टिस गरिरा मान्छे, वर्क प्रोग्रेस सिट पनि अपडेट गर्नुपर्याे।
सिनेमा सकिने बेला हुन हुन लाग्दा कुकुर चुईं चुईं गर्दै मुख हेर्न आइपुग्यो। पेटभार हल्का गराउन कुकुर लिएर बाहिर निस्के। बाटोमा मान्छेहरु लखर लखर गरिरहेका थिए। साँझमा दोबाटे लाग्छ र कोरोना निस्किदैन भन्दै मान्छे निस्के कि क्या होे! कुकुरले काम सक्यो, मैले एउटा ड्युटी ।
घर पुगेर युट्युबमा यसो दुई चार वटा भिडियो हेरेँ। यही बेला खाने बेला भयो । बिहान खाको खानेकुरा नि युज भैसक्या छैन होला जिउमा। के नै गरिएको छ र, भन्ने सोच्दै एक थाल बजाएँ । खाना खाएसी यसो फेसबुकमा टहल्ने बानी छ, अम्मल नै भनौं। यसो ककस्को कैले कैलेका फोटा उत्खनन् भएछन्, ककस्ले नयाँ मिम भेटेछन, हेरौँ हासौँ जानकारी लिउँ। अनि मन नपरेको मुन्छेको रैछ भए ठ्यास्स लाइक फाल्दिम्ला, हाँसो उठ्दो कन्टेन्ट भए पनि जस्तो लाग्छ। त्यसै गरेँ।
“लुडो हान्नी?” भनेर मेसेज आयो ।
इन्भिटेसन लिंक आयो । तर गेम सुरु नभै टाइम ओभर रे। “के भो ओए?” भनेको “बेबि अनलाइन आइ, सरि ल पछि।” रे ! अनि यसै बस्दै गर्दा एघार बज्यो, अब पो के गर्ने । युट्युब । खोइ, के बाट हेर्न सुरु गरेको थिएँ । हेर्दै जाँदा *how to play harmonica* को बेसिक कोर्स सकिसकेछु, “वाह् हिजोको तबला वालाले भन्दा त छिटै सिकायो यसले। सजिलो रैछ हार्मोनिका बजाउन” जस्तो लाग्यो। न मसँग तबला छ न हार्मोनिका नै, न त यिनीहरु बजाउन सिक्नु नै छ।
तीन बजेछ, अझै निद्रा लागेन। बत्ति निभाए केही हुन्छ कि भनेर त्याे पनि निभाएँ। निन्द्रा छैन । दायाँ फर्कन्छु, म्याराथन दौडन लागेको धावक जस्तो पोजिसनमा सुत्छु, मुर्दासनमा सुत्छु, घोप्टिएको मुर्दासन, आर्कोपट्टी फर्किएको मुर्दा, आर्कोपटी फर्किएको धावक, निन्द्रा आउने सुरसारै गर्दैन। जुरुक्क उठेँ। बायाँ हात ठ्याक्कै माथि उठाएँ । अनि इन्स्टाग्राममा “does everybody do this or is it just me?” लेखेर आउने पोस्टमा मनमनै हाजिर गरेँ। बत्ति बालेर पानी खाएँ। साढे चार। निन्द्राको अत्तो पत्तो छैन। बेकार दिउँसो सुतेछु।
अनि यो लकडाउनको पहिलो दिन के भाको थियो सम्झिन खोजेँ। म दिनभरी सुत्ने भएकाले राती निन्द्रा नलाग्ने हो या, रातभर जागिरहने थकाइले दिउँस निदाउने हो, यो कुरा पत्ता लगाउनुथ्यो। पहिले अण्डा कि पहिले कुखुरा जस्तै। पहिलाे दिन सम्झन सकिन। पर्दाको चेपबाट उज्यालो भित्र छिर्न थाल्यो । “आज पनि सुत्न सकिएन राति। भोलि देखि त दिउँस सुत्दिन, अफिसको काम नि सक्दिन्छु कति राख्नु, सुपरभाइजरले माग्यो भने के बुझाउनु प्रोग्रेस रिपोर्ट त टन्नै भरिएको छ। एकाध घन्टा एक्सर्साइज नि गर्छु अनि त कसो निद्रा नलाग्ला १२/१ बजे सम्म…”
” बाबु उठ्, एघार बज्न लागिसक्यो।”