उल्टाे चप्पल

आजकाल म चराहरूसित गुनासो गर्छु। मलाई चरासँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। म कुकुरहरूसँग गनासो गर्छु। मलाई कुकुरसँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु।

केही काम नभए घरमा बस्नु जस्तो मजा संसारमा अन्त कतै आउँदैन। तर होइन रहेछ। आफू बस्ने कोठा पनि वा आफू बस्ने घर पनि यतिसम्म दिग्दारलाग्दो बन्छ? सायदै कसैले सोचेका थिएनन् । हो त्यही नसोच्नेमा म पनि एक थिएँ।

म राजधानीमा थुनिएको छु,यो मैले भन्नु हुँदैन। किनकि हामी थुनिएका होइनौ। हामीले कसैलाई ‘मलाई बन्दकोठामा थुन वा घरमा थुन’ भनेर अर्हाएका छौँ। त्यसैले हामी थुनिएका छौँ, आफैँबाट। र बाँच्नको लागि यस घडीमा आफैलाई थुन्नुभन्दा अन्य सुन्दर उपाय केही पनि छैन ।

जब जब झ्यालबाट चराहरू बेपर्वाह उडेको देख्छु, जब सडकमा कुकुरहरू बेतोडले दौडेको देख्छु, तब स्वतन्त्रताको महत्व कति रहेछ अनुभव हुन्छ। जिन्दगीमा मान्छेले केही सिकेन होला, तर यो लकडाउनमा मान्छेले बाँच्न भने सिक्यो। कमसेकम आफ्नो लागि बाँच्यो। मान्छेले करौडौँको व्यापार बन्द गरेर घरभित्र बस्याे। मान्छेले धेरैकुरा गुमाएर घरभित्र बस्याे। मान्छेले यो लकडाउन भर यही सोच्यो कि बाँचियो भने फेरि गरौँला।

डिसेम्बरमा नै देखिएको महामारी नेपालमा आइपुग्न चार महिना लाग्यो। सरकारले पूर्व तयारी गर्नु पर्दथ्यो, गरेन। यसमा सरकार चुक्यो। ठीकै छ! सरकारले धेरै व्यवस्था मिलाउनु पर्ने हो। तर सकिरहेको छैन, त्याे पनि ठीकै छ। तर ‘किन’ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। नेतृत्वकर्तालाई जनताले सत्तामा पठाएका हुन्। त्यसैले पनि जनतालाई ‘किन’ भन्ने प्रश्न सोध्ने अधिकार अवश्य छ ।
सरकार गरिब हुन पाउँछ तर व्यवस्थापनमा हामी गरिब छौँ भनेर सरकार भाग्न भने पाउँदैन। धनी मानिएको देशको हालत पनि हामीले लकडाउन हुँदै सुनेका छौँ र देखेका छौँ। व्यवस्थापनमा अर्थले फरक पार्न सक्छ तर तरिकाले फरक नपार्नुपर्ने। सरकार त्यति पनि गरिब भने छैन जति हामीले सोचेका छौँ । हुँदै नभएको पानी जहाज कार्यलयको लागि करोडको गाडी किन्न सक्ने सरकार कसरी गरिब छ ?

टेलिभिजन प्रस्तोता विजय कुमारले केही दिन अगाडि एक भिडियोमा भनेका थिए – “ बिनोद चौधरीले पिपिइ बाड्दा नेपाली जनताले गुनगान गाइदिनुपर्ने ? ” यो भिडियो हेर्दा मलाई यो कुराले चाहिँ धेरै नै छोएको थियो । देशमा सङ्कट आउँदा धनाड्यकै अनुग्रह मात्र चाहिने हो र ? हामीले नेतृत्व गर भनेर पठाएकाहरूको चाहिँ के काम ? माथि बसेर के चाहिँ गरिरहेका छन् ? जवाफ कसले दिने ?
यो लकडाउनभर नेपाली जनताले तत्कालिन सरकारलाई भित्रसम्म पढ्न पाएको छ । अरूबेला राजनीतिमा चासो नदिनेलाई पनि लकडाउनले समाचार पढ्न लगाएर राजनीति सिकाइरहेको छ । यस अर्थमा नेपाली जनताले सरकार चिने । म कुनै पनि राजनैतिक विचारलाई समर्थन गर्दिनँ। यस मानेमा म एक स्वतन्त्र नेपाली नागरिक हुँ। मतदान गर्न पाउने मेरो अधिकार छ। र सत्तामा पुगेको सरकारलाई यो काम राम्रो भएन वा यो काम राम्रो भयो भन्ने अधिकार पनि मेरो छ।

यी त भए सरकार र राजनीतिका कुरा जुन कहिल्यै सकिन्नन्। यो डायरी लेख्न सुरु गर्दा लिपुलेक र कालापानीको कुरा उठिसकेको छ। हेरौँ सरकारले के गर्छ।

म लकडाउनमा पूर्ण बच्चा भएको छु। म यो लकडाउनभर चौबीस घण्टामा करिब पाँच घण्टा बच्चा भएर बिताइरहेको छु। म आफ्नो बालापनमा फर्किरहेको छु। बाल्यकालमा जुन कुरा गर्न मन लाग्थ्यो, तर डर लाग्थ्यो त्यो कुरा गरिरहेको छु । तर कोठाभित्र सम्भव हुने मात्र।

कहिले म उल्टो चप्पल लगाएर उभिरहन्छु। चार दिन सम्म दाँत नमाझी बस्दिन्छु। कयौँ दिनको अन्तरालमा नुहाउने आँट गर्छु। यस्ता कुराले मलाई बाल्यकालमा लैजान्छ। जति धेरै बाल्यकालमा फर्कन सक्यो त्यतिधेरै मलाई फाइदा छ। केही वर्ष अगाडि बाल्यकालमा रहेर एउटा किताब लेखौँला भन्ने सोचेको थिएँ तर कसरी थाहा थिएन। केही प्रतिशत अल्छि मानेर हुनसक्छ, केही प्रतिशत बालापनमा फर्कन नसकेर हुनसक्छ। तर अहिले जमर्को गरेको छु बाल्यकालमा फर्केर केही लेख्न। लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि जागिर छाडेको थिएँ। त्यसैले मसँग पूरै समय थियो र छ।

मैले लकडाउनमा आफैँलाई चिन्ने मौका पाएको छु। मेरो मस्तिष्क दिनमाभन्दा रातमा धेरै उर्जावान हुन्छ भन्ने कुरा पत्ता लगाएको छु। केही समयबाट दिनभर सुत्ने रातभर जाग्ने मेरो दैनिकी बनेको छ।

मान्छेलाई जसै बाँच्नु न रहेछ। मान्छे हर समय बाँच्न खोज्दो रहेछ। मान्छेलाई मृत्युसँग डर लाग्दो रहेछ। आत्महत्या गर्न तयार रहेको मान्छे पनि अन्तिम पल्ट नमरौँ कि भनेर सोच्छ रे! सायद जिन्दगी भनेको बाँच्नु हो। त्यसपछि आउने जागिर, धर्म, श्रीमती, छोराछोरी अलग कुरा हुन।

नदीको पुछारमा पुगेर टक्क रोकिएर माथिबाट नदी बग्दै आएको हेर्नु जस्तो मजा अरू के छ? जिन्दगी अहिले लकडाउनमा अल्झेको छ। योबेला आफ्नो पछाडि छाडिएको जीवनलाई हेर्नु जति मजा अरू के छ?

समय आउँछ र जान्छ। आउनेलाई समाउनु र जानेलाई छाड्नु नै प्रकृतिको नियम हो। समय जसरी स्थीर छैन, त्यसरी नै प्रकृति पनि स्थीर छैन।

निरज दाहाल

झापा