मेरो गाउँ बिदुर ७- सोले नुवाकोट हो । आजकाल बिहानै उठेर आँखा मिचि मिचि बिहानी कक्षा कुद्ने भाइबहिनी, गुरुहरु भेटिदैनन् मेरो गाउँमा। लौन !बिहानको १० बजिसक्यो। अफिस पुग्नै पर्छ नभए हिजो झैँ हाकिमले झपार्छन् भन्ने कर्मचारी दाजु, भाउजु, आजभोलि उठ्न हतार गर्नुहुँदैन। लाग्छ समयले पनि धेरै माइलको यात्रापछि केही समयको निम्ति बिश्राम लिएको छ।
गाउँघरमा सबै जसो जम्मा भएका छन्| घर बस्यो, खायो, भुराभुरी उफार्दै खेल्दा त झन् चाडपर्वको माहोल झैँ भान हुन्छ । अझ, गाउँलाई अंकमाल गर्दै बगेको त्रिशुली नदि पारीको गाउँमा हरेक दिउँसो खै कसको घरमा ठूलो आवाजमा बज्ने नारायणगोपालका सदाबहार सुमुधुर गीतले त मेरो मन फुरुङ्ग हुन्छ। र म बिर्सन्छु यो समय लकडाउनको हो भनेर | पहिला पहिला ‘हामी हिमालबाट बगेको पानी खानेलाई यस्ता नानाथरीका रोगले भेट्दैन कान्छा’ भन्ने ठूलाबाको अनुहारमा जब निलोनिलो बुट्टे मास्क देख्छु, तब याद हुन्छ कोरोना कहरको समय हो यो भन्ने।
गाउँले भूकम्पपछि ठूलै फड्को मारेको छ वा भनौं विकासको मार्गमा अगाडि बढेको छ |०६८ को एस. एल. सी पछि गाउँलाई नजिकबाट नियाल्ने मौका यो लकडाउनले दिएको छ । मैले यसलाई आफ्नो गाउँठाउँ बुझ्ने अवसरको रुपमा लिएको छु । हुन त प्लस २ पढ्दै गर्दा सबैको सपनाको जस्तै म पनि उच्च शिक्षाकालागि काठमाडौं र पछिल्लो ४ वर्ष अध्ययनका लागि चितवन बस्दै आएको छु। यस क्रममा बेलामौकामा घर नआएको होइन । तर छुट्टिमा आएपनि फर्कनकै हतार हुन्थ्यो ।
पछिल्ला समय गाउँघरका सडक पनि कालोपत्र भएछन् । बेलाबेला साइरन बजाउदै एम्बुलेन्स पुलिसको भ्यान यिनै सडकबाट कुदिरहेका हुन्छन्। लकडाउनले गाउँका आधिकाशंको दैनिकीमा थोरबहुत परिवर्तन ल्याएको छ । समाचारमा खासै चासो नदिने ठूलीआमा पनि समाचार सुन्न र हात मिचिमिची धुनु भनेर नातीलाई अराउनु हुन्छ ।
‘बाँचिराखे के के पो देखिन्छ बाबु’ भनेर गाउँका हजुरबा पैला पैला देखिका किस्सा कहानी सुनाउनुहुन्छ। राणाशासनदेखि घरि आर्मीले बुट घरि माओवादीले बन्दुक तेर्साउँदा समेत नडराएको आफू कोरोनासंग पनि नडराइ सयंम अपनाउन भन्नु हुन्छ। हुनत उहाले भनेझैँ हामी हरेक नेपालीको बिगतको इतिहास हेर्दा हामीले हरेक पल, हरेक क्षण मृत्युसंग सौदाबाजी गरेका छौं। यो पालि फरक यत्ति हो की हाम्रो शत्रु एक भाइरस हो । हामी नेपालीले ९० वर्ष हराहारीको राणाशासन झेल्यौ, ६२/६३ जनआन्दोलन, भारतीय नाकाबन्दी ब्यहोर्यौ, लोकतन्त्र देख्यौँ अनि ७२ को महाविनासकारी भूकम्प सहेयौँ।
मेरो गाउँ पनि यी तमाम उतारचढावहरुसँग राम्ररी परिचित छ। उतिबेला भूकम्पको क्षतिबाट गाउँले पुरानै अवस्था आउन वर्षाै लाग्ला झैँ लागेको थियो। तर समयले भूकम्मको घाउ पनि पुर्दैछ । घरघरमा आमाबुवाहरु करेसाबारीमा तरकारी लगाउन र गोडमेलमा व्यस्त देखिनुहुन्छ । कोही सामाजिक दुरी राखेर पसल र पीठो पिन्न पानीघट्ट , कतै मकै रोप्न, धनको गोडमेल अनि कोहि धान कुट्ने मिलतिर भेटिनुहुन्छ। घर भित्र नै मीठोमसिनो पकायो खायो,परिवारसंगै बसेर टि. भि हेर्यो अनि साँझमा घरको बार्दलीमा बसेर छिमेकीसंग गफगाफ गर्नुहुन्छ। यसरी नै गाउँका आमा बुवाको दिनचर्या बित्दै छ । जे होस् लक-डाउनले हरेक गाउँका मानिसहरुको जीवनयापनमा धेरै थोरै फेरबदल ल्याएको छ ।
म पनि जिन्दगीको आफ्नो फरक पाटोबाट दैनिकी काट्दै छु। कहिलेकाहीँ लाग्छ, कुनै पनि कुरा अति भएको राम्रो होइन । नेपाल कृषि प्रधान देश हो भन्न थालेको कति वर्ष भयो होला त्यो त मलाई थाहा छैन । अधीकाशं नेपाली कृषक हुन्। तर कृषकका छोराछोरी कृषक छैनन्। यसो हुनु एक हिसाबले ठिकै पनि हो । पहिले जस्तो घरका ४ जनाले कृषि कर्म गरेर ४ जनाले नै खाना पुग्ने आँकडा भन्दा धेरै माथि पुगिसकेको छ देश |
म आफै पनि कृषिको बिद्यार्थी भएकाले लकडाउन चलिरहँदा पनि गाउँगाउँमा सामाजिक दुरी कायम राख्दै सुरक्षित रुपमा कृषिकार्य गर्न सुझाब र आग्रह गर्न चाहान्छु ।