तपाईंको कथा, तपाईंको भाका

हेर्ने कथा तपाईंको कथा, तपाईंको भाका हो । गाउँघर र मानिसका कथा सँगै सम्बन्धित ठाउँका लोक भाका र स्थानीय गीतहरुलाई पनि सँगसँगै प्रस्तुत गर्नु हेर्ने कथाको विशेषता हो । हामीले हेर्ने कथाको पहिलो अंक एउटा स्कूलको कथादेखि आठौं अंक जुबेदा खातुनको कथासम्म आइपुग्दा हरेक कथामा यस्ता भाका र स्थानीय गीतहरु प्रयोग गर्दै आइरहेका छौं ।

विभिन्न भाषा र चालचनल भएका नेपाली समुदायहरुमा दुःखसुःखका गाथा लोक गीत मार्फत व्यक्त गर्ने हाम्रो पुरानो, सुन्दर र धनी चलन हो । दुःखमा होस् वा सुःखमा नेपाली समाजले गीत गाउँछ । कहिले माया प्रितीको गीत गाउँछ कहिले विरहको गीत गाउँछ । समाजले आफ्नै कथा गीतबाट भन्न सिकेको धेरै पहिलेबाट होला सायद । बिहेमा गीत, रोपाइँमा गीत, गोठाला जाँदा गीत, घाँस काट्दा गीत । कति लयपूर्ण छ हाम्रो समाज ।

त्यसैले हेर्ने कथाका अंकहरु तयार पार्दा हामी समाजका त्यही लयलाई सकेसम्म छोड्न चाहँदैनौं । तर विडम्बना हाम्रा गाउँघरका पुराना लोक भाकाहरु बिस्तारै हराउँदैछन् ।

तपाईंको कथा, तपाईंको भाका

आज हामी तपाईंहरुलाई एउटा अनुरोध गर्न चाहन्छौं । तपाईंले जानेका भाकाहरु हामीसँग बाँड्नुस् र हामीमार्फत अरुलाई पनि सुनाउनोस् । तपाईंले गाउँघरमा गोठाला जाँदा गाएको अथवा आफ्ना अग्रजहरुले गाएको सुनेको भाका, चुट्का, श्लोक जस्ता परम्परागत लोक गीतहरु रेकर्ड गरी हामीलाई पठाउनुहोस् । हामी आवश्यकता अनुसार ती भाकाहरुलाई हेर्ने कथाका अंकहरुमा अथवा छुट्ट्टै प्रयोग गर्नेछौं ।

तपाईं स्वदेशमा, परदेशमा जहाँ भए पनि हामीलाई आफ्ना भाका पठाउन सक्नुहुन्छ । फुर्सदको बेला होहल्ला नभएको ठाउँमा बस्नुस् । मोबाइल निकाल्नोस् । आफूले जानेका पुराना भाका रेकर्ड गर्नुस् र हेर्ने कथालाई पठाउनोस् ।

भाका पठाउन केही सुझाव

  • अडियो अथवा भिडियो दुबै पठाउन सकिन्छ । भिडियो भए झनै राम्रो ।
  • आफूले जानेका भाका गर्वसाथ रेकर्ड गर्नुहोस् । अरुले के सोच्लान् नसोच्नुहोस्
  • भाका पठाउँदा उक्त भाकाको बारेमा तपाईंलाई थप केही थाहा छ भने त्यो पनि लेखेर अथवा रेकर्ड गरेर पठाउनुहोला । जस्तै कुन बेलामा गाइने भाका हो आदि
  • तपाईंको भाका नेपालीबाहेकको भाषामा छ भने त्यसको अर्थ पनि भनिदिनुभयो भने सुनमा सुगन्ध हुनेछ
  • रेकर्ड गरिएका भाका पठाउने सबैभन्दा सजिलो माध्यम हेर्ने कथाको फेसबुक पेजमा इनबक्स गरेर https://facebook.com/hernekatha । अथवा हेर्ने कथालाई इमेल गरेर : hernekatha@gmail.com

हेर्ने कथामा प्रयोग गरिएका यी भाकाहरुले तपाईंलाई थप उर्जा दिन सक्छन् :

एउटा स्कूलको कथामा शायजाँ नरगिसले गाएको तराना

ढोरपाटनका चौकिनीहरुले गाएको यानिमाया भाका

 

जुबेदा खातुनको कथामा जुबेदाकी छोरी र सासुले गाएको अवधि लोक गीत

 

घरको कथामा प्रयोग गरिएको पुर्वेली भाका

 

 

 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply