अन्तिम खुसी

म पेशाले जेनेरल सर्जन हु । मेरो जन्म स्याङ्गजाको विकट गाउँ इलुङ्गामा भएको हो । गरिब परिवारमा जन्मेर पनि मेरा बा आमाको कडा मिहेनतले सरकारी स्कुल पढेर पनि छात्रबृत्ति पाउँदै पाउँदै म यहाँसम्म आइपुगेको हुँ । विडम्बना म डाक्टरी पढदै गर्दा मेरी आमा पित्तथैलीको क्यान्सर र बा माथिल्लो खाने नलीको क्यान्सरले बित्नुभयो ।क्यान्सरले मृत्यु नहुँदा सम्मको बिरामीलाई हुने पीडा शब्दमा व्यक्त गर्न सकिन्न ।म त्यस्तो अभागी डाक्टर हुँ र म अभागी छोरो पनि हुँ जसले आफूलाई यो उचाईसम्म पुर्याउने बा-आमालाई बचाउन सकेन । यसै प्रसङ्गमा यो कथा जन्मिएको हो

डा‍. टीकाराम भण्डारी

गहुँगोरो वर्ण, खिरिलो मुहार । सेतो कोटको पहिरनमा बाँसजस्तो जिऊ  टलक्क टल्कियो । ऐनामा आफैंलाई ओल्टाइ पल्टाई हेरें । अनुहार, जिऊ पुराना नै थिए । नयाँ त सेतो कोट थियो । वर्षौंको सपना साकार भएको क्षण थियो । सेतो कोट माथि घाँटीमा स्टेथेस्कोप भिरें ।

त्यही स्टेथेस्कोप जसलाई बा ले आला भन्नु हुन्थ्यो । तारन्तारको निमोनियाग्रस्त मेरो बाल्यकालमा मैले धेरै पटक यो आलाको सम्पर्कमा आउनुपर्यो । गाउँकै कम्पाउण्डरले घाँटीमा भिरेको आलाका दुई पुच्छर कानमा घुसारेर मेरो छातीमा आलाको डल्लोले कैयौं पटक छामेको स्मृति अझै ताजै भएर आउँछ ।

काँधमा मलाई बोकेर खेतको डिलै डिल  घर फर्कँदा बाले सँधै भन्ने गरेको सम्झन्छु “भोलि तैलें पनि यहि आला चलाउनु पर्छ । धेरै पढनुपर्छ, अनि मात्र आला खेलाउन पाइन्छ ।”

ऐनामा आफैंलाई निकैबेर हेरिरहें । आफूलाई अग्लो देखें । मुहार सुन्दर ठानें । जिऊमा अति नै सुहाएको पाएँ सेतो कोट र आलालाई । खिचिक्क फोटो खिचेर खाममा राखेर गाउँ पठाइदिऊँ झैं भयो ।  ता कि मेरो यो रुप सेतै फुलेका बाले देखुन् र गाला च्यातेर थोत्रा दाँत देखाएर बेसरी मुस्कुराउन् । अनि क्यान्सरले थलिएकी आमाले मेरो यो रुप देखेर वर्षौंदेखिको ममाथिको उनको पसिना सार्थक भएकोमा हर्षले लामो सास लिउन् । आफू स्कूल नगएर पनि मलाई स्कूल डोर्याउने दिदी आनन्दले फुर्किइउन् ।

हुने भए अहिले नै उनीहरू सामू पुगूँ । आफ्नो अग्लो रुप देखाँउ र देखुन् मेरो अग्लाई मेरा पाखा पखेराले, लेकबेसीले, डाँडा काँडाले । चौतारीले सुसाओस् अनवरत सुसाई यो अग्लाईमाथि र सम्झोस् मैले नाङ्गा पाउले हिँडेका ती उकाला ओरालाहरू । मेरा बा–आमाले हिउँद वर्षा चुहाएका एक एक थोपा पसिना र गोबर माटोको गन्ध महसुस गरोस् यो सेतो कोटले अनि यो आलाले । ऐले नै लगेर लगाइदिउँ कोट र आला मेरा बा आमालाई झैं भयो ।

***

आज पहिलो दिन, डाक्टरी अध्ययनको तेस्रो वर्षको।

बेलैमा तयार भएर विरामी भर्ना भएको वार्डतिर हिँडे । मन फुरुङ्ङ थियो । पहिलो दुई वर्ष किताब पढ्दा नै वित्यो । बिरामी जाँच्न सिक्ने दिनको सुरुवात आज थियो । सुरुवातमै आफूलाई डाक्टर ठानें । अस्पतालका सिँढीहरू कम लागे । वार्डमा आफ्नो आला अग्ले रुपलाई हाजिर गराएँ । वार्डभरि बिरामी थिए । अनेक थरी रोग लागेका ।

वार्डमा भएका विरामीलाई राम्ररी नियालें ।  हरेक विरामीमा मैले घरमा थलिएकी आमा देख्दै थिएँ । प्रायः विरामीका शरीर गलेर सिन्को भएको, मुहारमा फुस्रोपन, गाला सुकेर हड्डी मात्रै उठेका, आँखा गडेका थिए । जे भएपनि, जे रोग लागे पनि सबैका आँखामा एउटा भोक छरपस्टै थियो । त्यो थियो जीवन बाँच्ने भोक । बाँच्ने चाहना । मेरी आमाको झैं ।

विरामी आमालाई सम्झँदै थिए ।

मलाई ठूलो डाक्टर हुनु थियो । त्यो पनि अहिले नै । दुइचार दिनमा नै । दुइचार दिनमा मैले सलाइन पानी जोडन सिक्नु थियो । नदुख्ने औषधी लगाउन जान्नु थियो र गाउँ गएर आमाको ढाड दुखाई जरै देखि फाल्दिनु थियो । मेरो लागि भन्दा पनि मलाई मेरी आमाको लागि छिटो ठूलो डाक्टर बन्नु थियो । सधै उक्क उक्क गर्ने र वान्ता गरिरहने आमालाई वान्ता नहुने राम्रो औषधी नसामा सजिलै नदुख्ने गरी लगाउनु थियो । धेरै कुरा गर्नु थियो तर पहिलो दिनमा मैले चाहेर पनि कहाँ यी सबै सम्भव थियो र ?

हातको नशामा सलाइन पानी जोडेको विरामी छेऊ पुगें । सलाइन पानी थोपा थोपा झरेर नली हुँदै नशा भित्र छिर्दै थियो । विरामी आँखा चिम्लेर, अलिकति ठाडो उठाइएको बेडमा आरामको निद्रामा थियो । सोचेँ यस्तै सलाइन पानी दिनहुँ दिने हो भने त आमा पनि हरेक दिन मिठो निद्रामा सुत्नु हुन्थ्यो होला । महिनौ दिनको अनिद्रा मेटिन्थ्यो होला । जीन्दगीको सुख्खापन के हुन्थ्यो कुनी, तर शरीरको, मुहारको फुस्रोपन केही क्षणलाई भएपनि उड्थ्योहोला ।

वार्डमा रहुन्जेल सलाइन पानी जोडेको, नदुख्ने औषधी दिइएको, पिसावको पाइप जोडिएको हेर्न मेरा आँखा लालायित रहिरहे तर मनको इच्छा मनमै रह्यो । पहिलो दिन त्यसै वित्यो । साँझ कोठामा आएपछि सबै विरामीका माझ मेरी आमालाई नै सम्झें । एक दुइ दिनमा त जसरी पनि सिक्छु, सरलाई, सिस्टरलाई जसलाई सोधेर भएपनि सिक्छु भन्ने आत्मविश्वास लिएँ । भोलि कहिले होला भन्ने भयो ।

अँध्यारो रातलाई पन्छाएर सुनौलो विहान आउला भन्ने थियो । विहान त आयो । अरुका लागि सँधै आए झैं आयो । सबेरै देखि नै अस्पताल वरिपरि चहलपहल भो । मेरा लागि विहान, विहान भएर आएन । नयाँ विहान आउला भन्ने थियो । विहान त झन् झुत्रो मैलो भएर आयो । बिहानले अर्को खबर बोकेर आयो । “गाउँमा आमालाई रोगले झन् च्याप्यो । आमा सिकिस्त हुनुभो । तुरुन्त गाउँ आउनुपर्यो ।” यस्तो खबर पो ल्यायो झिसमिसेले ।

चिसोमा कठङ्ग्रीदै म बसपार्क पुगें । पहिलो बस समातेर गाउँतिर लागेँ । दोस्रो दिन वार्डमा जाउँला, के के सिकुँला भनेको अर्कै भइदियो । मान्छेले चाहे जस्तो नहुँदो रैछ । हुँदो हो त दुःख कसलाई पर्थ्यो र ! यस्तै यस्तै अनेक सोचें । सोच्दै जाँदा राम्रो भन्दा नराम्रो नै सोचेँ । जे सोच्यो त्यहि हुन्छ भनेर कतै पढेको थिएँ । झन डराएँ । यति बेला मेरो मनमा केवल नराम्रो सोच मात्रै आइरहेछ । आमाको बारे, आमाको रोगको बारे । आमालाई कुरेर बसेका सेतै फुलेका बाको बारे । मैले चाहेर पनि सोचलाई सोच्नबाट रोक्न सक्ने स्थिति थिएन र फेरी सोचें । हुने नै भए यहाँ भन्दा नराम्रो हुने ठाउँ के छ र ?

नराम्रो सोचेर नै मेरो शरीर घर पुग्यो । मन त धेरै पहिला पुगिसकेको थियो । सम्साँझको बेला थियो । दिउँसो भरिको उज्यालो कतै हराउँदै गए जस्तो, कतैबाट अँध्यारोलाई बनाउँदै हावामा उडाएजस्तो । अँध्यारोले उज्यालोलाई जित्दै थियो । सोचेको थिएँ– आँगन भरी नराम्रो फैलेको होला, मान्छेको भिडभाड होला, रुवाबासी चल्दै होला । अनेक अनेक नराम्रो मात्रै सोचेको थिएँ ।

मेरो सोचाई विपरीत आँगन सुनसान थियो घर पुग्दा । फेरि सोचें नराम्रो मात्रै पनि नहुँदो रैछ, नराम्रै सोचेर पनि । आशा जाग्यो । आँगनमा चहलपहल छैन । गोठतिर गाइभैसीले सर्याक सुरुक्क गरीरहेछन् । त्यतापनि सुनसान नै छ । गोबरको गन्ध ह्वास्स आइरहेछ ।

गोबर, माटोको गन्ध, मेरा बा आमाको सबैभन्दा प्यारो गन्ध हो । आमाको काखमा बसेर दुध चुस्दा होस्, आमाका हातको स्पर्स मेरा गालामा पर्दा होस्, आमासँगै नाडीएर विस्तारामा सुत्दा होस् हरक्षण हरपल मेरो नाकमा यै गन्ध ठोकिने गर्थ्यो । मैले सोच्थेँ कसैले गोबर हाम्रो विस्तारामा राखी दिएछन् । साडीबाट आउँदो रहेछ । पटुकाबाट आउँदो रहेछ । बाको टोपीबाट आउँदो रहेछ ।

हुन पनि गोबर विना त कामै चल्थेन घरको । पिँढी आँगन लिप्नलाई गोबर नै चाहिन्थ्यो भगमानको पुजा गर्दा समेत ‘गहुँत’ प्रयोग हुन्थ्यो । ‘ला यो गहुँत’ बा ले मेरो मुखमा थोपा गहुँत पारिदिनुहुन्थ्यो । ‘छि यो गाईको मुत’ भन्दै मैले थुथु गरेर मुखको नमिठो गन्ध मेटन खोज्थे । बुवा पिँढीमा बसेर हाँस्नुहुन्थ्यो । गहुँत खाएको दिनैभरी मुख नमिठो भै रहन्थ्यो । त्यै गहुँत बा–आमाले सर्लक्क खानुहुन्थ्यो । उहाँहरूले थु थु गरेको कहिल्यै देखिन । गोबर गहुँत प्यारो भएकोले नै त्यस्तो भएकाले होला ।

अँध्यारोमा अँध्यारो भएर म घर पुगेको थिए । पिँढीमा बर्को ओढाएर कसैलाई सुताइएको थियो । नजिकै गएँ । ढोकाबाटबाहिर भित्रको दियोको उज्यालो बाहिर निस्केर आँगनसम्म पुगेको छ । पिँढीतिर अन्धकार छ । ‘अँ अँ–दुखाइको आवाज छ । छेऊ मै गएर हातले बर्को पन्छाउदै भने ‘आमा’ । बर्कोले छोपेको मुहार खुल्यो ।

अँध्यारो गढेका आमाका आँखा टल्कीए, आमाले मतिर हेर्नुभो । मुखबाट नमिठो गन्ध आयो । दाँत अलिकति टल्किए । हात अलिकति सारेर मेरा हातलाई हातमा लिनु भो । बेसरी अठाउँनु भो । मुखले केही बोल्न खोज्नु भो । ओठ चले, जिब्रो चल्यो । आवाज निस्कन सकेन । अँध्यारोमा पनि आमाले मलाई चिन्नु भयो । मेरै काखतिर कोल्टो फेर्नुभयो । मेरा हात समातिरहनु भयो । मैले टाउको मुसारी दिएँ । आमाको माया, आमाको स्पर्स महसुस गर्न मलाई अंध्यारोले छेकेन । चिसा हातको स्पर्समा मैले तातो महसुस गरे । न्यानो महसुस गरे । न्यानो पनि मुटु नै पगाल्ने न्यानो थियो । आंखाबाट बरर आँसु झरे मेरा । म अर्कोतिर फर्केर गालाका आँसु पुस्दै सुक सुकाएँ । आमाले त्यो पनि चाल पाउनु भो । आमा जोडले चलमलाउनु भयो । टाउको गला उठाएर सुसाउनु भो – ‘नरो’ । मेरो हातलाई बेसरी अठयाउनु भयो । म आमाको हातमा च्यापिएको थिए । आमाको काखमा बाँधिएको थिए, मलाई संसारको सबैभन्दा खुशीको क्षण थियो । मेरा आँखाबाट अश्रुधारा रोकिएनन् । मैले आँगनतिर हेरेर आंशु पुस्दै गरें । आंशुहरू गाला हुदै पिढीसम्म झर्दै गरे । मनलाई थामेर सुकसुक गर्न बन्द गरें । म रुदा झन आमालाई सास्ती भयो भन्ने कुरा आमाको चलमलाईले बताउथ्यो ।

मलाईभन्दा दुःख त आमालाई छ । रोगले थलाएको शरीरमा मुटु खाने पीडा आमालाई छ । जति नै कष्ट भएपनि आमाले मलाई ‘न रो’ भन्दै हुनुहुन्छ । मलाई ढाडस दिदै हुनुहुन्छ ।

चिसोपन विस्तारै बढदै थियो । शुन्यता चारैतिर फैलिएको थियो । तल्लो टोलतिर लगातार एकै स्वरमा कुकुरहरू भुकिरहेका थिए । कुकुरहरूको भुकाई भन्दा तिनीहरूको रुवाई हावामा फैलिदै थियो । नजिकैको बांसघारीमा अघिसम्म चिरविर चिरविर गरेका चराहरू सुस्ताई सकेका थिए । घर पछाडिको गोरेटोमा बजारबाट फर्कदै गरेका मान्छे हिडेका आवाज, तिनका गाइँगुई बेलाबेला उठ्थे अनि बिलाउदै जान्थे । पारी डाँडामा तारा चम्किए झै दुई चार बत्ती चम्किदै थिए ।

घरभित्रको उज्यालो विस्तारै बाहिर फैलिदै आयो । उज्यालो ढोका, पिँडी आँगन हुदै गोठको माथ्लो भागसम्म फैलियो । हातमा दियो बोकेर बा–बाहिर आउनुभो । मट्टितेलको दियो पल्लो पिँढीमा राख्नुभयो ।

‘ए आइस कान्छा’

“तँ पो रैछस, म त माथ्लो घरे माइलो आएर आमासँग बस्यो कि ठान्या थिए, भित्रबाट”

‘राम्रोसँग आइस ?’ बाले एकै चोटि भन्नुभो ।

मैले ‘अँ’ भनेर टाउको हल्लाएँ । बा पनि आमाको खुट्टातिर अलिकति बर्को पन्छाएर बस्नुभो । बस्दा बस्दै आमाका खुट्टा छाम्नुभो ।

‘वरफ खसे झै छन खुट्टा पनि’, हिजो रातिदेखि यस्तो भाछ ।’

दाँत झरेका गिजाँ टल्काउदै बा बोल्नुभो । मोटोघाटो बा को मुहार पनि सर्लक्कै क्षयरोग लागे झैं सोहोरिएछ । गालाको मासु पनि सकिएछ । कुवामा गढे झैं आँखा अर्कै भएछन् । दियोको उज्यालोमा बा को छायाँ भित्तामा चल्दै थियो । बाको चुच्चो नाक, खिरिलो मुहार, उस्तै थियो छाँयामा पनि । बा बोल्दा छायाँमा पनि मुख र हात एकै चोटि चल्थे । सिसीको दियोबाट उज्यालो भन्दा बढी कालो मुस्लो माथितिर उठ्दै थियो । कालो मुस्लो पिढीको दलानमा पुगेर टाँसिदै थियो । कालो मुस्लो त सास लिदा हावासँगै फोक्सोसम्म पुग्दो रैछ । ‘विहान दाँत माझ्ने बेलामा खकारमा पनि कालै मुस्लोको टुक्रा बुबाले पहिलेदेखि नै देखाउनुहुन्थ्यो । जस्तो भएपनि यो दियोले हाम्रो घरबाट मुक्ति अहिलेसम्म पाउन सकेन ।

आमाका हातमा मेरा हात च्यापिएकै थिए । आमा फेरि निदाउनु भएको थियो । सास लिँदा र फेर्दा आमाको घाँटीमा घ्यार घ्यार आवाज आउथ्यो । मुखबाट अहँ अहँ कहराएको आवाज आउथ्यो ।

“रातीमा कहिल्यै निदाउने हैन । दुख्यो मात्रै भन्छे । घरि ढाडतिर दुख्यो । घरि कम्मर खायो भन्छे ।”

“रातीमा निदाउन पाउँदा कस्तो हुन्छ झै भैसक्यो । दुइ महिना भयो थलिएको पनि । डाक्टरले आस मारेर घर पठाइदिएको पनि पुरा डेढ महिना भो । दुइ दुइ चोटि अपरेशन हुदा पनि निको नहुँने कस्तो रोग हो । शत्रुलाई पनि नपरोस् यस्तो त ।”

“सबैले आस मारे पनि शासले आस त्यसै मार्दो रहेनछ । शरीरबाट शास त्यसै जाँदो रहेनछ ।”

“यसो अलिकति निद्रा आए झैं गर्छ । एकछिनमा बिउँझिन्छे । यता मिज्दे, उता दुख्यो, उता मिज्दे भन्छे ।”

“घरि पाखुरा मिज्दिन्छु, घरी खुट्टा, ढाड कम्मरमा तेल लाएर मालिस गरेको गरयै गर्छु ।” एकैछिन विसाए झैं हुन्छ । फेरी उस्तै । जे गरे पनि नहुने ।” जाने नै भए यो शास किन छिटो नगाको होला ।”

“कमसेकम यति पीडा त्यो शरीरले पाउन त पर्थेन ।”

बा बोल्दै जानुभयो । म सिरानीतिर बसेर आमाको टाउको मुसारिरहेँ । आमाको अनुहारको चहक कतै विलाइगएको थियो । हरियो पात सुकेर फुस्रो भए झैं । शासमा नमिठो गन्ध थियो । अमिलो, अर्कै स्वादको । ओठ कलेठी परेका थिए । नाकका फोरा शास फेर्दा, लिँदा फुल्न पनि कन्जुस्याँइ गरे जस्ता विस्तारै चल्दै थिए ।

छेऊ मै रहेको पिढीको खाबोमा म आढेस लाएर बसेको थिएँ । खाँबोको माथिल्लो भागमा मसिनो काँटिमा सलाइनको बोलत झुण्डिएको थियो । बोतलसँगै प्लाष्टिकको सलाइन लगाउने पाइप, गुटमुटिएर झुण्डिएकै थियो । बोतल उल्टो थियो । उल्टोमा घाटी भरीमात्र सलाइन बाँकी रहेछ ।

“पाँच दिन भयो राम्रोसँग नखाको । अलिकति खायो कि वान्ता हुन्छ । तल्लो टोलको सि.एम.ए. हर्कले अस्ती एकदिन सलाइन जोडिदियो । एउटा त राम्रै सँग गयो । अर्को जोडन खोज्दा हातै सुनिएर आयो । त्यसपछि अर्कोमा नशा खोलेर सलाइन दिन खोजेको कैयौपटक घोच्दासमेत हर्कले सकेन । शरीरभरि नसा सुकिसकेर त्यस्तो भा को भन्यो । त्यसपछि अर्कोमा नशा खोलेर सलाइन दिन खोजेको कैयौपटक घोच्दासमेत हर्कले सकेन । शरीरभरि नसा सुकिसकेर त्यस्तो भा को भन्यो ।” त्यसपछि झन गाह्रो हुदै आयो यसलाई ।”

‘पानी मात्रै परया छ, त्यो मुखमा ।” अन्न नपरेको त कति दिन भैसक्यो ।”

“जा– हातखुट्टा धो ।” जाउलो पका छु । भात पकाइन आज । यसैलाई पकाको जाउलो हुन्छ । त्यै खाइदिन्छु भनेर पकाइन ।”

“तँ आउलास झै त मानेको थिएँ । फेरि पनि तेरो छुट्टि नमिल्ला भन्ने पिर थियो ।”

बा का कुरा सुनिरहेँ । बोल्दा बोल्दै बा भित्र जानु भो । म हातखुट्टा धोइवरी आएँ ।

एकैछिन पछि बाले एउटा कचौरा दुध, अर्कोमा पातलो जाउलो ल्याउनु भयो । छेऊमा अघिदेखि अँखोरामा पानी छदै थियो । बा–सिरानी तिर आउनुभो । पिढीमा बसेर आमाको घाँटी र टाउको लाई काखमा लिनु भो । आमाले बा–लाई पुर्लुक्क हेर्नुभो । सानो बालक झै सहर्ष अलिकति सरे झै गरेर बा को काखमा टाउको राख्नु भयो आमाले ।

आमाले मलाई पनि बेला बेला हेर्नुहुन्थ्यो । आमाका आँखामा केवल निरीहता थियो । मुहारमा नैराष्यता । जीवन देखि हार खाएका आँखा म हेर्न सक्दिनथे । बा–ले चम्चाले पालै पालो दुध, पानी, खुवाइदिनुभयो । बा ले हामी छोराछोरीलाई यसरी कहिल्यै चम्चाले दुध खुवाको मैले देखेको थिइन । जानेको थिइन । सम्झे–आमाले पनि त हामीलाई बा ले झै गरी भात, दुध खुवाउनु हुन्थ्यो कुनै बेला । बा त सधैंको परदेशी । वुढेसकालमा घर वस्न जुरेको, त्यो पनि दैवले यस्तो पारयो । बा–को हातबाट भात खान हामीले पाइएन । आमाले पाउनुभयो । तर यस्तो अवस्थामा ।

जाउलो खानेबेला आमाले निल्न सक्नु भएन ।

‘ल ल यसमा थुक’ मुखभरीको जाउलो आमाले आधा कचौरामा आधा बा को काखमा थुकिदिनु भो

बा–अलिकति पछाडि सरेर छेउको अँखोराको पानीले हात त्यै कचौरामा धुनु भयो । चिसो हातले आमाको मुख पुछिदिनु भो । उठेर काख टकटकाउनु भो । काखबाट छिरलिएको जाउलो भुइमा खसे । बाले तिनलाई टिपेर कचौरामा राख्नुभयो ।

‘आज यति सम्म दुध खाई । खाए त भोलि मुहार अर्कै देखिन्छ । खानै गाह्रो ।”

बा उठदै बोल्नु भयो । पिढीबाट झरेर छेऊबाट आमाको टाउको सिरानीमा मिलाइदिनु भो ।

बासँगै म पनि भित्र गएँ । अंगेनामा राखिएको कराइबाट बाले खाना पस्किनु भयो ।

“जाउलो नरुचाउलास भनेर खिर बनाइदिएँ हतारमा । चिनी कस्तो छ कुन्नी ।”

“तँ पनि दुबलाइछस् । खानामा ख्याल गर्नुपर्छ । पढाइ पनि गाह्रो छ ।” सिसाबाट ठूलो चम्चाले जमेको घिऊ खीरको डल्लोमाथि राखिदिदै बाले भन्नुभयो ।

खिर मलाई मन पर्ने खाना, आमालाई त थाहा थियो । अझ डल्लो घिऊ, खिरको डल्लोसँग खाने मेरो रहर वाल्यकालदेखि कै हो । कै कसरी बुझ्छन् बा–आमाले छोराछोरीको रहर ? बा ले पनि आज बुझ्नुभयो । आफूलाई पनि काँसको थालमा आधा जाउलो, अलिकति खिर हालेर बा पनि खान बस्नुभयो ।

यै अँगेनामा बसेर खाएर मैले मेरो वाल्यकाल गुजारेँ । आमाले मलाई खिर खुवाउँदा बा हुनुन्नथ्यो । गरीबीको उपचार खोज्न बा लाहुरमा हुनुहुन्थ्यो । आमाले बा लाई खिर खुवांउदा कहिल्यै म भइनँ । पढाई भनेर घरबाट हिँडेको पनि कैयौं वर्ष भए । आमालाई खिर खुवाउने मान्छे हामी हुन सकेनौं । न म, न बा नै । मलाई आज बाले खिर खुवाउँदै हुनुहुन्छ । तर आमा हुनुहुन्न यो अँगेनामा । बा को मुहार हेर्छु । बा ले नचबाइकन, सुर्लुक्क सुर्लुक्क जाउलो र खिर निल्दै हुनुहुन्छ । बिचबिचमा गिलासको पानी पिउनुहुन्छ । कति अभागी छौँ हामी । कति निरीह छु म, कति निरीह छन् मेरा बा–आमा यो सांसारिक चक्रको सामुन्ने । बा लाई हेरीरहें – “सबैभन्दा अभागि त तिमी नै छौ बा ।” जोडले चिच्याउन मन लाग्यो ।

दिनभरीको यात्राको थकानले भुसुक्कै निदाएछु । विहान भैसकेपछि बा विस्ताराछेउ आएर भन्नुभो 

“कान्छा–उठ् त । थाकेर होला तँ त निदाइस राति । आमाले रातभरी वान्ता गरी । खाएको त गरी गरी, पेटको आन्द्रा भुँडी आउला झैं रगत पनि वान्ता गरी । राति नै सास खुस्किएला भन्ने ठानेँ तर पछि बिसायो । त्यसपछि केहिछिन निदाई तेरी आमा । तँलाइ उठाइन मैले ।

त्यसपछि म जुरुक्क उठें ।

“हर्कले राखेको दुइटा सलाइन र पाइप छ । बरु तैंले जोड्दे न । सलाइन पानी 

पाएपछि अलि तङिग्रन्छे की तेरी आमा ।”

बा–का कुरा सुनेर झसँग भएँ । डाक्टर पढन लागेको दुई वर्ष वितिसक्या छ । दुई वर्षमा सानो तिनो डाक्टर भै सक्यो भन्ठान्नु भएर नै बा ले त्यसो भन्नुभएको होला ।

म असमन्जस्यमा परें ।

विहानै वल्ला, पल्ला छिमेकीहरू, शुभचिन्तकहरू आँगनमा भेला भैसकेका थिए । गाउँका हर्ताकर्ताहरू आज आमाको जीवनको उत्तरार्धमा ‘वैतर्नी’ गरेर धार्मिक कर्म पुरा गर्ने सुझाव बा लाई दिदै थिए ।

आमा पिँढीमा उत्तानो परेर आफ्नै जीवनसँग लडदै हुनुहुन्थ्यो । आमाको हात, खुट्टा तथा सम्पूर्णमा पुरा जिऊ नै सुकीसकेको थियो । अनुहारमा बाँच्ने आशा जुन दुई महिनापहिला मैले देखेको थिएँ, त्यो अहिले पुरै हराइसकेको थियो । मैले सुनेका, देखेका या जानेका आमाका जीवनका सपना जम्मै खरानी भैसकेका थिए । अहिले आमालाई तिनको वास्ता थिएन ।

मैले बा लाई भने – “जम्मै सामान ल्याउनुस बा । म आमालाई सलाइन पानी जोडिदिन्छु ।”

भगमान छन कि छैनन मलाई शंका लाग्यो । परिक्षा पनि वेला न कुवेला लिने गर्छन् ।

म आमाका हातमा रगतका नशा हेर्न थालें । नशाको ज्ञान त मलाई थियो । मैले वार्डमा देखे अनुसार सलाइन बोतललाई उल्टो पारेर पिँढीको खाँबोमा झुण्डाएँ । पाइपलाई बोतलको मुखमा घोचिदिए । आमाको दाहिने नाडी नजिकै एउटा नशा फुलेको पाएँ । बाँकी नशाहरू त सुकिसकेर ओइलाएका थिए । ‘अलिकति दुख्छ है आमा’ आमाको मुहारमा हेरें । आमाले आँखा ठूला पारेर मलाई हेर्दै हुनुहुन्थ्यो । “दुवै परेली बन्द गरेर हुन्छ ।” भन्नु भो आमाले इशाराले । मैले बुझें । 

आँगनभरी छरछिमेकका मान्छेहरू भेला भएका थिए । सलाइन पानी चढाउन नमिल्ने अवस्था आइसकेको निधो अस्ति भैसकेको रहेछ । त्यसैले सबैका नजर मैले गरिरहेको क्रियाकलापमा थियो । बा पनि नजिकै बसेर हेर्दै हुनुहुन्थ्यो । मैले लामो सास लिएँ । हातमा भएको सफा डिटोलले भिजेको कपासले आमाको नाडी सफा गरें । देव्रे हातमा आमाको हात लिएँ । दाहिने हातमा भएको नशामा घोच्ने सुई नशामा छिराँए । घोच्ने वित्तिकै आमा चसक्क चल्नु भो । सुइमा विस्तारै रातो रगत आयो । मैले झुण्डाएको सलाइन नलीलाई क्यानुला सुइको फेदमा जोडि दिएँ । बा–ले तुरुन्त सेतो टेप मलाई दिनु भयो । टेपले सुइलाई नाडीमा अडाइदिएँ । सलाइन पानी विस्तारै थोपा थोपा भएर नली हुदै आमाको नाडीमा छाला हुदै पस्यो । मैले लामो सास फेरें र थोपा मिलाइदिए ।

‘धेरै छिटो होला नि’ नजिकैबाट बा–बोल्नु भयो ।

म मनमनै अत्यन्त गदगद भएँ । सलाइन पानी थोपा थोपामा खस्दै गर्दा मैले बा र आमालाई हेरें । बा–को मुहारमा गर्वको अवस्था फूल्दै थियो – बा ले यति भन्नुभयो – “सकिदों रहेछ त सलाइन पानी दिन ।” बा सन्तुष्टिले चम्किनु भयो ।

त्यति नै बेला आमाको मुहारमा पनि त्यस्तै चहक मैले देखें, महिनौं अघि देखि हराएको उज्यालो मैले आमाको अनुहारमा, हाउभाउमा देखें । आमाले आँखी भौं चलाएर इशाराबाटै मलाई बोलाउनु भयो । आमाले  बेस्सरी मलाई अँठयाउनु भयो हातले ।

आमाका सुकेका आँखाबाट बरर्र आँशु झरे । आँसुका धारा रोकिँदै रोकिएनन् । बा हेर्न नसकेर घरभित्र पस्नु भयो । आँसु खसिरहेको आमाको अनुहारमा तेज थियो । उज्यालो थियो । चमक थियो । जसले मलाई आजको म हुनुको चेत दिलायो । त्यति नै बेला आँगनबाट आवाज आयो – “ठूलो अस्पतालमा काम गरेको अर्कै हुन्छ । पढेको अर्कै हुन्छ ।”

आँगनमा निकै वेर गाँइ गुइ चलिरह्यो ।

मैले जानेदेखि बा–आमाको अनुहारमा देखिएको त्यतिबेलाको खुसी सबैभन्दा ठूलो थियो र त्यो खुसी जीवनकै अन्तिम खुसी हुनेछ भन्ने मैले कल्पना गर्न पनि सकिनँ ।

टीकाराम भण्डारी पेशाले शल्यचिकित्सक हुन् । उनका ३ वटा गजल संग्रह र एउटा कथा संग्रह...

Join the Conversation

4 Comments

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply