17 मार्च 2020
सदाझैं विहान सात बजे ड्युटी गईयो। कोरोनाको गपिस पुरानै भैसकेको थियो। नयाँ नयाँ कुराहरू थपिदै थिए। मैले सुने मलेसिया भोलिबाट लकडाउन गर्ने घोषणा भयो रे ! सरकारले त गर्यो अब कम्पनीले के गर्ने हो भन्ने द्विविधा थियो। बन्द होला भन्ने अलिकती पनि लागेको थिएन । यस कम्पनीमा काम गरेको ९ बर्ष भयो । तर यहाँको चाडपर्बमा एक दुईदिन भन्दा बढी बन्द भएको थाहा थिएन । चौध दिन कसरी बन्द गर्ला भन्ने थियाे । तर सरकारको निर्णय कम्पनीले नमान्ने कुरै भएन । बेलुकी ६ बजे मेनेजमेण्टबाट खबर आयो ‘भोलि १८ मार्च देखी ३१ मार्चसम्म कम्पनी बन्द । सबैजना सुरक्षित होस्टेलमै आराम गरेर बस्नुहोला ।’
लकडाउन भनेपछि सबैका कान ठाडा भए । सबैको मस्तिष्कले एउटै कुरा सोच्यो यो बन्द भरि खानाको जुगाड कसरी गर्ने ! भोलिबाट के होला ! पाउला कि नपाउला ! सबैका पाइला रासन दोकान तिर लम्किए र पसलमा भएका करिब १०० बोरा चामल १० मिनेट भित्रै रित्तिए । मैले पनि २ बोरा उठाए । यतिभए एक महिना बन्द भए नि भोको नमरिने अडकल काटेर । अब तरकारीको जुगाडमा लागियो ।
फेमिलि स्टोरमा यति भिड थियो कि त्यहाँ सामान भन्दा धेरै मान्छे थिए । सब्जि राखेका र्याकहरु एक्कैछिनमा यसरी रित्तिरहेका थिए , मानौ कुनै अदृष्य शक्तिले त्यहाँबाट सबै चीज अलप गराउँदैछ । केही सब्जिहरू उठाएँ । केही उठाउँछु भन्दाभन्दै पालै नआइ सकियाे । दाल जम्मा एक प्याकेट भेटियो । त्यो पनि प्याकेट फुटेर रहेको रहेछ । धन्न ! यही पनि भेटियो । अब पालो थियो बिल तिर्ने । बाफरे बाफ ! आज यहिँ बाह्र बज्छ जस्तो लाग्याे । तरकारीको ठेला लाईनमा लगाएर बसेँ । कछुवा गतिमा लाईन सर्छ । एउटैले १७ दिनको समान उठाएको थियो सुस्त त हुने नै भयो । करिब ३ घण्टा लाईन लागेपछि बल्ल पालो आयो । पालाे आयो, यसैमा खुशी हुनु थियो।
लकडाउनको पहिलो दिन सबैतिर सुनसान थियो । मान्छेको चालचुल थिएन । हामीलाई पनि बाहिर जाने अनुमति थिएन। निस्कन पाइन्थ्यो त केवल खाद्यान्न सामग्री ल्याउन । त्यो पनि गेटपास लिएर । एउटा रूमबाट एकजना मात्र । होस्टेलको बरण्डाबाट यसो नियाल्छु बादल आफ्नै चालमा हिँडिरहेको छ । त्यो भन्दा तल चराहरू स्वतन्त्र निस्फिक्री उडिरहेका छन् । उनीहरूलाई कसैको डर छैन । किनकि आज मान्छे भित्र छ।
यो पृथ्वी मान्छेको अधिनमा छ तर त्यही मान्छे आज लाचार छ । एउटा यस्तो सुक्ष्म जीव, जुन आखाँले देख्न सम्म सकिँदैन त्यसैले मान्छेलाई उसकाे हैसियत देखाइदिएको छ । र चिच्याई चिच्याई भनिरहेछ ‘हे मान्छेहरू हो ! तिमीहरूले कहिले पनि आफूलाई सर्वशक्तिमान नठान । तिमीहरूभन्दा पनि माथि कोही छ ।’
हाम्रो दैनिकी फेरियाे । बिहान उठ्ने, खाना बनाउने खाने अनि फेरी बेडमा पल्टिने । रातभरको सुताई अनि दिनभरको पनि सुताईले शरिर कामले थकित भए भन्दा बढी गल्दो रहेछ । सामजिक सञ्जाल फेसबुक, ट्विटर, युट्युब, टिकटक कति हेर्नु । फेरि फेसबुक पनि धेर गुलियाे भो र तितो हुन थाल्यो ।
लकडाउनको आठौं दिन सरकारबाट अर्को घोषणा भयो,कोरोना भाइरस संक्रमिकम नभएकाले लकडाउनको समय १४ दिन थप्ने। समाचार सुनेर खुईया… लामो सास तान्न बाहेक हामीले गर्न सक्ने केही छैन । बाँकी भगवान भरोसा ।
No responses yet