उही तपाईंको काले!

प्रिय आमा,

खै आज के भयो, निन्द्रा लाग्या छैन। अहिले मध्य रातको १ बजिसकेको छ। करिब ६/ ७ वर्ष भएछ आमासँग बसेर सँगै चाडपर्व नमनाएको। हालको लकडाउन जस्तै बनेछ हाम्रो समय पनि। अझै पनि याद आउँछ त्यस दिन, ड्याडीलाई रु.१० मागेर लालमोहन ल्याएर तपाईंको मुख हेरेको थिएँ। हामी एक आपसमा आमा छोरा भन्दा साथीेको व्यवहार धेरै गर्थ्यौं ।

सायद मध्यम वर्गको परिवार भएर होला, तपाईं सधैं परिवारको खर्च पूरा गर्नकोलागि खटिरहनु पर्यो। सानैदेखि नजिक भए पनि टाढा भए जस्तो। अनि टाढा भएपछि माया झनै गाढा भए जस्तो। हाम्रो कुरा महिनामा ४/५ पटक त मजाले नै हुन्छ। तर यस लकडाउनले गर्दा ६ देखि १० बजेकाे जिन्दगीबाट हल्का छुट पएको छु । त्यसैले गर्दा होला तपाईंसँग नजिक भएर सधैँ जसो फोनमा बोल्न पाएको छु। तर हाम्रो पहिलो बिछोडको सम्झनाले मेरो मन चिस्याइदिन्छ ।

त्यस समयमा घरबाट त बिदाबारी भएर निस्कियौं। पछि एयरपोर्टमा एक अर्कालाई छाेडेर बिदा भयाैं। तपाईं त्याे गेटबाट भित्र छिरिरहँदा मेरो मनमा पनि छुट्टै त्रास बढेको थियो। विभिन्न प्रश्नले मनमा घोचिरहेको थियो। कसरी तपाईंको अनुपस्थितिमा सबै काम गर्ने भनेर विभिन्न प्रश्नहरु मनमा खेल्थे। र आफू पनि भिरबाट खसेको जस्तै महसुस भएको थियो। आज पनि त्यस्तै काँपिरहेछ मेरो मन।

हेर्दाहेर्दै आज यस लकडाउनको पनि ३१ दिन पुगिसकेछ। अनि हामीले बोल्न थालेको पनि ३१ दिननै पुगेछ। मुख बिगारेर , जिब्रो निकालेर र अन्य बिभिन्न रुपमा भिडियो च्याटमा बोल्दा–बोल्दै, यति धेरै समय सँगै बिताइरहेको थाहा नै पाइएन । भन्छन् आजको दिनमा आमाको मुख हेर्दा उपहार दिने, मिठो खुवाउने गर्नु पर्छ रे। मेरो नि मनै त हो, अरुको देखेपछि मन त लागिहाल्छ नि। तर के गर्नु ७ समुद्र पार भएको आमालाई यस्तो–त्यस्तो कसरी गर्ने?

प्यारी आमा, मेरो कुराले चित्त चाहिँ नदुखाउनु। सधैं झैं मेरो आँट बनेर साथ बस्नु। एक दिन हाम्रो पनि समय आउनेछ। त्यस दिन केवल हाम्रो हुनेछ । त्यसै दिनको प्रतिक्षामा बसिरहेछु। हुन त तपाईंको पनि त म नै त हो। छोराले मलाई केही दिएन भनेर चित्त नदुखाउनु। किनभने आजको यस दिनमा मात्र होइन आमा सधैं यस दिनझै माया र स्नेहले बेरिनेछौं हामी।

तपाईंको यादले सताएकोले यस पत्र लेख्दैछु। अन्त्यमा यस पत्र पढिरहँदा तपाईंको अनुहारमा खुसीको मुस्कान अपेक्षा गर्दछु।

उही तपाईंको काले,
अरुण

अरुण

काठमाडाैं

हजार सपनाकाे माया

बुवा आमाकाे मुहारमा खुसी छाउने लक्ष्य लिएर हिडेकाे याे तन मनमा जहिले विघ्न बाधा। आज ३३ दिन भयाे। सुरु सुरुका केही दिनहरु खासै गाह्रो भएन। दिन बित्दै जाँदा लकडाउनकाे अवधि पनि क्रमशः बढ्दै गइरहेको छ। र यी दिनहरु निकै लामा अनि अत्यास लाग्दा भएका छन्। हाे, यसैबेला मेराे गाउँ सम्झिएकाे छु। अनि परिवारकाे मुहारकाे त्याे खुसी। अझ याे समय बसन्त ऋतुका कारण यसैपनि अझ रमाइलो हुन्छ गाउँ घर। सबै सम्झनामै छन्।

यी हरेक कुरा हरु त्यागेर आएकाे हुँ म सहर। तर के गर्नु परिवारकाे मुहारमा खुसी ल्याउने मेराे लक्ष्य लकडाउनले प्रतिस्पर्धा गरिरहेकाे छ। अलि अलि भएपनि शारीरिक खेल खेलिरहने म, फुर्तिलो ज्यानको चाहना भएकाे मलाई लकडाउनले युट्युब, फेसबुकमा मात्र सिमित गरिदिएकाे छ।   

हजाराै सपना बाेकेर हिडेकाे याे तन, याे मन अनेकौं समस्या झेल्दै याे सहरमा छ। माया त देखेका सबै सपनाहरुकाे लाग्छ नि! तर याे सहरको महङ्गीसँग उछिनपाछिन गर्दा मन मस्तिष्क नै शिथिल भइसकेकाे जस्ताे लाग्छ। यस्ताे बेलामा मेराे सानाे विकासाेन्मुख देशलाई पनि अछुतो रहन दिएन काेराेनाले। अझ म त एक मजदुर किसानकाे सन्तान न हुँ के नै पाे गर्न सक्थे र! तर भनिन्छ ओखति नभएको राेगलाई अनुशासनले निकाे पार्न सकिन्छ। हाे, त्यसैले यस्तो दुखकाे समयमा जे जसरी भएपनि घर मै बसाैँ, मिठाे नमीठो जे छ त्यही खाऊ,सामाजिक दुरी कायम गराैँ, आफू पनि बाचाैँ,अरुलाई पनि बचाऊ।   

                                     

‘सुर्खेती’
अन्जु बुढा क्षेत्री

समय

‘आफ्नो आमा बुवाको काखमा हुँदा कहिले मर्न डर लागेन। तर अहिले एक्लै छु। आमा बुबाको लागि बाँच्न मन छ।’
 सधै झैँ भिडीयो कल आउँछ।बिहानी पख आमा बुवा मेरो मुख हेर्न आतुर रहनु हुन्छ।’दिनहुँ के चलिरहेको छ? के गर्दै छस् ?’ मेरो सबै कुरा सुनाउन पर्छ। म सधैं भन्छु, ‘म बहिर जाँदिन। यताको मान्छे नजिक नि आउँदैनन्। अचेल सबै आफनो ख्याल गर्छन्।’ राम्रै कुराहरू सुनाउँछु र फोन राख्छु।

झुटो बोल्न कहिले आउँदैन थियो मलाई। तर आज बिरामी हुँदा नि नभनुँ झै लाग्छ, चिन्ताले सताउने हो कि आफन्तलाई भनेर।

आफूलाई ब्यस्त राख्न यता कोठामा खाना पकाउन लागि हाल्छु। टि भी हेर्छु, कहिलेकाहीँ मनमा चिसो पस्छ ।अनि झ्याल बाहिरकाे वातावरण नियाल्छु।यतातिर सबै आफ्नो काममा नियमित जान्छन्। सबै  बजार बन्द पनि भएको छैन। तर काम गर्नको लागि निरोगी भने रहनु पर्छ। सानाेतिनो बिमारी भए मात्र नि कामबाट निस्किनु पर्छ। एकजना दाइले समस्या सुनाउँदै हुनु हुन्थ्यो-  ‘मात्र हाछ्युँ गर्दा काममा जानै बन्द भयो।’

फेरि मान्छेको समस्या यहाँ काम नगरि पनि नहुने। एक दुई महिना काम नगराैं भने नि कहिले सम्म यसरी पुग्ने हो। यो राेगबाट कहिले मुक्त भइन्छ भन्ने नि थाहा छैन। काम गरेन भने खर्च कसरी पुर्याउने? tax नै मात्र तिर्न भए नि काममा जानु पर्ने वाध्यता छ। काममा जाउँ भने पनि बनको बाघले भन्दा नि मनको बाघले खाने रहेछ!

एउटा कोठा भित्र दिनहुँ meditation गरेर मन शान्त राख्छु। बुझ्दै छु, जस्तो अवस्थामा नि सम्हालिन सक्नु पर्ने रहेछ।
नत्र , 
कि समयले हामीलाई छोडेर जान्छ कि हामीले छोडनु पर्छ। 

पुजा खड्का

अमेरीका


                 

‘धन्यवाद कोरोना !’

केही गर्ने फुर्सद नै छैन । एक दिन घर बस्न नपाएको महिनौं बितिसक्यो । दिनहुँ जप्ने मन्त्रजस्तै बनेको थियो यो वाक्य मेरा लागि। शनिबार एक दिन घर बस्न पाए, के के गर्थे होला? सोच्थे – कपालमा तेल लगाउँछु, नुहाएर घाममा कपाल सुकाउँछु, कपडा धुन्छु, कपडा सिलाउन नि अलिअलि आउँथ्यो। बरु केही सिलाउनु सिक्छु। स्कुटर धुन्छु, गित सुन्छु, युटुबमा आफूलाइ मन पर्ने भिडियो हेर्छु। फिल्म हेर्छु, रुखको फेदमा बसेर कविता लेख्छु, ब्लग लेख्छु। आफूलाई फोटोग्राफीमा साह्रै लगाव थियो। केही समय मिले फोटाेहरु खिच्छु। के के खानेकुरा बनाउन सिक्छु।

कहिले काहीँ आफन्तसँग भिडियो कल गरेर घन्टौ बिताउन मन लाग्थ्यो। तर मर्दा पर्दाका सामान्य कुरा देखि कहिले गफ नै गरिएन। कति वृद्ध हजुरबुबा, आमाहरु त उमेर हुँदा गरेका बहादुरीका कथा सुनाउँदै नसुनाइ बितिसक्नु भएछ। फुर्सद हुँदा गर्न मन लागेका कुराको लिस्ट नै यति लामो थियो ।

आज ३१ दिन बितेछ घरमै बसेको। क्यालेन्डर हेरेर गन्दैजाँदा – आफैलाई  बिश्वास गर्न गाह्रो भयो। अब लकडाउन हुने भयो भन्दा ‘के गर्ने? कसरी दिन बिताउने ?’ भन्ने कुराले ठूलो पिर परेको थियो । तर यत्तिका दिन बितेको पत्तै पाइन ।
मलाई रुखबिरुवा, बनजङ्गल मन पर्ने। कहिलेकाहीँ थोरै समय मिल्ने बित्तिक्कै स्कुटर चढेर घर नजिकैको जङ्गल पुग्थे।  केही कुराले मनमा सताएको भए नि त्यहाँ पुगेपछि सबै समस्याहरु समाधान भए झैँ लाग्थ्यो। धेरै प्रश्नको उत्तर भेटेको जस्तै लाग्थ्यो।  

अहिले घरमा आफ्नै कोठाकाे झ्यालमा बसेर सुन्दा पनि चराहरु कस्तो राम्रो गीत गाउँदा रहेछन्। मैले पहिला कहिल्यै सुनेको पनि थिइन। मलाई अब त्यो जंगल, चराचुरुङ्गी, रुखबिरुवाको पनि याद आउन छोड्यो । म बाहिरकाे प्रकृति बिर्सिएर आफैँभित्रको ‘प्रकृति’मा पो हराउन थालेँ । 

पहिला आफ्नो कोठाको अस्तव्यस्तता हेर्दा – कोही साथी आए भने के भन्लान् जस्तो लाग्थ्यो। कहिलेकाहीँ मम्मिले भनेको नमान्दा धम्कि दिनुहुन्थ्यो- तेरो कोठाको फोटो खिचेर फेसबुकमा हालेर ट्याग गर्दिन्छु नि! अहिले आफ्नै कोठा चिटिक्क परेको पुतली जस्तै लाग्न थालेकाे छ। याे काेठा यति सुन्दर कहिल्यै देखेकाे थिएन ।

जुत्तालाई पनि कोरोना आएको थाहा छ कि छैन होला। मेरो खुब याद गर्दै होलान्, र्याकमा बसेर । ती जिन्स पाइन्ट र सर्टले नि आराम गरिरहेका होलान्।  ३१ दिनमा स्कुटरको एका एक  याद आयो। यो लकडाउनमा सबै भन्दा धेरै खुसी त मेरो स्कुटर भयो होला। कुद्नु नि बिर्सिएछ, केही बेर किक हाने पछि मात्र स्टार्ट भयो।

पहिला व्यस्त भएको नाटक गर्दा किताब पढ्न खुब मन पर्थ्यो। १ दिन भर त किताब नै पढेर बिताउन पाए हुन्थ्यो जस्तै लाग्थ्यो। फेरि सोच्थेँ – हैन हैन ! बरु साँझ बिहान गरेर किताब पढ्छु। एक दिन घर बस्न पाए त  दिन भर सुतेर बिताउँछु भनेर सोच्थेँ। लकडाउनका सुरुवाती केही दिन त बिहान उठेर खाना खाएर, फेरि सुतेर, फेरि उठेर, खाएर फेरि सुते । अब मेरो सुत्ने रहर नि पूरा भएको छ । 

१-२ बर्ष देखि अनुहारमा डन्डीफोरले स्थायी अड्डा जमाएर बसेका थिए। यतिसम्म कि – बिना ‘मेकअप’ ऐनामा आफैंलाई हेर्न आँट आउँदैन थियो। ३१ दिनमा धुवाँ, धुलो, क्रिमको पहुँच नपुगेर होला, धेरैबेर ऐनामा हेरेर झण्डैझण्डै मुग्धै हुन नि सकिने भएछ। कपालले ‘ड्यामेज’ छोडेर स्वस्थ र सिल्कीपनको बाटो समातेछ ।

मलाई सानै देखि चित्र, चित्र बनाउने मान्छे र चित्र बनाउन एकदम मनपर्थ्यो। तर कहिले चित्र बनाउन कोसिस चैँ गरेको थिएन। एकदिन चित्र बनाउने जोस चढ्यो। युट्युवमा केही चित्र सम्बन्धि भिडियो हेरेर प्रयास गरेँ । एक दुई दिनमै दिव्य ज्ञान प्राप्त भो – चित्र बनाउने काम मेरो हैन भनेर। 

नेपालमा हुँदा ‘बेस्ट फ्रेन्ड’ भनिने साथीहरु बाहिर गएपछि टाढाका भएका थिए। उनीहरुको पनि व्यस्तता, आफ्नो आफ्नो पनि, समय नै ननिस्किने। मित्रता फेसबुकमा मात्र सिमित थियो। अचेल बाहिर गएकादेखि सबै सुखदुःखका गफ गर्न भ्याइनभ्याइ छ। 

घरबस्दा मन लाग्दी खाएर,  मन लाग्दी सुतेर एकाएक आफू मोटाए जस्तो लाग्यो। मेरो मोटाउने धेरै ठूलो रहर थियो । भिडियो कलमा कुरा गर्दा साथीहरूले पनि मोटाइछस् भनेपछि खुसीको सिमै छैन। मम्मी, बहिनी सबैलाई सोधे – ‘हो हो मोटाएकी छस्’ भने। पछि दङ्ग परे। घर बस्दा लगाएका ठूला टिसर्ट र सुरुवालले अन्दाज नै भएन। अनि एउटा खुरापाती बिचार आयो । दराजबाट आफूलाइ सबै भन्दा फिट हुने जिन्सको पाइन्ट झिके र लगाए तर जस्ताको त्यस्तै भयो।  फेरि दंग परेँ।

दिनहुँ बिर्तामोड गएको ८-९ बर्ष भएछ। ३१ दिन बित्दा बल्ल आज मलाई बिर्तामोडको धुलोको याद आयो। कोरोना बिश्वमा यसरी आउनु भन्दा २-४ बर्ष पहिले देखि मलाई मास्ककाे बानी परिसकेको थियो। एक दिन मास्क छुट्यो भने – हाछ्यु गरेरै केही रातभर जाग्राम नै बस्न पर्थ्यो। ३१ दिन भएछ मैले हाछ्यु नि गरेकाे छैन । 

मेरो नि काम नबितेको कहाँ होर! धनगढीको लम्की देखि संखुवासभासम्मका कार्यक्रम तय भएका थिए। चैत देखि बैशाखसम्मलाई। चैत र बैशाखभर घुम्नेका योजना झन् त्यति नै थिए। लालीगुराँसको राजधानी तिनजुरे, ताप्लेजुङको पाथीभरा र पुनहिल देखि अन्य धेरै ठाउँ घुम्ने योजना थिए। ती सबै त बर्बाद नै भए। तर म यी सब कुरालाई सम्झिएर दु:खी चैँ छैन। अहिले बाँच्नलाई घर बसेको हो। घुम्न नपाएको दु:ख भन्दा घर बसेर जिन्दगीभर मन लागेका कुरा गर्न पाएकोमा धेरै खुसी छु । 

बत्ती कात्न, टपरी गाँस्न, फालेका कागज र धागोबाट विभिन्न सामन बनाउन सिकेँ। ३१ दिनमा लगभग ६०-६५ बिरुवा सरेर वयस्क भएछन् । आफूलाई बनाएर खान मन लागेका र घरमा सबैलाई खुवाउन मन लागेका सबै खानेकुरा बनाए। घरमा फलेका काक्रो, मेवा नातिनीले खान पाइन भनेर हजुरआमाको सधै गुनासो हुन्थ्यो। अब त्यो गुनासो पनि रहेन। ममीसँग सारमा सार मिलाएर बारीमा केही सब्जि रोप्न र गोड्न पनि सघाए । धेरै त हैन आफूसँग भएका पढ्न समय नपाएका सबै किताब पढेर सकिएछन्। तर मैले टीकटक चै बनाइन । किनकि मलाई मन नै थिएन। बरु मोबाइलबाटै हटाइदिए टीकटकलाई मेरो अमूल्य समय लिएको कसुरमा।  

मैले त मन लागे जति घर बसेर सबै गरे। अब यो गर्ने त्यो गर्ने टाइम छैन भनेर मलाई केही गुनासो छैन। अब आफ्नै जिन्दगी देखि खुसी भए झैँ लागिरहेको छ। कहिले काहीँ चिच्याएर ठूलो स्वरले मलाई -‘धन्यवाद कोरोना !’ भन्न मन लाग्छ । फेरि उसले मान्छे माथि मच्चाएको आतंक सम्झन्छु। कैदी झैँ  घरभित्र थुनेको सम्झन्छु। चुप बस्छु।

प्रकृति न्यौपाने 

बेसुर छन्दका सुस्केरा !

परिचयबाटै सुरु गरौं न म रेनुका कार्की।हाल उदयपुर। कोरोनाले देशभर चिनाएको जिल्ला र रामपुर कृषि  क्याम्पसमा विद्यार्थी पनि। आज लकडाउन भएको पनि पूरै १ महिना भएछ। ती व्यस्त सहर,गल्ली, चोकहरु, यसरी महिनौं विदामा उपर्खुट्टि लगाएर बस्लान् भन्ने कल्पनामा पनि  थिएन। हुन त  होडबाजीमा हिँडेको यो युगले बेसुर छन्दका सुस्केरा हाल्छ होला भन्ने कस्ले पो कल्पेको थियो होला र? 

यहाँ जति आँखा बन्द गर्न सजिलो छ, त्यति नै गाह्रो कान थुन्न छ। हिजोलाई  भुलेर भएपनि मान्छे आज सम्झेर दयनीय अवस्थामा पनि एक खिल्ली मुस्कुराउन चाहदोंरहेछ। नभए त्यो सोलुदेखि राजधानी सम्मको यात्रा कुनै उत्साहका लागि थियो र? मान्छेको मन न हो सिमलको भुवा जस्तो। आँखी झ्याल बाहिरकै संसार प्यारो लाग्ने। हरेक वर्ष सधैँ जस्तै उल्लासमय कहाँ हुँदोरहेछ र! कहिलेकाहीँ त प्रकृतिले पनि बिरोधको स्पर्शले ढयाप्प मारेरै जाने रैछ।घरबाहिरकै चहलपहलमा रमाउनेले पनि घर भित्रै रमाउन पनि सक्दो रहेछ त।

सायद यो उपलब्धि विपत्तिले  नै सिकाएको हुँदो हो , अचेल म भित्रको “म”ले अनगिन्ती सम्भावनाको पहिरो गएको देख्दा आफ्नै किस्मत आफैतिर फर्किएर फिस्स हाँसे जस्तो, गिजाएँ जस्तो, घोचेजस्तो, खै कस्तो कस्तो!  हुँदा हुँदा यी मनभित्रको रङ्गगमंचमा मेरा डर र आँट पत्तै नपाइ एकै साथ नृत्य गर्ने मित्र भएछ्न्। हुन त यस्तो पनि हुँदोरहेछ जीवनमा। आपतको बिषम परिस्थितिमा बाँच्ने अभ्यास सँगसँगै मर्ने अभ्यास पनि गर्नु पर्ने। थाहै नपाइ घडीको सुई आफू तिरै फर्किने भइसकेछ।

यी त सब यो वर्षको आगमनसँगै कोरोनाले सिकाएको कुरा न हो! यो वर्ष कोरोनाले धेरै कुरा सिकायो र सिकाउँदै पनि छ। शब्द भन्दा अर्थ ठूलो,अर्थ भन्दा अनुशासन ठूलो ।

रेनु कार्की

उदयपुर

गाउँमा भेटनरी डाक्टर

म पेशाले भेटनरी डाक्टर हो। सन् २०१८ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातक पास गरी भेटनरी पेशामा संलग्न छु। अहिले कृषि र वन विश्व विद्यालयमा स्नातकोत्तर अन्तर्गत भेटनरी फार्माकोलोजीमा अध्ययनरत विद्यार्थी पनि हुँ। सरकारले लकडाउन गर्नु भन्दा ठीक दुई दिन अगाडि आफ्नो कार्यक्षत्रबाट घर, प्युठान आएको थिएँ। घरमा सबै जना आउनु भएको छ। अध्ययनको सिलसिलामा २०६६ साल देखि जिल्ला बाहिर रहनु परेको थियो। बेला बेला घर आउने जाने क्रम त चलिरहेको थियो तर यति लामो समय बुवा आमा र परिवारका सबै सदस्यसँग बसेको पहिलो चोटी नै होला।

यसरी घरमा बसिरहँदा एक अर्कामा कुराहरू छलफल भइरहेका छन्। मलाई च साह्रै रमाइलो पनि भइरहेको छ। परिवार कृषिमा आधारित भएको हुनाले कृषि काम पनि भइरहेको छ, जसमा गहुँ बाली, आलु बाली भित्र्याउने काम चलिरहेको छ। मैले पनि थोरै काम गरेर काममा सघाइ रहेको छु। परिवारका सबै सदस्यसँग काम गर्दा छुट्टै रमाइलो हुँदोरहेछ। अहिले म घर आएको बेला, गाउँघरतिर पशुपंक्षी पालनमा समस्या आयो भने किसानहरूले मलाई बोलाउने गर्नुहुन्छ। म कहिले उहाँहरुको गोठ/फार्म मा नै पुगेर पशुपंक्षीको उपचार गर्छु। कोही किसानको घरमा जान सम्भव नभए, वा टाढा भएमा किसान दाजुभाइलाई फोनबाट नै परामर्श दिने गरेको छु।

कोरोनाको कारणले गर्दा आम मानिसहरूमा त्रासको भावना उब्जिएको छ। साथसाथै भ्रामक कुराहरू/अफवाह फैलाइरहेका छन्। जस मध्य एउटा, यस्तो बेला माछा मासु खानु हुँदैन भन्ने गलत कुराहरू आएको देखिन्छ। र गाउँघरमा यस्ता कुराहरू सुन्ने पनि गरेको छु। जसको कारणले गर्दा किसानहरु चिन्तित देखिनुहुन्छ। कुखुरा पालक किसानहरु समयमै कुखुरा र अण्डा बिक्री नहुँदा बढी चिन्तित देख्दछु। र मैले सकेसम्म माछा मासु खानु हुँदैन भन्ने कुरामा विश्वास गर्नेहरुलाई सम्झाउने ,बुझाउने पनि गरेको छु। माछा मासु भनेका प्रोटिनका मुख्य स्रोत हुन्, जसले हाम्रो शरीर मा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। माछा मासु खाँदा केही फरक पर्दैन। तर राम्रोसँग पकाएर मात्र खानुपर्छ भनि परामर्श, सल्लाह सुझाब समेत दिने गरेको छु। 

यस्तो अवस्थामा हामी सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ ।आफू पनि बचौं अरुलाई पनि बचाऔं , भ्रमलाई होइन यथार्थलाई अगाडि सार्रौं। व्यक्तिगत सरसफाइमा ध्यान दिँदै विश्व स्वास्थ्य संगठनले दिएका निर्देशन पालना गरौं । धन्यबाद ।

डा. रामकृष्ण पौडेल

  प्युठान

 

 

अत्यास लाग्दो सहर

कोरोना संक्रमणले नेपालमा लकडाउन भएको महिनादिन बितिसकेछ । सुरुका दिनहरुमा म सोच्थेँ अब कति दिनसम्म लकडाउन हुनेहोला? दिनहरु कस्तो हुने होला? कसरी बित्ने होला? लकडाउन अघि र लकडाउन पछिको काठमाडौँ सहर धेरै नै फरक थियो। कोलाहल र भीडभाडको सहर आज शान्त र सुन्दर छ। लाग्छ सबै मानिसहरु महिना दिन देखि मस्त निन्द्रामा छन्। लकडाउन पछिको काठमाडौँका केही दिनहरु त सहजै बितेका थिए तर आज लामो समय बितिसक्दा निकै अत्यास लाग्दो अनुभूती गर्दैछु।

काठमाडौँ सहर जहाँ सबै जिल्लाका मानिसहरुको बसोबास गर्छन्, अहिले ती जिल्लाका ती मान्छेहरु कहाँ गए? सहरको भीडभाड, मान्छेहरुको घुईंचो, बाटैपिच्छेको ट्राफिक जाम, गाडीहरुको प्वाँ–प्वाँ र पुँउ– पुँउ बिना सबै अहिले खाली–खाली, शून्य र शान्त देखिन्छ, काठमाडौँ ।

जागिरको सिलसिलामा काठमाडौँ आएकी म, लकडाउनकै कारण काठमाडौँको एउटा घरको सानो कोठामा थुनिएकी छु। कहिले कोठा सफा गरेर, कहिले अफिसको काम गरेर त कहिले इन्टरनेटमा फिल्म हेरेर बिते सुरुका दिन। सोच्ने गर्थेँ अझै लकडाउन एक हप्ता थपियोस् ताकि यो कोलाहल र प्रदूषित काठमाडौँले पनि स्वच्छ हावामा आनन्दको श्वास फेर्न पाओस्।

हिजो अस्तिका दिनहरुमा म कोठाको झ्यालबाट देख्ने गर्थेँ, मानिसहरु फुर्सदको श्वास फेर्न पनि पाइरहेका हुन्न थिए।आज यति विशाल सहरमा मैले आफैँलाई एक्लो पाएको छु।तर यत्तिका दिनसम्म पनि अन्योल भएपछि घरपरिवारको न्यास्रो लाग्न थालेको छ।आज काठमाडौँ अत्यास लाग्दो छ।

शब्द, भाषा मिलाएर त्यत्ति राम्रो त लेख्न जान्दिन तर पनि लेख्ने प्रयास गरेकी छु। कृपया पढिदिनु होला।धन्यवाद।
Stay home, Stay safe!

नुनु श्रेष्ठ

तनहुँ


मनैबाट देखिएका सपनाहरु

१२ कक्षाको बोर्ड परीक्षा नजिकिदै जाँदा सबै कोर्स सक्ने चटारोसँगै परीक्षाको पनि उत्तिकै प्रेसर थियो, विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि।

त्यस बेलामा फाट्टफुट्ट कोरोनाको खबर त सुनि राखिएको थियो। तर पनि त्यति धेरै ध्यान गएको थिएन। त्यति चटारोको बिचमा पनि म भने हरेक दिन योजना बनाइरहेको थिएँ। राजधानी बाहिर बस्नुको सानोतिनो समस्या भोगिरहेकै बेला कलेजको परीक्षा सकेर काठमाण्डौँ जाम्ला अनि विदेशमा विद्यावारिधि गर्न जानका लागि आवश्यक तयारी गरौँला भनि सपना बुन्दै थिएँ। त्यसै बिचमा चैत्र ५ गते अचानक खबर आयो सबै शैक्षिक संस्थाहरु अनिश्चित समयकालागि बन्द भनेर। त्यो घोषणाको गाम्भिर्यतालाई नबुझेको त होइन तर त्यो बेलामा केबल सुरक्षा मात्र अपनाएको होला भाइरस त कहाँ आएको छ र भन्ने लाग्यो। एक मनमा अलिकति भए पनि राहत मिल्यो किनकी लगातारको कलेज पढाउन जानुपर्ने, परीक्षाको उत्तरपुस्तिका जाँच्नुपर्ने, खुट्टा दुखिन्जेल परीक्षामा बस्नुपर्ने जस्ता कामहरुबाट केही समयकालागि भए पनि छुटकारा पाइएको थियो। अनि अब आफूले सोचेको काममा एकाग्र भइ लाग्न पाइने भइयो भनेर मन मनै गदगद थिएँ ।

काठमाण्डौँ जाने तयारीले मन फुरुङ्ग थियो। पछि अर्को खबर आयो भारतमा लकडउन भयो रे। अनि कोभिड १९ को संक्रमित पनि भेटियो रे। यो कुरा सेलाउन नपाउँदै चैत्र १० गते बेलुका काठमाण्डौँ बस्दै आएकी मेरी साथीको फोन आयो, ‘लौ भोलिबाट नेपालमा पनि लकडाउन रे सब बन्द हुन्छ। ‘ त्यसपछि बल्ल पो मैले महशुस गरेँ समय त निकै कठिन भैसकेको रहेछ। सरकारको यस्तो अपर्झटको निर्णयले मलाई जस्तै पक्कै सबैलाई असर पर्यो होला। तर पनि यस्तो निर्णय लिनु परिस्थितिको माग थियो ।अब बल्ल पो मन अत्तालिन थाल्यो। घरमा केही रासनको व्यवस्था थिएन न त पैसा नै साथमा थियो। लकडाउनको तेस्रो दिन थाहा भयो एउटा पसल खुल्छ रे त्यो पनि ७ बजे राति मात्र। अनि यताउता पैसा जोहो गरेर हतारिँदै दादा र म १५ मिनेटको बाटो हिंडेर पसल पुग्यौँ। कतै प्रहरीले गाली गर्ने त होइनन् भन्ने डर छँदै थियो।

हामी जस्ता मध्यमवर्गीय परिवारलाई त थेग्न गाह्रो भएको अवस्थामा हरेक दिन ज्याला मजदुर गरेर हातमुख जोड्नेलाई कति गाह्रो भइरहेको होला सम्झँदा पनि कहाली लाग्छ । अष्ट्रेलिया बस्ने मेरो भतिजीसँग कुरा हुँदा त झन् मुटु भक्कानिएर आउँछ । त्यस माथि नचाहि्दो अफवाह फैलाउनेको संख्या पनि उत्तिकै बढिरहेको छ अहिले। त्यस्ता समाचार भिडियो हेरेर विदेशमा बसिरहेका नेपाली आफन्तको मन कति रुँदो हो।अहिलेको अवस्थामा सोच्ने हो भने नकरात्मक कुरा बढी आउँछ तर हामीले सकरात्मकलाई बढी प्राथमिकता दिने हो भने हामी जस्तोसुकै नराम्रो अवस्थाबाट बाहिर निस्कन सकिन्छ ।

लकडाउनमा आफ्नाे र परिवारको लागि भने प्रशस्त समय पाइएको छ। व्यस्त दिनचर्याले थकित र सुत्ने खाने टुङ्गो नहुँदा बढेको मेरो ग्यास्ट्रिकको सही हेरचाह भएकाे छ। खाजा, खाना र सुत्ने प्रशस्त समय मिलेको हुनाले मेरो ग्यास्ट्रिक कम भइसकेको छ। आमा छोरी सँगसँगै व्यायाम गरेर फिट रहने कोसिस गरिरहेका छौं। हरेक दिन नुहाउने, बाहिर गएर घर फर्के पश्चात हातखुट्टा धोएर मात्र भित्र पस्ने लगायतका सानातिना तर निकै महत्वपूर्ण कुराहरुमा विशेष ध्यान पुर्याउन थालेका छौँ। कहिल्यै बारी नछिरेको मेरो ठूलबुवाको छोराले कोदालो लिएर मकै छर्न निस्केकाे देखेँ। लुगा धुन सम्म अल्छि गर्ने मेराे दादाले भाउजूलाई खाना बनाउन सघाउन थाल्नु भएको छ। त्यसो त भाग लगाएको खानाको गास समेत आनन्दले टिप्न नभ्याउने मेरो भिनाजु अचेल केटाकेटीसँग खेलेर उनीहरुलाई पढाउन थाल्नु भएको छ।

विश्वभरि फैलिएको महामारीले मन त सबैको अत्तालिदो हो, मेरो पनि अत्तालिन्छ। आफन्तहरु एक ठाउँमा, आफू अर्को ठाउँमा। कहिले लकडाउन सकिएला र भेट्न पाइएला भन्ने सबैलाई लागेको होला। कति परिवारबाट टाढा होलान्, कतिका श्रीमान् श्रीमती फरक फरक ठाउँमा होलान् भने कतिका छोराछोरी साथमा नहोलान् । सबै कुरालाई एका तर्फ राखेर यसलाई सुनौंलो अवसर मान्ने हो भने हामी यो समयलाई अझै उचित तरिकाले प्रयोग गर्न सक्छौँ। कति योजना थाति राखेर बसेका छौँ समय नपाएर। हेर्नुस् त यदि लकडाउनको अवस्था नभएको भए हामी केही न केही काममा दौडिरहेका हुन्थ्यौँ ।

यो समय आफ्नो सपनाको एक खुड्कीलो उक्लने सुवर्ण अवसर पनि हो । कतिलाई गितार सिक्न मन लागेको होला, कतिलाई अंग्रेजी सुधार गर्न, कतिलाई टिकटक बनाउन मन लागेको होला त कतिलाई खाना पकाउन सिक्न। त्यसैले मन लागेको कुरा गरेमा मात्र पनि यो समय सुनौंलो बन्नेछ। आजको थोरै दुरीले भोलि जिन्दगी भरिको साथ निर्धारण गर्न सक्छ। यही मिठो सपना देख्दै भोलि सबै कुरा अवश्य सही हुनेछ भन्ने आशा गर्दै बितिरहेका छन् मेरा लकडाउनका दिनहरु ।

मनैबाट देखिएका सपनाहरु अवश्य पूरा हुनेछन् ।

दीपशिखा राई

धरान

छात्राबासमा त्रास

बुढानिलकण्ठ स्कुलको छात्रावासमा बसेर कक्षा १२ को तयारी गरिरहेकी थिएँ। चैत्र ५ गते बेलुकाको खाना खान डाइनिङ हलतिर जाँदै गर्दा एस् .ई.ई परीक्षा सर्‍यो रे भन्ने गाइगुइँ हल्ला सुनियो। विद्यालयभित्रकाे ताजा खबर कि सूचना पाटीमा हुन्थ्यो कि त्याे समाचार भोलिपल्टको पत्रिकामा पढ्न पाइन्थ्यो। त्यो रात मैले कसरी खाना खाएँ पत्तै भएन। 

भोलि हुने भनिएको एस् .ई .ई परीक्षा स्थगित गरियो भनेपछि हामी यहाँ भित्र मात्र सुरक्षित र बाहिर कोरोनाको प्रकोप बढी सकेको अनुमान हामी मध्य जो कोहीले पनि लगाउन सक्थ्यौँ। खाना खाएर फर्किएपछि हामी सबैलाई घर पठाउने निर्णय भयो। याे अपर्झटकाे निर्णय त्यो बेला त्रासपूर्ण लागे पनि अहिले सम्झदा समयमै गरिएको परिपक्व निर्णय जस्तै लाग्याे। किन भन्ने जिज्ञासा उठेको होला! यसको उत्तर बिस्तारै दिनेछु। 

बिहानै ८ बजे सबैजना घर जानुपर्ने भएकाले हामी सबै साथीहरुले बाँचे भेटौँला भन्दै अङ्कमाल गर्‍यौँ। मेरो परिवार काठमाडौं नै बस्ने भएकाले मलाई घर जान त्यति गार्हो भएन। तर विभिन्न जिल्लाबाट त्यहाँ पढ्न आएका मेरा साथीहरुलाई घर जान त्यति सजिलाे थिएन। त्यसमाथि परीक्षा तयारीका लागि आवश्यक सामग्री बोकेर जान त झनै गाह्राे। तर लकडाउन भन्दा ४ दिन पहिले नै त्यो निर्णय भएकाले त्याे दुरदर्शी र सर्हानिय थियाे भन्ने लागेकाे हाे मलाई।

घर जादाँ कतै बाटोमै कोरोना लाग्ने त होइन भन्ने मनमा संकाेच पनि थियो। मैले त मानिसहरु कोरोनाबाट धेरै प्रभावित भइसकेको कल्पना गरेकी थिएँ। बुवाले मेरो मनकाे कुरा बुझेर यो सबै सतर्कता अपनाउन चालिएको कदम हो भनेर सम्झाउनुभयाे।

विश्वभरी नै माहामारी फैलिदाँ मन आत्तिए पनि लकडाउनले मलाई धैर्यताको पाठ सिकाएको छ। मेराे लागि यो समय परीक्षा तयारीका लागि वरदान बनेको छ। म जैविक विषयको विद्यार्थी भएकाले गणितलाई  खासै समय दिन सकेकी थिइनँ। यो बेला गणित विषयलाई दिदैँ आएकी छु। यस सँगसँगै अरु विषय पनि दाेहाेर्याउने फुर्सद मिलेको छ। केही समय विश्वभरका समाचारकालागि छुट्याएकी छु। त्यस्तै छात्रावासमा हुँदा कहिल्यै आफन्तहरुसँग गफ नहुने भएकाले अहिले त्यसकाे लागि पनि सजिलाे भएको छ। अष्ट्रेलियामा हुनुभएका दिदी र भिनाजुसँग नियमित गफगाफ र यताउताको खबर आदानप्रदान गर्न पनि भ्याएकी छु। केही समय लेखनलाई दिने सोच छ। यो समय अझ व्यस्त भएको अनुभूति गर्दैछु। 

प्रकृति बराल

काठमाडौं 

बुढानिलकण्ठ स्कुल

 

परदेशबाट छोरीलाई सम्झना

प्यारी छोरी प्रिन्शा,

तिमीलाई धेरै धेरै सम्झना र माया छ है। हुन त तिमी यस धर्तीमा पाइला टेकेको ३ महिना पूरा हुन लागेको छ। आजसम्म तिमीले बाबा देख्नु पाएकी छैनाैं। तिम्राे बाबाले पनि तिमीलाई देख्न पाएकाे छैन। यस क्षितिज पारीबाट छोरीलाई धेरै सम्झना त छदै नै छ। तिमीलाई भेट्न छिट्टै घर फर्केने तयारी पनि भइरहेको थियो। तर के गर्नु कोराेना भाइरसले गर्दा आज परदेशमै छु। हुन त सानी छोरीलाई  के थाहा संसारमा यतिबेला महामारी छ भनेर । अनि तिमीलाई यति धेरै सम्झिरहने, तिमीलाई यति धेरै माया गर्ने तिम्राे बाबा पनि परदेशमै छ भनेर । तैपनि तिमीलाई भन्न मन लाग्याे- म यहाँ सुरक्षितसँग बसेको छु र यहीबाट तिमीलाई धेरै धेरै माया पठाइरहेछु। यो महामारी सामान्य भए पछि समयले साथ दियो भने मेरी प्यारी छोरी भेट्न अवश्य आउनेछु।

यतिखेर घर पुगेको भए तिमी आफ्नाे बाबाको काखमा हुन्थ्याैं। के गर्ने समयले यस्तै बनायो। आशा गरेकाे छु यो महामारीबाट हामी सबैले छिट्टै मुक्ति पाउनेछाैं अनि हामी बाउ छाेरीकाे भेट हुनेछ,छोरीको त्यो हाँसेका मुस्कान आफ्नै आँखाले देख्न पाउनेछु। यो लकडाउनले गर्दा म एक जना मात्र होइन सबैलाई अन्धकार नै बनाएको छ। तपाईँहरू पनि कति जना आ-आफ्नो नानीबाबुहरुबाट टाढा हुनुहुन्छ हाेला। अनि मैले झै आफ्नो नानी, बाबुहरूलाई सम्झरहनुभएकाे होला। जाे केटाकेटीहरू सँगसँगै हुन पाउनुभएकाे छ उहाँहरु सबैलाई याे फुर्सदको समयमा आ-आफ्नो घर परिवारमा भएका बालबालिकाहरूलाई धेरै माया र साथ दिनुहाेला भन्न चाहन्छु।अनि उनीहरुकाे अझै बढी ख्याल राख्नुहोला।

म भने आफ्नी छोरीबाट धेरै टाढा छु। तिम्राे तस्बिरले धित् मर्दैन । त्यसैले तिमी भेट्ने दिन छिटै आवाेस् भनेर भगवानसँग प्रार्थना गर्दैछु।यो महामारीबाट मुक्त भए पछि छिटै नै छोरी बाबाको काखमा हुनेछन्।

उही तिमीलाई दिनरात सम्झरहने

तिमीलाई धेरै माया गर्ने बाबा ,

पर्वत जर्गा मगर

महाभारत, काभ्रेपलाञ्चोक

हाल  दोहा कतार

सपनाकाे चित्र

हेर्दा हेर्दै महिना बितिसकेछ। मलाई एउटा मात्रै पिर थियो, त्यो हो एक हप्तासम्म घरबाट बाहिर नै ननिस्कि कसरी बस्ने ! तर बिस्तारै दिनहरु बित्दै गए, कोरोना संक्रमित मानिसहरु पनि बढ्दै गए। सँगै लकडाउन पनि थपिदै गयो। अहिले त कति दिन बिते, आज कुन बार हो भन्ने समेतको पत्तो हुन छाडी सक्यो। 

यस लकडाउनले मेरो दैनिकी फेरिसकेको छ। अहिले सामान्य दिन जस्तो बिहानै सबेर उठेर कलेज जानको लागि हतार गर्नु पर्दैन। राति अबेला सम्म बस्ने बानी भइसकेको छ र अबेला सम्म बसेर होला उठ्न पनि ढिलो नै हुन्छ। न त होमवर्कको  चिन्ता, न त कुनै असाइनमेन्टको चिन्ता। केवल एउटा जिम्मेवारी छ, त्यो हो घरमा बसेर आफूलाई नै सुरक्षित राख्ने र अरुलाई पनि सुरक्षित राख्ने। यस्तो दिन आउला भनेर त मैले कहिले पनि सोचेको थिइन। त्यसैले अहिले त वाक्क पनि लाग्छ कति दिन घरमै बस्नु भनेर, तर चाहेर निस्किन पाउने अवस्था छैन। मेरो बानी अरु सामान्य दिनहरुमा बिहान ६:३० बजे घरबाट हिँडे पछि सधै राति ९:०० नबजि घर नआउने भैसकेको थियो। ती दिन हरुलाई अहिले झल्झली सम्झिरहेको छु। 

मम्मीले मलाई बेलाबेलामा”बाबु , तिमीलाई त एकदमै उकुसमुकुस भइ रहेको होला है, सँधै हिंडि रहने बानी” भनेर ठट्टा गर्नुहुन्छ। मलाई एकछिन आफूलाई देखेर पनि अचम्म लाग्छ। म एकछिन पनि घरमा नबस्ने मान्छे, अहिले यत्तिका दिन भइसके। तर पनि घरबाट बाहिर कतै निस्केको छैन।कसरी बस्न सकेको छु कतै नगइ भनेर आफैलाई हेर्दा एकछिन हाँसो पनि उठ्छ। तर समय परिस्थिति आइ सकेपछि मानिस त्यसैमा भुल्न र बाँच्न सिक्दो रहेछ भन्ने पाठ यस लकडाउनले सिकायो।           

धन्न विज्ञान र वैज्ञानिकले बेलैमा कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता माध्यमहरुको आविष्कार गरेका थिए , जसले गर्दा भुल्न सकेको छु। घरबाट बाहिर ननिस्किए पनि घरमै बसेर आफ्ना साथी भाइ-स्टमित्रहरुसंग भिडियो कलबाट कुरा गर्न पाइएको छ। साथी भाइहरुसँग  त अहिले भिडियो कल गर्दा नि के कुरा गरम् भनेर सोच्नु पर्छ।  सधैँ एउटै जस्तो दिन चर्या छ ।अझ पहिले जस्तो लोडसेडिंग भएको भए सायद लकडाउन अर्कै हुन सक्ने थियो। 

अहिले घरमा बस्दा कति नसकिएका कामहरुलाई सकाउने समय पाएँ ।अफिस र कलेजको कामहरु यस लकडाउनमा गरे। अहिले त त्यो पनि सकिएर के गरम् के गरम् हुन्छ। “समय पनि काट्नु पर्छ र समय त आफैँ गइ हाल्छ नि” भन्ने गरेको थिएँ। तर यस लकडाउनले मलाई एउटा महत्वपूर्ण कुरा सिकायो। समय बित्दा यत्तिकै केही नगरी बिताउने कि केही गरेर बिताउने ? त्यसैले यो लकडाउनको समयलाई किन खेर फालुँ भनेर म सिर्जनात्मक कुराहरुमा भुल्न थालेँ। चित्र बनाउन मलाई सानै देखि रहर लाग्ने।  त्यसैले हेरक दिन सुत्नु भन्दा अगाडि सानो वा ठूलो कुनै न कुनै चित्र बनाएर सुत्ने गरेको छु।  कहिले काहीं त्यो चित्र मैले सपनामा देख्ने गर्दछु त कहिले सपनामा देखेका कुराहरुलाई चित्रमा उतार्ने प्रयास गर्ने गरेको छु। यो लकडाउन सकिए पछि ती चित्रहरु हेर्दाको मज्जा नि अर्कै होला। 

आज भोलि म खेल्ने मैदान र खेलकुद विशेष गरि फुटबल निकै नै मिस गरिरहेको छु। फुटबल भनेपछि म हर बखत मैदानमा उत्रिन तयार हुने मान्छे, अहिले सब्बै ठप्पै भए देखि खेल्न नपाउँदा कहिले काहीँ रुन पनि मन लाग्छ। त्यति मात्र नभइ चैत्र महिना मै ठुलो राष्ट्रिय स्तरको अन्तर ल कलेज फुटबल प्रतियोगिता पनि संचालन हुन तयारी हुँदै थियो। मेरो कलेजमा अन्तिम वर्ष भएकाले यो वर्ष प्रतियोगिता जसरी पनि जितेर मात्रै कलेजबाट बिदाइ हुन मन थियो। तर यही लकडाउनले गर्दा त्यो सपना अधुरै हुने भयो। त्यो भन्दा पनि दुखको कुरा त घरमा बसेर प्रत्यक्ष प्रसारण हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरु , मेरो मनपर्ने फुटबल क्लबको खेलहरु पनि रोकिएको छ। त्यसले गर्दा पनि यो लकडाउन कहिले सकिएला जस्ताे भइरहेकाे छ।

लकडाउनमा कतै घुम्न, नयाँ कुरा देख्न सिक्न र अनुभव गर्न त सकिदैन। म प्राय ट्रेक गइराख्ने र सानो तिनो हाइकहरुमा जान एकदम मन पराउने मान्छे। त्यो पनि यो समयमा सम्भव भएन । त्यसको पनि दुखेसो मलाई आफैँस‍ँग छ। त्यसरी घुमेका पलहरुलाई सम्झेर मैले एउटा नयाँ काम थालेकाे छु। मैले आफ्नै ब्लग बनाए। हिड्दा डुल्दाकाे अनुभवहरु पोष्ट गर्दा अरु नयाँ ट्रेकर्सहरुलाई केही सहज पुग्ला कि भन्ने आशा गरेको छु।       

अनि विभिन्न खाले अनलाइन कोर्सहरु पनि गर्दैछाैं । अरु सामान्य अवस्थामा यति सबै थरी गर्न मलाई फुर्सद नहुन पनि सक्थ्याे। यस समयमा मैले आफ्नो बानीलाई बाँधेर नयाँ शैलीमा जीवन जिउन सिक्ने अवसर पाएँ। आशा गर्छु यी सब कुराहरु लकडाउन सकिए पछि पनि मैले निरन्तरता दिनेछु। 

सत्य नारायण महर्जन

लकडाउनमा ३० वर्ष

कोरोना भाईरसको कारण लकडाउन भएको डेढ महिना पुगिसक्यो।मलाई घरभित्र बस्न अतेस लागिसक्यो। बुवा पनि त्यसै भन्नुहुन्छ।भाइ पनि छट्पटिएर झ्याल बाहिर हेरेकाे हेरेकै गर्छ। मेरी आमा भने खुसी खुसी देख्छु।

लकडाउन हुनु अघि जीवन सामान्य लाग्दथ्यो मलाई मेरी आमालाई चाहिँ लकडाउन पछि बल्ल जीवन सामान्य लागेको छ अरे !

बुवा,म र भाइ सबै जागिरे। बिहान उठ्नासाथ हामी तीनै जनालाई काममा जान हतार हुन्थ्याे सबैभन्दा पहिला भाइ उठ्थ्यो, अनि केही बेरपछि म उठ्थे।बुवा चाहिँ हामी काममा गएको एक दुई घण्टापछि मात्र उठ्नुहुन्थ्यो। मेरी आमाचाहिँ भाइ उठ्नु भन्दा एक दुई घण्टा अगाडि नै उठ्नुहुन्थ्यो। सबैको उठ्ने समय फरक-फरक।

खाने समय पनि फरक फरक। अनि आमाले बनाउने बिहानको खाजा पनि फरक-फरक।

बुवालाई मधुमेह लागेकाले चिनी नभएको खाजा , म शाकाहारी भएकोले मासुअण्डा नभएको खाजा र भाइचाहिँ आलु नभइ नहुने भएकाले आलु भएको बिहानको खाजा। आमाले यसैगरी दिउँसोको खाजा र रातीको खाना बनाउनुहुन्थ्याे, हाम्राे खानपान अनुसार।

बिहान घरबाट निस्किएर काममा गएपछि घर फर्किने समय सबैको छुट्टा छुट्टै। बुवा घर फर्किदा म र भाइले एक निद्रा सकाइसकेक हुन्थ्यौ। भाइ साँझ ढल्नासाथ घर आइ पुगिसक्थ्यो। म रात झमक्क परेपछि घर पुग्थे। बुवा त जहिले पनि आधा रातपछि। आमा भने बुवा घर नआउन्जेल सुत्नु नै हुँदैनथ्यो।

लकडाउन भएपछि सबैको दिन चर्या डामाडोल भएको छ। सबैजना एकै समयमा बिहान उठ्न थालेका छन्। बिहानको खाजा पनि संगै बसेर खान थालेका छन्। लकडाउन पूर्व आमा एक्लै खाजा खानु हुन्थ्याे। खाना पनि एक्लै। राति बुवा घर आइपुगेपछि बुवाले खाना खाएर मात्र खानु हुन्थ्यो।

लकडाउन पश्चात हामी सबै मिलेर खाजा बनाउँछौ, खाना बनाउँछौ। घर सफा गर्ने, लुगा धुने र अरु सबै घरको कामहरु मिलेर गर्छौ। लकडाउन पूर्व घरको सबै काम आमा एक्लै गर्नुहुन्थ्यो। कुनै पनि दिन अल्छि मान्नु भएन। अहिले चार जनाले गर्नुपर्ने काम आमाले एक्लै गर्नुभएको महसुस हुँदा मन साह्रै गह्रुङ्गाे र खिन्न भएको छ।

बल्ल बुझे ! लकडाउन भएपछि आमा किन खुसी भएको हुनु भएकाे रहेछ भनेर। बुवा, म र भाइले आमाको हात सघायो भनेर चाहिँ पक्कै होइन। बिहान खाजा खाँदा पनि सबै जना संगै र राति खाना खाँदा पनि संगै भएकाले हो। आफ्नै आँखा अगाडि सबैजनालाई बिहान देखि रातिसम्म देख्दा आमाको मन ढुक्क र दिमाग नै शान्त हुँदोरहेछ।

बुवा,भाइ र मेरो लागि डेढ महिनाको लकडाउन बर्षौ जस्तो सास्ती लागेको छ। मेरी आमा त घरभित्रको लकडाउनमा बसेको तीस बर्ष बितिसकेको रहेछ।

शक्ति राज प्रधान

अमेरिका , न्यूयाेर्क

साँझमा हेर्ने कथा

म सुप्रिया चाम्लिङ, हाल बिज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनत छु। खासै लेख्न नजानेता पनि सानैदेखि आफ्नो दैनिकी अनि मनमा लागेका कुराहरु आफ्नो सानो डायरीमा अटाउने गर्थे। तर बिस्तारै पढाइ र अन्य कुरामा व्यस्त भएर केही कोर्न भ्याएकी थिइन। तर हालको देशव्यापी लकडाउनको अवस्था र संचालन हुन लागेको बार्षिक परीक्षा स्थगित भएको कारण पुन: डायरीलाई पल्टाएर केही कोर्ने मौका पाएकी छु। 

झापाको चारपानेमा बसेर अध्ययन गरिरहेकी म कक्षा १२ को परीक्षा अगाडि दिइने preboard सकेर practical exam भन्दा अघि केही दिनको बिदामा आफ्नै जन्मभूमि इलामको कन्याम पुगेकाे थिएँ। झापाको चैतको गर्मी अनि एकान्त कोठामा मन नअडिएर केही दिनको लागि इलामको चिसो मौसममा आफ्नो परिवारसँग समय विताउन घरतर्फ हानिएकी म सरकारको देशब्यापी लकडाउनको घोषणाले उतै उतै भए। सरकारले लकडाउनको समय बढाइरहँदा हाम्रो परीक्षा पनि स्थगित भएको समाचार पायौ। यस खबरले केही मात्रामा मन खिन्न भएता पनि लकडाउनको सकारात्मक पक्षलाई केलाउँदा थुप्रै फाइदाहरु हुने देखिए।

मेरा लकडाउनका दिनहरु प्राय जसो घरमा नै बितिरहेका छन्। सानैदेखि परिवारसँग खासै समय बिताउन नपाएकी मैले हाल पर्याप्त समय घरपरिवारसँगै बिताउने मौका पाएकी छु। दैनिक कलेजको कक्षा संचालन भैरहँदा गर्ने दौड्धुप अनि व्यस्तताकाे भारी हाल बिसाउन पाएकी छु। हरेक दिन किताबको किरा भएर सानो कोठाको चार दिवारभित्र आफूलाइ थुन्न बाध्य म आज आफ्नै ठाँउको खुल्ला वातावरणमा प्रकृतिलाई नजिकबाट नियाल्दै, रमाउँदै दिन बिताउँदैछु।

मेरो हरेक दिनको सुरुवात पूर्वकाे अन्तुबाट उदाउने झुल्के घामसँगै सुरु हुन्छ। घरको सरसफाइ, केही समयको morning walk , भान्साकोठाको कामले बिहानीको समय बितेको पत्तै हुन्न।दिउँसोको समयमा आफ्नो परीक्षाको तयारीलाई नै दिने गरेकी छु।

हिजाेआज “हेर्ने कथा” का शृङ्खलाहरुको लागि बेलुकीको केही समय छुट्टाएकि छु। जसबाट मैले सिङ्गो नेपालका कुनाकाप्चामा लुकेर रहेका विभिन्न मानिसहरुको भोगाइलाई नजिकबाट बुझ्ने अवसर पाए। यी शृङ्खलाहरुले नेपालको विभिन्न ठाउँहरुका वास्तविक जीवनशैली र अवस्थालाई कथाको माध्यमबाट जस्ताको त्यस्तै झल्काउनुका साथै कुनै न कुनै ढंगले प्रेरणाको श्रोत बनेको पाए। “हेर्ने कथा” का श्रृङखलाहरु पनि यस समयमा मेरो प्रिय साथी बन्न पुगेका छन् ।सायद मलाई लकडाउनकाे यो समय नमिलेको भए कसैले पनि हेर्न छुटाउनै नहुने यी कथाहरु हेर्न पाउँदिन थिए होला। 

अनि आफ्ना साथीहरुसँग कलेजमा बिताएका ती रमाइला पलहरुको याद ताजै छ्न्। साथीहरुको न्यास्रो लाग्दा फोन, मेसेज गरि रमाइलो ठट्यौली पनि गर्ने गर्छौ। यसरी नै कायमै छन् आजकल साथीहरुसँगका रमाइला साथहरु पनि….।
अन्त्यमा, टि.भि, रेडियो र सामाजिक सन्जालमा आइरहने समचारले विश्वमा नै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको खबरले मन आत्तिन्छ। त्यही पनि आउने दिनहरुमा यस महामारीको चाडै नै अन्त्य हुन्छ र सबै अवस्था सामान्य हुनेछ भन्ने आशासँगै बितिरहेछन आजकल मेरा दिनहरु..।

सुप्रिया चाम्लिङ

इलाम

भाउअ !

‘भाउअ, खै के के हो के के भाईरस आको छ रे त्यहाँ त, घर आइजा न त।’ आमाले एका बिहानै फोन गरेर अस्ति नै भन्नु भएको थियो। त्यो बेला लकडाउन सुरु भैसकेको थिएन। गाडी, प्लेन सबै चलिरहेकै थिए ।

मैले मन मनै हिसाब गरे, यहाँबाट नेपालगन्ज वा सुर्खेत सम्मको गाडी भाडा १२०० देखि १५००, बाटोमा खाना, खाजा नखाम्ला भनेर त्यो जोडिन। अनि नेपालगन्ज, सुर्खेतमा होटलमा खाजा खाना बस्न गरेर एक दिनको कम्तिमा पनि  १००० छुट्यायो भने पनि प्लेनको टिकटको लागि कति दिन बसिन्छ भनेर एकिन नभएकाले अन्तमा धेरै नै हुन्थ्यो।हाम्राेतिर अझै बाटाे पुगेकाे छैन। नेपालगन्ज वा सुर्खेत देखि हुम्लासम्मको प्लेनको भाडा त भन्नै परेन, अरु बेला ८ देखि १०,००० तर प्राकृतिक प्रकोप, विपत्ति परेको बेला अनि दशैको बेला भने १५,००० सम्म। फेरी हुम्ला सदरमुकाम एयरपोर्ट भएको ठाउँबाट हाम्रो गाउँ जान अर्को एक दिन भरि हिड्न पर्ने। जम्मा जम्मी घर जान एक हप्ता, पछि काठमाण्डु फर्कन पनि एक हप्ता । घर जान लगभग २५,००० रुपैयाँ फिर्ता हुँदा पनि त्यतिनै खर्च ।

‘आमा, यो त्यति ठुलो भाईरस हैन, ६/७ दिनमा सबै ठिक हुन्छ, फेरि घर आउन त्यत्रो समय काठमान्डु फर्कन त्यत्रो समय, अनि खर्च नि धेरै हुन्छ, त्यसैले आउँदिन म’ मेराे जवाफ यस्ताे थियाे।’ल त ल, त्यसोभए निको, राम्रो बस्नु । तेरो चिन्ता लागिरहन्छ। यहाँ त घरको रेडियो नि बिग्रेको छ, मोबाइलमा नि राम्रोसँग टावर (नेटवर्क) हुँदैन, टावर भएको बेला मोबाइलमा चार्ज हुँदैन, यो त हिजो सोलारमा चार्ज गरेर आज तँ सँग कुरा गर्न पाएको हो, त्यही भएर हिजो बेलुकी सोलार नै बलेन, अध्यारै बस्न पर्यो।’ फोन राख्नु अघि फेरि एक पटक ‘आमाले भाउअ निको, राम्रो बस्नु है’ भन्नु भन्नुभएको थियो । 

फोन राखे पछि आमाले ‘भाउअ’ भनेको फेरी कानमा गुन्जिरह्यो। यो शब्द मलाई यति प्यारो कि सहरमा आफ्नो छोरालाई मायाले ‘बाबु’ भनेजस्तै हाे। तर शब्दसँग पनि आत्मीयतामा हुँदाेरैछ, हजारौ गुणा नजिकको, न्यानो अनि प्यारो पनि।

अहिले सम्झिराको छु, आमालाई ‘६/७ दिन मा भाईरस सकिन्छ अनि सबै ठिक हुन्छ, मेरो चिन्ता गर्न पर्दैन’ भनेको थिए। तर आज लकडाउन भएको नै २४/२५ दिन भइसक्यो, अझ कति दिन थप हुने हो थाहा छैन। छोराले ढाट्यो भनि आमाले सोच्नु भएको होला। आमाले घर आइज भनेको बेला घर जान मन कस्को पो हुन्न होला र! तर सबै परिस्थिति हेर्न पर्दो रहेछ । आफ्नो अवस्था, घरको अवस्था पनि हेर्न पर्दो रहेछ। यो एक पटक घर जाने आउने खर्चले त मलाई काठमान्डुमा यति महिनाको खर्च पुग्ने रहेछ भनेर हिसाब गर्नु पर्दो रहेछ । आमा बुवाले खुलेर घर आइज भन्ने अवस्था छैन, आफू उत्साहित भएर म घर आउँछु भन्ने अवस्था पनि छैन । 

एस. एल. सी. दिएर काठमाण्डु पढ्न आएको नि ६/७ बर्ष भैसक्यो, यो बिचमा ६/७ ओटा दशैँ पनि आए। गाउँ भने २/३ पटक मात्र गइयो। कुनै दशैमा खर्च नपुगेर ३०-४० दिनको बिदा हुदा पनि कलेजमा जम्मा १० दिनको मात्र बिदा छ, ‘आउन जान मात्र ठिक्क हुन्छ, घरमा बस्न नै पाउँदिन होला’ भनेर ढाँटेर घर गइएन। कुनै बेला पैसा भएर पनि नेपालगन्ज, सुर्खेतमा प्लेनको टिकेट नपाएर रित्तो बसमा मन भारी बनाएर काठमान्डु नै फिर्ता हुन परेको थियो। अहिले घर परिवार भन्दा टाढा छु, एक्लो छु, कोठामा बन्द छु, आमासँग अलि अलि ढाँटेको छु, दशैँमा जस्तै लकडाउनमा पनि।  

   पदम रावल

हुम्ला

                                                   

सिन्कीकाे झाेल

गाउँमा पालुवाका पात र पाकेका काफलले सम्झदै होलान् मलाई ।सम्झिन त म पनि सम्झिन्छु नि तर बिपतमा अड्किदा  प्रकृतिसँग आमने-सामले हुने मौका गुमाएँ कि मैले ? आफूले आफैलाई प्रश्न ताक्दै टोलाइरहन्छु||

लकडाउनको पालना बङ्गलामुखी ललितपुरको एउटा गल्ली घरको पहिलो तलामा बसेर हुँदैछ। गाउँ जान कम्मर कस्दा-कस्दै महँगी र समस्याले थलिएको सहरमै अड्किन पुगें।

अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थासँग आबद्ध छु। देशमा कोरोनाले माहोल तात्न थालेपछि संस्थाले आकस्मिक बैठक बसाले`Work From Home´रणनीति लागू गरि संस्था बन्द गरेकै दिन लकडाउन पनि भयो।आवतजावत रोकियो, सवारी आवागमन रोकिए। म पनि यतै अड्किएँ।

सुरुवाती २/४ दिन खुबै आत्तिएँ। बिस्तारै धैर्यवान् बन्न सकिँदो रहेछ।कोठामा धन्न एक्लै बस्नुपरेको छैन र केही सहज भएको छ।सँगै छौं बच्पनदेखिको हितैषी मित्र अमर चलाउने र आफ्नै भाइ टोपु। तर भाइ पब्जी गेमको किरो उसकाे बोल्ने फुर्सद अलि कम मिल्छ। मित्र अमर बडो रसिलो मान्छे। बेला-बेला मुड अफ भएपनि उसका गतिविधिले हँसाइहाल्छ्न।साह्रै बोरिङ हुनै दिदैनन् उनले ।

 लकडाउनले स्वाभाब नै बदलिदिएको छ मेरो। बिपतमा संयममित र धैर्यवान बन्न प्रेरित गरेको छ यो घडीले। फोनबाटै भएपनि परिवार र आफन्तसँग बैचारिक भाव बढेको छ। फुर्सदिलो समयले पारिवारिक दायित्व बोध र स्नेह बोध हुँदो रहेछ।फलस्वरूप पहिलेको तुलनामा दोब्बर तेब्बर जस्तो फोन थिच्न मेरा औंलाहरु डाइलप्याडतर्फ हौंसिरहन्छन।

महङ्गिले चुलीएको ठाउँ राजधानीको छेउमै छु। त्यसै त त्यस्तो महङ्गि नै थियो झन लकडाउनले त बाबै। खाउँ ५०० रुपैयाँको तरकारीले पनि १ छाक टार्न हम्मे हम्मे, नखाउ भोकै बस्न पनि नसकिने।गाह्रो छ गाह्रो।पोहोरै पठाइदिएको सिन्की खोजेर टङ्ग्रङ्ग झोल बनायो।भात निल्न मुस्किलै पर्छ। उसैबखत घरबाट फोन आउँछ। सुनिन्छ`मोही खाने कोही नभएर ठेकी नै मलखातमा घोप्ट्याइदिनुभयो रे ममीले। कोइरालाे र हरियो केराउको अचार बढी भएर भैसीले खायो रे।’ यता भात निल्नै नसकी आधामै हात चुठेर कानमा इअरफोन कोचार्छु र पुनः डिउटी सुरु हुन्छ मेरो युट्युब, फेसबुक, इन्टाग्राममा…..।

गाउँ, मेरो गाउँ !! यहाँदेखि टाढा झन्डै २ दिनको लगातर यात्रापछि मात्रै पुगिन्छ, कर्णाली प्रदेशको दैलेख जिल्ला। डुङ्गेश्वर गा.पाको वडा न.२ लाँकुरी सेर्माकोट।  यो बसन्त ऋतुको स्पर्श गर्ने गतिलो मौका फुत्किएको आभाश  मात्रै भएको छ।

राज कुमार बुढा

ललितपुर 

यतै अड्किए..

के भनेर सुरु गरुँ ! 

एक महिना भन्दा बढी भइसक्यो कोठामा बसेको पनि अब त। घर जानको लागि भनेर काम छोडेकाे थिएँ। तर खै! कस्तो समय पर्‍यो! मेरो क्यान्सिलेसन पेपर र पासपाेर्ट  म सम्म नआइपुग्दै सबै तिर यस्तो महामारी फैलियो। म अलपत्र परेँ। नेपालको एयरपोर्ट पनि बन्द भयो । यताको पनि बन्द भयो ।

दिन भरि कोठामा बस्यो, खायो, सुत्यो यतिमै बितिराको छ दिनहरु। घरमा कुरिरहेका छनर आफ्नाहरुले। बहुला हुन्छु झैँ लाग्छ बेलाबेलामा । सानी छोरी छ मेरो। उसँग कुरा गर्छु सधैँ अहिले त। उसलाई हेरेर भए नि खुसी लाग्छ । 

राम्रैसँग ढिलो चाँडो घर पुग्छु जस्तो लाग्छ। साेच्दा मनमा खुसी पलाएर आउँछ। तर मेरो आफ्नो मान्छेहरूले म यहाँ अड्केको भएर होला ‘घर जान मन गरेको छैनस्’ भन्छन्। अनि धेरै मन दुख्छ ।

२-४ वर्ष दु:ख गरम्ला एउटा सानो घर बनाउने ठूलो चाहना थियो। तर परिवारिक माहोल नमिलेर म सबथाेक छोडेर घर जाने निर्णयमा पुगेकी थिए । थाहा छैन मलाई के सोच्छौ तिमीले तर यो बुझ्नु कि यस्तो डरलाग्दो समयमा मैले तिम्रो साथ र हौसला चाहेको छु मनु। ६ महिना सम्म म यहाँ बस्नु पर्‍यो भने पनि तिम्रो कमाइ माग्दिन ‘मलाई यहाँ खानलाउन छैन’ भनेर । तिमी जहाँ छौ राम्रो सँग बस्नु, खानु, आफ्नो ख्याल राख्नु!

जसले जे सुकै भनुन् ,म सधैँ ईश्वरसँग यही कामना गर्छु कि सबै जना सही सलामत रहोस् । यस्तो दुखको घडीमा ‘राम्रोसँग बस्नु।पिर नगर्नु। गाह्रो सारो पर्‍यो भने म छु नि चिन्ता नगर’ भन्नु को साटाे मलाई नै पो नराम्रो भन्छौ। बरु साथी भाइले सम्झाउछन पिर नगरि बस ,सबै ठीक हुन्छ अनि आरामले आउनु भनेर।उनीहरूले यसरी ‘नआत्तिकन बस्नु’ भन्दा मन ढक्क हुन्छ । यस्ताे लाग्छ- पैसा थोरै कमाए होला जिन्दगीमा तर मान्छेहरु कमाको रहेछु ।

आशा त मरेको छैन अझै सबै थोक सहज र अनुकुल होस् ।हामी जस्ता अस्तव्यस्त  भएकाहरु सकुशल आफ्नो घर परिवारसँग भेट्न पाउ ।जो जहाँ हुनुहुन्छ राम्रोसँग बस्नु होला ।

रेखा चौधरी

यू.ए.इ 

मकै पोल्ने आमालाई एउटा पत्र

प्यारी आमा,

सादर ढोग तथा नमस्कार !

आराम छु, आरामको कामना गर्दछु । तर मलाई लाग्दै छ, तपाईंलाई मनमा एकरती पनि आराम छैन । लकडाउनले गर्दा मकै पोलेर बेच्न नपाएपछि तपाईंलाई हातमुख जोर्न मुस्किल हुँदै गएको होला। तपाईंले वर्षौदेखि मकै पोल्ने रानीबारीकाे उकालो अहिले सुनसान छ। बिहान बेलुकी तपाईं पनि त्यो सन्नाटा हेर्न आउनु भएकै होला। बुढेसकालले चाउरी परेको तपाईंको छाला र तनलाई अराम त भएको होला तर मन भुटभुटिरहेकै होला ।

आमा, यो शब्दरुपी आवाजलाई तपाइँले चिन्नुहुन्न। तर, मेरो मुहार देख्नुभो भने पक्का चिन्नुहुन्छ। म त्यही छोरा हुँ, जो रानीबारी उकालोमा तपाईंले पोलेको मकै खान आउँथ्यो। आमा साइनोले कुराकानी गर्दथ्यो अनि दुई घोगासम्म मकै खान्थ्यो। आमाले मलाई यो विकराल परिस्थितिमा चिन्नुपर्ने कारण पनि छैन। शहरले बेला बेला दु:ख दिन्छ भन्ने कुरा तपाईंलाई राम्रोसँग थाहा थियो। यो पालिको दुख तपाईंले भोगेको भन्दा धेरै फरक पाउनुभो होला है ?  यो कोरोना भाइरसको त्रास र त्यसपछिको परिघटना ज्यादै क्रुर भएर आएको छ। तपाईंलाई यो काठमाडौं सहर अरु बेलाको तुलनामा ज्यादै स्वार्थी र अमानवीय लागेकाे होला। विपदमा साथ र सहयोग गर्ने हाम्रो सामाजिक मान्यता र संस्कारको थोरै अवशेष पनि यो पालि सकिएको अनुभूती गर्दै हुनुहुन्छ होला।

सहर पुन: दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि ज्यादै क्रुर भएर आएको छ। तपाईंले एक घोगा मकैबाट १० रुपैँयासम्म नाफा हुन्छ भन्नु भएको थियो। अहिले त त्याे पनि रोकिएको छ। रानीबारी गेटमा बदाम बेच्ने आमाको हालत पनि तपाईंको जस्तै त होला नि है? लकडाउन भएको पनि एक महिना पुग्न लागेको छ। तपाईंहरुको जीवन गुजारामा धेरै गाह्रो हुँदै गइरहेको होला।  यो विशाल सहरमा तपाईंहरु जस्ता स्वाभिमानी आमाहरु धेरै हुनुहुन्छ। सबै आमाहरुलाई पक्कै गाह्रो भएको होला। मलाई थाहा छैन तर यस्ताे लाग्छ, तपाईंहरुसँग समाज र राज्यसँग कुनै गुनासो छैन। तपाईंहरु आफ्नो स्वाभिमानमा विश्वास गर्ने मान्छे। आफ्नो कर्ममा विश्वास गर्ने मान्छे।बरु आफ्नो आँशु पिउँदै दोषजति नियतिलाई दिनुहुन्छ होला। किनकी तपाईंहरुलाई थाहा छ आफ्नो ब्यथा आफ्नै मनले जति अरु कसैले बुझ्दैन ।    

यतिबेला म तपाईंहरुलाई सम्झिरहेको छु। सरकारले तपाईं जस्तै परिवारहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ। तपाईंले राहत प्याकेज पाउनु भयो कि भएन?  मेरो मनले  तपाईंले त्यो राहत प्याकेज पाउनु भाको छैन झैँ लागेको छ। राज्यले तपाईंको दैलो पत्ता लगाउन सक्दैन। तपाईंको दैलो पत्ता लगाउन राज्यको आँखाको चस्माको पावरले काम गरेको छैन। यो बेला तपाईंलाई सरकारप्रति आशा पनि लागेको होला। यदि तपाईंले मकै मात्र पोल्ने वातावरण भएको भए अरु हुनेखानेले गरेजस्तो सरकारसँग आशा पनि राख्नु हुन्थेन होला नि।

 कोरोना भाइरसपछिको विकराल अवस्थामा लाजिम्पाट रानीबारी क्षेत्रको तपाईं जस्तै तीनजना पौरखी स्वभिमानी आमाहरु झलझली सम्झीरहेको छु। रानीबारी बन छिर्ने गेटमा बदाम बेच्ने आमा  र सांग्रीला होटेलको कर्नरमा साग बेच्ने आमा। तपाईं तीनजना आमाहरुलाई पक्कै पनि यो लकडाउनले तीतो पीडा दिएको महसुस गरेको छु। म पनि तपाईंले मकै पोल्ने उकालोनिर डेरामा बस्छु। म बस्ने घरमा हप्तामा घर सफा गर्न एकजना दिदी आउनुहुन्थ्यो। आजकल उहाँ पनि लकडाउनले गर्दा आउनुभएको छैन। उहाँको पनि हात मुख जोर्न मुस्किल भएको होला नी?

 आमा, धनीमानीहरुको घरमा घरायसी काम गरी जिविका चलाउने सबै आमा दिदीबहिनीहरुका लागि लकडाउन अभिशाप भएकाे हाेला । आमा, यति धेरै चिन्ता गर्ने यो छोरोले तपाईंले मकै पोल्ने ठाउँको नजिकमा रहेको मासु पसलमा, तपाईंको अवस्था र बसाइको बारेमा सोधेको थियो। माथितिर भाडामा बस्नु हुन्छ भन्ने सुनेको हो, हामीलाई थाहा छैन भने। आजको दिनसम्म तपाईंको भावनात्मक छोरो दुई छाक खाना खान सक्ने हैसियतमा छ। यो लकडाउन अवधिभर तपाईंलाईसमेत केही सहयोग गर्न सक्ने अवस्थामा छ। तर आमा एउटा अलौकिक कथा जस्तो छ, तपाईंलाई भेट्ने।

आमा, यो भन्दा ठूलो विडम्वना के होला है ? भोक धेरै शक्तिशाली हुन्छ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ।यदि तपाईंलाई बुढेसकालले नगाँजेको भए धेरै पहिले छोडिआएको गाउँमा हिँडेर जानुहुन्थ्यो होला । मध्य राति लकडाउनलाई छल्दै भाले बास्दा थानकोट कटेर आगाडि निक्कै पर पुग्नुहुन्थ्यो होला। अहिले त्यो आँट गर्नुभएको छ कि छैन कुन्नि!

अन्तमा,  आमा  तपाईंले मकै पोल्ने स्थानको वरपर फेरि पनि एक पटक तपाईंको सोधीखोजी गर्नेछु । तपाईंको अवस्थालाई फेरि एक पटक पत्ता लगाउने कोसिस गर्नेछु । आमा भेट्न सकिएन भने, खोइ के गर्नु ? यसै गर्छु भन्ने, कुनै सोच र योजना छैन । कामना गर्छु छिट्टै लकडाउन सकियोस्। र तपाईंको हातले पोलेको मकै खान पाइयोस् ।

उही तपाईंको भावनात्मक छोरो,

 मिनेश गुरुङ

कास्की

हाल: लाजिम्पाट 

उफ् जिन्दगी !

भनिन्छ जिन्दगीमा केही गर्ने, केही बन्ने, सपना सबैले देखेको हुन्छ। तर ती सपनाहरू कति पूरा हुन्छन्, त कति हुँदैनन् ।
त्यस्तै मैले पनि जिन्दगीमा केही बन्ने र बनाउने सपनाहरु सजाएको थिए। के ती सपनाहरू पूरा होलान् ??   

 सामन्यतया सपनाहरू ढिलो चाडो पूरा हुँदै जान्छन् भन्ने आश हुन्छ, हुन्थ्यो। तर अहिलेको अवस्थामा मेरो सपनालाई अन्न्योलमा पारिदिएको छ। कोरोनाले गर्दा ज्युँदो रहुँला या नरहुँला ! रहे पनि स्थिति कस्तो होला? माहोल कस्तो बन्न्ला? स्थिति सामान्य बन्न्ला कि जटिल! यी सबै सबै कुराहरु अन्न्योलमै छन्।

हाल म टर्कीमा छु। आज लकडाउन भएको पनि ३ हप्ता भैसकेको छ। आजको दिनसम्म दुई हजार बढीले ज्यान गुमाइसके। ९ हजार जतिमा संक्रमण देखिएको छ भन्ने सुनिएको छ। यहाँ हामीहरुको काम कम्पनी पनि बन्द र ठप्प छ। सडक  पसल  गाडीहरू  खासै चलेको छैन। नेपालको खुब याद आइरहेको छ बाबा, ममी, गाउँघर,  मेलापात, साथीभाइहरुको पनि खुबै याद आउँछ ।
चरी जस्तो उडेर जान मिल्ने भएको भए कस्तो मजा हुन्थ्यो हगि

परदेशकाे ठाउँमा निश्चित जग्गा भित्र गुम्सिएर थुनिएर बस्नु साह्रै उकुसमुकुस र दिक्क लाग्दो भएको छ। दिनहरु सिर्फ खाना खाने र सुत्नेमा मात्र सकिएका छन्।मनमा अनेक कुराहरूले प्रश्न उत्तर गरिरहेका छन्। के कोरोना (काेभिड १९ ) को उपचार सम्भव  होला ? के औषधि बन्न सक्ला ? आखिर कतिसम्म यसरी लुकेर बस्ने होला? यसरी जिन्दगी कहिलेसम्म चल्ला? उफ्फ!
जतिसुकै इज्जत धन दाैलत कमाएपनि आखिर  सबैभन्दा ठूलो जीउ ज्यान रहेछ। त्यसैले मानिसहरू कमाउनलाई थाती राख्दै प्राण जोगाउन तिर लागिरहेका छन्।

           

यसोद राना मगर

टर्की

निकुञ्जकाे लकडाउन

हिजोआजको बिहानी सँधैको भन्दा भिन्न छ । सँधै सवारी साधनको चर्काे हर्नले बिउँझिने म आज चराचुरुङ्गीकाे मिठो चिरबिरले बिउझिएँ। लकडाउनले गर्दा सवारी साधनको आवाज स्वाट्टै कम भएपछि यहाँ विहानीपख मयूर, ढुकुर, चिबे, सुगाहरुले चिरबिर गरेकाे खुब सुन्न पाइन्छ। आफ्नै कार्यालय वरिपरि नै मयुरकाे नाच, गैँडा, चित्तल, रतुवाकाे चरण हेरेर मन आनन्दित भएर आउँछ । याे हेर्दा लाग्छ, लकडाउनले जति मान्छेलाई बाँधेको छ, त्यति नै चराचुरुङ्गी, वन्यजन्तुलाई भने फुकुवा गरेकाे छ ।

 हुन त निकुञ्जको जागिरमा कतिखेर कहाँ के समस्या आइपर्छ र कता कुद्नु पर्छ पत्तै हुन्न । देश दुनियाँ लकडाउनले ठप्प हुँदा मेराे जागिरमा भने झन ब्यस्तता बढेकाे छ । हामी निकुञ्जको कर्मचारी याे बेला झन चनाखाे भएर बस्नुपर्ने कारण भनेकाे चोरी शिकारी जस्ता गैरकानुनी क्रियाकलाप हुन नदिनका लागि हाे । त्यस्तै, मानव र वन्यजन्तुबीचको द्धन्द व्यवस्थापन गर्नु र गाउँघरमा छिरेको चित्तल, रतुवा, अजिङ्गर आदिको उद्धारका लागि सँधै तत्पर रहनु पनि हाे । गाउँसहरमा मानिसकाे आवतजावत घटेका बेला जङ्गली जीवजन्तुलाई बस्ती छिर्न सजिलाे भएकाे छ। उनीहरुलाई के काे लकडाउन? तिनीहरुको उद्धारमै म लगायत निकुञ्जका कर्मचारीहरुकाे केही समय बित्छ। 

काेराेनाकाे त्रासका बिच मानिसहरु आ-आफ्नाे घर फर्केसँगै, अहिले गाउँघरमा मान्छेहरुकाे संख्या बढेको छ । दसैं तिहारमा जस्तै भिडभाड छ यहाँ। सबैजना फुर्सदमा छन् जसका कारणले लकडाउनमा पहिले भन्दा धेरै मान्छेहरु दिउँसोतिर बिना अनुमति निकुञ्जभित्र घाँस, दाउरा, निउरो, काँडे कर्कलो, कुकुर डाइनो आदि तरकारी खोज्न छिरिरहेका हुन्छन्। यी मानिसहरुलाई  नियन्त्रण गर्ने, कारबाही गर्ने, व्यवस्थापन गर्ने काम गर्दागर्दै अरु केही सोच्ने, कसैलाई सम्झिने फुर्सदै हुँदैन । यसरी सयौँ मानिसहरु अवैधरुपमा निकुञ्ज प्रवेश गर्दा तस्करहरु सलबलाउने हो कि भन्ने चिन्ता अर्काेतिर छँदैछ ।  

बर्षाैँदेखिको मानव – वन्यजन्तुबिचकाे असमझदारीको समस्यालाई लकडाउनले नि छुन सकेन । वन्यजन्तु र माडीबासीहरुको असमझदारीलाई मेटाउन सकेन। हरेक दिनजसो मानब वन्यजन्तुको द्वन्दका घटनाहरु यो कानमा परिरहेको हुन्छ । यति समस्या हुँदाहुँदै पनि खुला जंगलमा गैँडा, चित्तल, रतुवा, भालु आदि वन्यजन्तुहरु र मैना, सुगा, तिबे, चाँचर आदि चराहरु लकडाउनको वास्ता नगरि रमाएकाे देख्दा आनन्द अनुभव हुँदोरहेछ । जे होस्, यो लकडाउनले सबैतिर छोएपनि, मेरो याे निकुञ्जभित्रको कामलाई भने छाेएकाे छैन। म झन् अरुबेलाभन्दा बढ्तै चनाखाे भएर ड्युटीमा खटिरहेकाे छु।

स्‍मृति लामा

चितवन

रेञ्जर, चितवन राष्ट्रिय निकुञ्ज

तङ्ग्रिएकाे घरगाउँ

लामो समय भयो  लकडाउनले घेरेको अनि काेराेनाले विश्वलाई बिक्षिप्त बनाएकाे। आनन्दी मनले बस्ने दिन कहिले आउँला? शुभ समाचार सुन्ने दिन कहिले आउँला?

आजकाल हरेक दिन अनुहार किताबमै जाेतेरै बित्छ । साथीभाइसँग चिया अड्डामा भेट नगरेको र तातो चियासँगै मिठा मिठा गफ नगरेको पनि हप्तौ भैइसक्यो । अहिले  मानिसहरुलाई आ-आफ्नै गाउँ जान पाए भन्नेमात्रै भएकाे छ। कतिपय त हतार हतार गरिकन गाउँ पनि पुगिसकेका छन्। मुसाले खनेर थाेत्राे पारेकाे घरले फेरि घरमालिक भने पाएकाे छ। कुनै ठूलै चाडबाड आए झैँ गरि मानिसहरु गाउँ फर्केसँगै उजाड गाउँ फेरि तङ्ग्रिएकाे छ। ज‌ङ्गल, बारीतिर ढकमक्क फलेका काफल, चुत्रो, किम्बु, मछाइनोले बल्ल खाने मानिस भेटेकाे छ याे पालि।  

प्रकृति वसन्त ऋतुले सजिएकाे छ। चराचुरुङ्गी र जीवजन्तुहरु आ-आफ्नै दुनियाँमा रमाइरहेका छन् । शक्तिशाली भनिएकाे मानिस भने आफ्नै घरमा थुनिएकाे छ। एउटा सानो जिवाणुले मानव जगतलाई आक्रान्त बनाएकाे छ । धनले मात्र जीवन नचल्ने रहेछ भन्ने ज्ञान फेरी एकपटक मानव जगतले पाएकाे छ ।  

गाउँघरमा मानो छरी मुरी फलाउन सबै जना ब्यस्त छ्न। खेतबारीहरु मलको थुप्राेले कालो हुनेगरि ढाकिएको छ। हल गोरु र ट्रयाक्टरले बाँझा बारीहरु जाेतिएका छन्। उता सहर ठप्प हुँदा यता हाम्राे गाउँका मानिसहरुलाई भने काेराेना भाइरसकाे त्रासदीले उतिसाराे छाेएकाे जस्ताे देखिदैँन। आखिर, बिपद परि आउँदा सबैभन्दा सुरक्षित चाहिँ आफ्नै घरगाउँ लाग्ने रहेछ ।  

भलै गाउँमा याे महामारीकाे त्रास कम महसुस गरिएकाे हाेस् , सहरकाे कहर देखेर कसकाे मन आत्तिदैँन र? यस महामारीका कारण हजाराैँकाे रोजीरोटी गुमेकाे छ। अनि,दिनभर काम गरेर साँझ बिहानकाे छाक टार्नेहरुकाे बिजाेक देखेर कसकाे मन नकुँडिएला ? याे महामारी हटेर फेरी चयनकाे शास फेर्ने दिन छिट्टै आओस् ।

प्रकाश काफ्ले

काभ्रे

 

कास हिँडेरै पुग्ने गन्तव्य हुँदाे हाे…..

काेराेना कहरको बेला याे विरानाे सहरबाट तपाईं सम्पूर्णमा नमस्कार।

विश्वकै शक्तिशाली अनि विकसित राष्ट्रमा पाइला टेक्न पाएँ भनेर जिन्दगीमा कहिल्यै फुर्किनँ। हाे, याे पक्का सत्य हाे। प्रवासी भएदेखि परिस्थितिले मानिसलाई दासी बनाउँछ भन्ने कुरा यकिनमा परिणत भएकाे छ। जीवन संघर्षमय हुन्छ भनेर सबैलाई भने पनि संघर्ष गरेर कहिल्यै नहारेका ती विगतहरु वास्तवमै आ…हा थिए। अहिले म आफ्नाे जीवन बलिरहेकाे एक मैन बत्तिसँग तुलना गर्न बाध्य छु। आफू नै हडबडाए आफ्नाे आडमा ढाडस मार्नेहरुकाे अवस्था के हाेला भन्ने डरले सधैं आफैँलाई ढाट्ने गरेकी छु।
प्रवासी भएकाे २ वर्षपछि जन्मभूमि नेपाल फर्किने तय भइसकेकाे थियाे। आज सम्म समेटिएका तितामिठा पलहरु आमा-बाबासँग साट्न पाइन्छ। साथीसंगीहरुसँग भेटघाट रमाइलाे गर्न पाइन्छ। अधुराे सामाजिक कार्यहरुलाई पूर्णता दिने याेजना अनि अरु के के योजना मनभरि थिए। भाैतिक शरीर यहाॅं भए पनि मन, मस्तिष्क नेपाल पुगिसकेकाे थियाे। म खुसी थिएँ ।आफ्नाहरुकालागि किनिएका उपहारहरु दुई झाेला टन्न पारेँ। अफसाेच संसार नै काेराेना भाइरस संक्रमणका कारण तनावग्रस्त बन्न पुग्याे। हवाइ यात्राहरु दिन प्रति दिन रद्द हुँदै गए। विभिन्न देशहरुमा धेरै मानिसहरुले अकालमा ज्यान गुमाउन पुगे। बिरामी भएर अस्पताल भर्ना हुन थाले।

त्यस्तैमा केवल एक हप्ता मात्रै बाँकी थियाे ‘तिम्राे हवाइ टिकट रद्द भएकाे छ’ भन्ने खबर आयाे। जिन्दगीमा जे पर्ला पर्ला जान्छु जान्छु भन्ने थियाे। तर, सकिन। कास हिँडेरै पुग्ने गन्तव्य हुँदाे हाे त ! प्रवासी भएकै कारण छाेरी आउँदै छ भन्ने खुसीले फुर्किएका बाबा, आमाकाे मुहारमा फेरि न्यास्राे भरिदियाे याे बैमानी काेराेनाले।

सामाजिक संजालहरुमा तिव्र गतिमा आइरहने समाचारहरुले यसै त्रसित बनाइरहन्छन् । हामी त जे जस्तै भए पनि विकसित देशमा छाैं। संक्रमण भइहाले पनि सही उपचार पाउनेछाैं । जसरी पनि बाच्छाैं हाेला भन्ने लाग्छ। तर ,मेराे देश त्यति विकसित छैन। हाम्रा आफ्नाहरुलाई संक्रमण भइहाले के हाेला भन्ने सुर्ताले तनाव हुन्छ। यस बिषम परिस्थितिमा परिवारसँग हुन नसक्नुकाे पीडा त कति कति।

सरिता गुरुङ

अमेरिका

दाजुकाे माया

हेर्ने कथा हेर्दै जाँदा  आँखा टिलपिल बग्ने आँशुले बताउँछ कि दु:ख र सङ्घर्षकाे असली मतलब। दिन बित्दै जाँदा र रात छिप्पिदै जाँदा अनेकौं सिकायत रहन्छ जिन्दगीसँग र जिन्दगी दिनेवालासँग। हरेक ब्यक्ति आफ्नै सेराेफेराेमा अल्झिरहेकाे हुन्छ।कसैलाई म:म, चाउमिन खान नपाएर टेनसन छ त कसैलाई दुई छाक खाना खान नपाएर। समस्य आफ्नै ठूलाे लाग्छ।

लकडाउन डायरी लेख्न गइरहँदा आफ्नाेबारे लेखाैं त के लेखाैं जस्ताे भइरहेकाे छ। मेरा दिनहरू त अस्तव्यस्त यस्तै चलिरहेकाे छ। घरमा छु, ममी ड्याडीसँग छु र सुरक्षित पनि छु।

सानाेतिनाे पसल पनि छ हाम्राे ।बिहान बेलुका पसल खाेल्ने सरकारकाे नियम बमाेजिम मान्छेकाे दैनिक जीवनकाे उपभाेग्य चिजबिजकाे जरुरत पूरा गर्न हामीले नि बिहान बेलुका खाेल्ने गरेका छाैं।तर ममी ड्याडीले त मलाई पसलमा बस्न पनि दिनुहुन्न । मान्छेकाे आवतजावत हुन्छ त्यसैले।

म यहाँ आजकाल जबरजस्तीकाे आराममा मस्त छु । तर, दिन ढल्दै जाँदा र साेसल मिडिया नामक अनेक चिजहरूबाट देश वा बिदेशमा भइरहेका घटना क्रम पढ्छु, मन एकाएक भक्कानिएर आउँछ। बिदेश रहेका मेरा दाइ यदि यहाँ भइदिएको भयाे कति आनन्दसँग बस्ने थिए भन्ने महसुस हुन्छ।अ नि फेरि यही साल छुट्टी आएकाे मेराे दाइ यसपालि नपाठाएकाे भए  हुने भन्ने एकाएक मनमा ख्याल आउँछ। मन खाली खाली हुन्छ। घरकाे सदस्य बिदेशमा भएका सबै परिवारका चिन्ता अहिले यही नै हाेला। हाम्राे परिवारकाे चिन्ता पनि यही नै छ।

एक्कासी समय चक्र यति नराम्ररी काेल्टिएकाे छ ।सबै मान्छेकाे बश, क्षमता र घमण्ड एकैसाथ लत्याइदियाे। दिनदिनै यति जनाकाे सङ्ख्यामा बढिरहेकाे छ भनेकाे सुन्दा घरका सबै सदस्यकाे मन बेस्सरी आत्तिन्छ। तर थाहा छ, मन सम्हाल्नु पर्छ। विदेशी भूमिमा एक्लै छ मेराे दाइ। उसकाे हाैसला र प्रेरणाकाे स्राेत हामी नबनिदिए अरू काे बनिदिने ! तर पनि हरेक दिन चिन्तामा बितिरहेछ। ममी त कहिलेकाहीँ खाना खाँदाखाँदै राेइदिनुहुन्छ र भन्नुहुन्छ दाइ, दिदी र भिनाजु सबैसँगै हुन पाए!!अखिर मुटुका टुक्रा ,धड्कन मेरा हुन् दाइ र दिदी।

हाम्राे याे सानाे परिवारमा एकअर्कालाई पूरा गर्छाै। खैर, टाढा रहे पनि हाम्राे परिवार त अहिले सुरक्षित नै छाै ।आजकाे दिन त बित्याे राम्ररी, भाेलि के हाेला! भन्ने चिन्ता त छदैँछ। प्रार्थना बाहेक अरु बिकल्प छैन र हामी त्यही नै गर्छाैं ।आखिर बिश्वास र आत्मबिश्वास पनि ठूलाे उपचार हाे। 

यस्सै दिन बित्दै जाँदा म साेच्छु आखिर मानव जीवन नै के रहेछ र ! भर नै छैन आज बाँच्याे भाेलि के हाे थाहा छैन । तर,पनि घमण्ड किन यति भरपूर्ण भरिएको छ हामी मान्छेमा? सबै कुरा जानेका छन्, बुझेका छन् तर पनि घमण्ड भने भरपूर छ। घमण्ड एकदम नराम्रो हतियार बनेकाे थियाे मानिसकाे। Class, level छुट्याउन उस्तै माहिर थिए मानिस। पैसाकाे आडमा सबलाई लत्याउँछु भन्ने घमण्ड सायद याे काेराेना भाइरस,याे महामारी र लकडाउनले केही हदसम्म कम गरिदियाे कि?

जे हाेस् आशा छ कि लकडाउन समाप्तिसँग मान्छेमा positivity up भएकाे देख्न पाँउ । यस्तै यस्तै याद र ख्यालतमा मेराे लकडाउनका दिनहरू बितेका छन्। भाेलि राम्राे हुन्छ भन्ने आश पनि छ र आजकाे चिन्ता पनि छ। जे हाेस् समय न हाे, न राम्राे समयमा राेकियाे ! न नराम्राे समयमा राेकिन्छ। सिर्फ जरुरत छ त धैर्यताकाे। अनि पर्खाइ छ सुन्दर भाेलिकाे।

अस्मिता सेन्चुरी

दमाैली,तनहुँ

घरधन्दामा म

सरकारले कोरना भाइरस सङ्क्रमण रोकथामको लागि भन्दै जारी गरेको लकडाउन भन्दा एक हप्ता अगावै मेरो कलेज छुट्टि भएको थियो। त्यो हप्ता बिदा हुनु मेरो लागि ईश्वरसँग मागेको वरदान जस्तै भएको थियो। किनकि त्यही हप्ता मेरो आमाको भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने मिति तय भएको थियो। म कसरी त्यो समयमा विद्यालयको पढाइलाई व्यवस्थित गर्ने भन्ने चिन्तामा थिएँ। परन्तु विद्यालयले दिएको छुट्टि पश्चात मेरो चिन्ताले आराम पाएको थियो।

सरकारले लकडाउनको पूर्व तयारी गर्दा म आमासँगै अस्पतालमा नै थिएँ। हामी अस्पतालबाट डिस्चार्ज भएको भोलिपल्ट सरकारले पहिलो चरणको लकडाउन मुलुकभर घोषणा गर्यो। हामी एकहिसाबले आफूहरुलाई भाग्यमानी ठानिरहेका थियौँ। तर नियतिको खेल कसलाई थाहा हुँदो रहेछ र? हामी अस्पतालबाट फर्केको केही दिनमै हजुरआमा विरामी पर्नु भयो। यसरी पहिलो चरणको लकडाउनको मेरो समय अस्पताल र घर हुँदै बित्यो।अस्पतलमा आउने जाने क्रममा काठमाडौंको सन्नाटा मैले जीवनमा पहिलोपल्ट अनुभव गरेँ।

अहिले आमा र हजुरआमा दुवैजना आराममा हुनुहुन्छ। दुवैको स्वास्थ अवस्था सुधार हुँदैछ। सम्पूर्ण घरायसी कामको जिम्मा मेरो र मेरो दाइको शिरमा परेको छ। मेरो अहिले दिनको सुरुवात विहानको ५ बजे हुन्छ र कति खेर रात पर्छ मेसो पाउँदिन। पहिला आमा स्वस्थ हुदाँकाे जीवन र अहिले आफूले भोग्दा आमाको महत्व र उहाँप्रतिको सम्मान अझै बढेको छ। आमाको जीवन यसरी प्रत्यक्ष अनुभव गर्दा मलाई सबै आमाहरु र उहाँहरुले गर्ने कामप्रति सद्भाव र सम्मान दुवै बढेको छ। मेरो सौभाग्य नै भन्नुपर्छ यो लकडाउनको समय मेरो आमाको सेवा र स्याहारमा बितेको छ। यसमा म निकै खुसी पनि छु।

दिउँसो यसो फुर्सद मिलाएर कुनै दिन किताब पढ्ने त कुनै दिन आफ्नै कलमबाट कविता रच्ने गर्दछु। मलाई साहित्य असाध्यै मनपर्छ। यही कारण मैले यो लकडाउन सुरु हुने वितिक्कै महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएको शाकुन्तल महाकाव्य पढ्ने निर्क्योल गरेको थिएँ। यसमा अलि भाषिक कठिनाइ र मेरो समय अभावका कारण मैले दिनको एक सर्गमात्र पढ्ने गरेको छु।

आज पनि दिउँसो एकछिन फुर्सदमा कविता रच्ने मनासायका साथ कलम लिएर बसेको थिएँ। तर मन भने यो महामारी पश्वात निर्माण भएको कल्पनाको समाजमा पुगेछ।

मेरो कल्पनाको समाज निकै शान्त र सुन्दर छ। मेरो कल्पनाको नयाँ समाजमा अब आधुनिकताको नाममा विकृति मौलाएको हुनेछैन। पुर्खाहरुले सिकाएजस्तै बाहिरबाट घर फर्केपछि हात खुट्टा मज्जाले धुने, नमस्कार द्वारा आफ्नो हार्दिकता प्रस्तुत गर्ने चलन फेरि बिकास भएको हुनेछ। पूर्वीय परम्परा विदेशबाट फर्केपछि एकान्तबासमा केही दिन बस्नुपर्ने जस्ता नियमहरुको मेरो कल्पनाको समाजमा फेरि पुर्नजागरण भएको हुनेछ। मेरो कल्पनाको समाजमा प्रकृति फेरि नयाँ दुलही जस्तै भएको हुनेछिन्। प्रकृतिनै रानी बन्नेछिन्। मेरो कल्पनाको समाजका मानवहरुले आफूहरु प्रकृतिको अनुयायी हो भन्ने कुरा बुझेका हुनेछन् र प्रकृतिको स्वामी बन्ने अभिलाषा त्यागेका हुनेछन्।

यो वर्षझैँ अब हरेक वर्ष वसन्त ऋतुमा काठमाडौँलाई अनेकौ पुष्पहरुले स्वागत गरेको हुनेछ। हिमालहरु फेरिँ एकपटक हिँउले ढपक्कै ढाकेको हुनेछन्। नदिनाला आफ्नै लयमा बगेका हुनेछन्। मेरो कल्पनाको समाजमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचेको वैशाख कविता हरेक वैशाखमा सधैँ सार्थक साबित हुनेछ।

आपतविपद पर्दा पैसा भन्दा आपासी भइचारा र सद्भावना नै ठूलो हुन्छ भन्ने ज्ञान मेरो कल्पनाको समाजका मानिसमा विकसित भएको हुनेछ। ‘मै खाउँ, मैँ लाउँ, सुख सयल मोज मस्ति म गरुँ, म मात्र हाँसु, म मात्र नाचुँ, अरु सब मरुन् दुर्बलहरू’ भन्ने भनाइहरु मेरो कल्पनाको समाजमा निरर्थक भएको हुनेछ। मेरो यो कल्पनाको समाज फेरि एकपल्ट ‘बसुदैव कुटुम्बकम्’ को नारा लिइ अग्रपङ्कतिमा उभिनेछ र पुन: यो विश्वलाई एउटै मालामा गाँस्न सफल भएको हुनेछ।

आहा! मैले कल्पना गरेको नयाँ समाज।

रोजन खड्का

(प्रकाण्ड)

ठूलाबाकाे मास्क

मेरो गाउँ बिदुर ७- सोले नुवाकोट हो । आजकाल बिहानै उठेर आँखा मिचि मिचि बिहानी कक्षा कुद्ने भाइबहिनी, गुरुहरु भेटिदैनन् मेरो गाउँमा। लौन !बिहानको १० बजिसक्यो। अफिस पुग्नै पर्छ नभए हिजो झैँ हाकिमले झपार्छन् भन्ने कर्मचारी दाजु, भाउजु, आजभोलि उठ्न हतार गर्नुहुँदैन। लाग्छ समयले पनि धेरै माइलको यात्रापछि केही समयको निम्ति बिश्राम लिएको छ।

गाउँघरमा सबै जसो जम्मा भएका छन्| घर बस्यो, खायो, भुराभुरी उफार्दै खेल्दा त झन् चाडपर्वको माहोल झैँ भान हुन्छ । अझ, गाउँलाई अंकमाल गर्दै बगेको त्रिशुली नदि पारीको गाउँमा हरेक दिउँसो खै कसको घरमा ठूलो आवाजमा बज्ने नारायणगोपालका सदाबहार सुमुधुर गीतले त मेरो मन फुरुङ्ग हुन्छ। र म बिर्सन्छु यो समय लकडाउनको हो भनेर | पहिला पहिला ‘हामी हिमालबाट बगेको पानी खानेलाई यस्ता नानाथरीका रोगले भेट्दैन कान्छा’ भन्ने ठूलाबाको अनुहारमा जब निलोनिलो बुट्टे मास्क देख्छु, तब याद हुन्छ कोरोना कहरको समय हो यो भन्ने।

गाउँले भूकम्पपछि ठूलै फड्को मारेको छ वा भनौं विकासको मार्गमा अगाडि बढेको छ |०६८ को एस. एल. सी पछि गाउँलाई नजिकबाट नियाल्ने मौका यो लकडाउनले दिएको छ । मैले यसलाई आफ्नो गाउँठाउँ बुझ्ने अवसरको रुपमा लिएको छु । हुन त प्लस २ पढ्दै गर्दा सबैको सपनाको जस्तै म पनि उच्च शिक्षाकालागि काठमाडौं र पछिल्लो ४ वर्ष अध्ययनका लागि चितवन बस्दै आएको छु। यस क्रममा बेलामौकामा घर नआएको होइन । तर छुट्टिमा आएपनि फर्कनकै हतार हुन्थ्यो ।

पछिल्ला समय गाउँघरका सडक पनि कालोपत्र भएछन् । बेलाबेला साइरन बजाउदै एम्बुलेन्स पुलिसको भ्यान यिनै सडकबाट कुदिरहेका हुन्छन्। लकडाउनले गाउँका आधिकाशंको दैनिकीमा थोरबहुत परिवर्तन ल्याएको छ । समाचारमा खासै चासो नदिने ठूलीआमा पनि समाचार सुन्न र हात मिचिमिची धुनु भनेर नातीलाई अराउनु हुन्छ ।

‘बाँचिराखे के के पो देखिन्छ बाबु’ भनेर गाउँका हजुरबा पैला पैला देखिका किस्सा कहानी सुनाउनुहुन्छ। राणाशासनदेखि घरि आर्मीले बुट घरि माओवादीले बन्दुक तेर्साउँदा समेत नडराएको आफू कोरोनासंग पनि नडराइ सयंम अपनाउन भन्नु हुन्छ। हुनत उहाले भनेझैँ हामी हरेक नेपालीको बिगतको इतिहास हेर्दा हामीले हरेक पल, हरेक क्षण मृत्युसंग सौदाबाजी गरेका छौं। यो पालि फरक यत्ति हो की हाम्रो शत्रु एक भाइरस हो । हामी नेपालीले ९० वर्ष हराहारीको राणाशासन झेल्यौ, ६२/६३ जनआन्दोलन, भारतीय नाकाबन्दी ब्यहोर्यौ, लोकतन्त्र देख्यौँ अनि ७२ को महाविनासकारी भूकम्प सहेयौँ।

मेरो गाउँ पनि यी तमाम उतारचढावहरुसँग राम्ररी परिचित छ। उतिबेला भूकम्पको क्षतिबाट गाउँले पुरानै अवस्था आउन वर्षाै लाग्ला झैँ लागेको थियो। तर समयले भूकम्मको घाउ पनि पुर्दैछ । घरघरमा आमाबुवाहरु करेसाबारीमा तरकारी लगाउन र गोडमेलमा व्यस्त देखिनुहुन्छ । कोही सामाजिक दुरी राखेर पसल र पीठो पिन्न पानीघट्ट , कतै मकै रोप्न, धनको गोडमेल अनि कोहि धान कुट्ने मिलतिर भेटिनुहुन्छ। घर भित्र नै मीठोमसिनो पकायो खायो,परिवारसंगै बसेर टि. भि हेर्यो अनि साँझमा घरको बार्दलीमा बसेर छिमेकीसंग गफगाफ गर्नुहुन्छ। यसरी नै गाउँका आमा बुवाको दिनचर्या बित्दै छ । जे होस् लक-डाउनले हरेक गाउँका मानिसहरुको जीवनयापनमा धेरै थोरै फेरबदल ल्याएको छ ।


म पनि जिन्दगीको आफ्नो फरक पाटोबाट दैनिकी काट्दै छु। कहिलेकाहीँ लाग्छ, कुनै पनि कुरा अति भएको राम्रो होइन । नेपाल कृषि प्रधान देश हो भन्न थालेको कति वर्ष भयो होला त्यो त मलाई थाहा छैन । अधीकाशं नेपाली कृषक हुन्। तर कृषकका छोराछोरी कृषक छैनन्। यसो हुनु एक हिसाबले ठिकै पनि हो । पहिले जस्तो घरका ४ जनाले कृषि कर्म गरेर ४ जनाले नै खाना पुग्ने आँकडा भन्दा धेरै माथि पुगिसकेको छ देश |

म आफै पनि कृषिको बिद्यार्थी भएकाले लकडाउन चलिरहँदा पनि गाउँगाउँमा सामाजिक दुरी कायम राख्दै सुरक्षित रुपमा कृषिकार्य गर्न सुझाब र आग्रह गर्न चाहान्छु ।

स्वदेश रिजाल

सोले ७-बिदुर, नुवाकोट