उपचार पनि ‘हाेम डेलिभरी’ भए…

आजभोलि मान्छेहरू चुरोटको धुवाँ उडाएर सडकमा धुँलोबाट बच्न मास्क लगाएको देख्न पाइँदैन। बरू कोरोनाबाट बच्न मास्क लगाएको देख्न पाइन्छ। भट्टीमा टन्न रक्सी खाएर लड्बडाउँदै सडकको नालीमा सुतेको पनि देख्न पाइँदैन। न भेटिइन्छन् अँगालो हालेर सडकमा हिँड्ने प्रेमील जोडिहरू। आफ्नो जीवनको गति भन्दा तिव्र गतिमा हुइकँने मोटरहरूले आराम गरेका छन्। सहरमा उज्यालो हुन नपाउँदै मध्यरात सम्म गुड्ने गाडीहरूको चर्को आवाज पनि मेरो कोठासम्म आउँदैन आजभोलि।
वातावरण शान्त भएको अबस्थामा पनि मन बेचैन हुन्छ । सम्झिन्छु सधैँ साथीहरू भेट्ने चियापसल,दैनिक कलेजको आवतजावत।बिहानको अलार्म सबै सबै बन्द छन् आजभोलि। 

धन्न मोबाइल छ फेसबुक छ र समय कटेको पत्तो हुँदैन।फेसबुकमा साथीहरूले “लकडाउनले कुलत छुट्ने भयो भन्ने पिर गर्छन्।” मेरो मनले भन्छ उनीहरूको लागि लकडाउन हुनु भनेको राम्रो कुरा हो। लकडाउनले सुध्रिने अवसर दिएको छ।
मैले फेसबुक चलाउन थालेपछि फिल्म हेर्न छोडेको रहेँछु। यो लकडाउनमा केही फिल्महरू पनि हेरेँ। केही पुस्तकहरु पढेँ र केही पढ्दै पनि छु। बिशेषत आजभोलि पुस्तक पढ्नु, फिल्म् हेर्नु,फेसबुक चलाउनु, कहिलेकाहीँ लुडो खेल्नु दिनचर्या भएको छ। साथीहरू भेट्न नपाए पनि समाजिक सञ्जालको सामीप्यताले साथीहरूको न्यास्रो मेटाएको छ। आफ्ना दु:ख सु:ख साथीहरूलाई सुनाउन उनीहरूका दु:ख सु:ख र अहिलेको अवस्था बुझ्न सामाजिक सञ्जालले धेरै मद्दत गरेको छ।

म काठमाण्डौको एउटा सानो कोठामा थुनिएको छु। आफ्नै सुरक्षाको लागि।सल्यान जान सकिएन।यो बेला घर जान पाएको भए लाग्छ बा’आमालाई उहाँहरूको दैनिकीमा राहत पुग्ने थियो।बेलाबेलाफोन गर्छु। बेलाबेला आमा बाबाले फोन गर्नुहुन्छ। म यहाँको अवस्था बताउँछु। उहाँहरूले घरको। हामी दुरीले टाढा भएपनि मनले सँगै भएको आभाष गर्छौं। 

केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा नवलपरासी सुनौलका दुर्गा क्षेत्रीसँग जोडिन पुगेँ।उनीसँग कुरा गरेपछि केही दिन मन बेचैन भयो। विगत पाँच बर्ष देखि मेरूदण्ड पक्षघातको सिकार भएका उनी उठ्न र बस्न सक्दैनन्। कोल्टे फेर्ने पनि परिवारको सहारा चाहिन्छ । उनीले भनेँ “लकडाउनको कारणले हस्पिटल नगएको अठार दिन भैसक्यो। हात गोडा चल्न छोडें। एउटा हात चल्छ, तैपनि थर्थर काम्छ।” केही कुरा टाइपिङ् गरेका उनले टाइपिङ्ग गर्न गाह्रो भएकै कारणले फोनमा वार्ता गर्न चाहेँ। उनी भन्छन् “राहतको लागि नाम टिपाउनु भनेका थिएँ टिपाइन। म भन्दा कोही असहायलाई दिनु भनिदिएँ।”साहित्यमा रूची राख्ने दुर्गा रोगकै कारण दिसा पिसाव आएको थाहा पाउँदैनन्। उनी भन्छन् “स्थानीय सरकारलाई मेरो रोगको बारेमा सबै थाहा छ। मलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइदिए राहत हुन्थ्यो।”

अहिलेको यो प्रविधिको युगमा हामीले दैनिक पढ्न र देख्न सक्छौं।वाइफाइको पैसा सकिए हामीलाई सम्पर्क गर्नुहोस्।च्यानलकाे रिचार्ज सकिए तपाईंको नम्बर टिपाउनुहोस, हामी सेवा दिन तत्पर छौँ। तपाईंको मोबाइल ब्यालेन्स सकिए अनलाइनबाट सेवा लिन सक्नुहुन्छ। कतै सुनिन्छ, घरमा खाद्यान्न सकिए हामी होम डेलिभरी गर्छौ। यी यावत कुराहरू सजिलैसँग घरमा आइपुग्छन् खुसीको कुरा हो। यसरी नै बिरामीले पनि आफ्नो समस्या बताएर औषधी र डाक्टर घरमै पुग्ने व्यवस्था भए दुर्गा क्षेत्री जस्ता सम्पूर्ण प्रतिनिधि पात्रको स्वास्थ्य  समस्या केही हल हुने थियो होला यो लकडाउनमा। 

मलाई यसरी नै सामाजिक सञ्जालले जोडेको छ।खुसी लाग्छ परिचित मान्छेसँग भलाकुसारी र अपरिचित मान्छेसँग परिचित बन्ने अबसर पनि लकडाउनले दिएको छ। आशा छ छिट्टै हामी पुरानै दैनिकीमा फर्किने छौ। यसरी सोच्दै नसोचेको घरभित्रै थुनिनु पर्ने दिनबाट मुक्त हुनेछौँ।

कृष्ण कञ्चन

सल्यान 

म थाकेँ

९ महीना आमाको कोखमा बस्दा बस्दा थाकेर म यो धर्तीमा जन्मिएको थिए। आमा को दुध खाँदा खाँदै थाकेपछि मैले पहिलो पटक अन्न खान सुरू गरेँ। बाल्यकाल कहिले बाबाको काँधमा पिसाब फेरेर र कहिले मायाले काखमा राखिरहेकाहरूको कपडा पहेँलै बनाएर, कहिले हाँसेर त कहिले रोएर, घरमा अनेक रमाइला र उटपट्यांग गर्दा गर्दै थाकेर म मेरा कलिला काँधहरूमा किताबको गह्राै भारी बोकेर अक्षर चिन्न स्कुल भर्ना भएको थिएँ। 

मलाई स्कुलले क देखि ज्ञ सम्म सिकायोर अनि ह बाट हाँसो हुँदै अ बाट आँशु सिकायो  । a देखि z सम्म सिकायो अनि ‘U’ for ups & ‘D’ for downs पनि सिकायो । म जे जे सिकाउँछ सिकिरहेँ।  म थाक्दै थिएँ, तर म सिक्दैँ थिएँ। मलाई थाकेर पुगेको थिएन। मलाई थला पर्ने गरि थाक्नु थियो। हात्ती बोकेर हिडेँको कमिला जसरी।

उता समयले कोल्टो फेर्दै गयो, यता म भने मान्छेबाट मेसीन हुन थाले। चाबी घुमाएर छोडेको रोबट जस्तो। मेरो शरीरको कुनै कुनामा गिदि नामको केही थियो। जसकाे काम केबल किताबहरूमा अरूले लेखेर थुपारि दिएका हगेपादेका सबै Theories हरू रट्टा मार्नु पर्थ्यो। रट्टा मार्दा मार्दा म पनि त्यो पिँजडामा बसेर अरूको बोली रट्टा हान्दा हान्दै आफ्नै आवाज बिर्सिएको सुगा जस्तो भएको थिए। मान्छे बोल्दा म पनि मान्छे हुन्थेँ। जनावर कराउँदा म पनि जानवर हुन्थे । एकदम शून्य, बिच बाटोमा नक्सा हराएको बटुवा जस्तो । 

अब मेरो मनस्पटल थाकिसकेको थियो। सुगाको जीवन त्यागेर म बारी उधिन्ने साँढे भएको थिए। भारी बोक्ने गधा भएको थिए। दुईचार बिस्कुटको आशमा दैलो कुरेर भाउ – भाउ गर्ने कुकुर भएको थिए। कामको चक्करमा कामबासनाको सुगन्ध बिर्सिएको कठोर पुरूष भएको थिए। म केबल म हुन सकेन। तर धेरै भए। स-साना टुक्राहरूमा विभाजित भए। जसरी बाईसे – चौबिसे राज्यहरूमा नेपाल विभाजित थियो। 
* आमाको सपना र बाबा को जिम्मेवारी बोकेको नालायक छोरा भएँ।
* अंश थाप्न मात्र जन्मिएको निकम्मा भाइ भएँ।
* मलामीमा काँध थाप्न नसकेको छिमेकी भएँ।
* श्वास रोकेर उनको अक्सीजन जुटाउने प्रेमी भएँ। 
* आफ्नै हड्डी पोलेर उनीहरूलाई न्यानो बनाउने साथी भएँ। 
* पसीना बेचेर साहुको लागि सुगन्धित अत्तर किन्ने कर्मचारी भए। 
* नागरिकताको ऋण तिर्न नसकेको हरामी जनता पनि भए।

उफ्, म के हुनु पर्थ्यो, के भएँ ? 

अहिले म सुत्दा सुत्दै थाकेको छु । अहिले म उठ्दा उठ्दै थाकेर सुत्छु। अनि सुत्दा सुत्दै थाकेर फेरि सुत्छु। हो, म खाँदा खाँदै थाकिरहेछु। म पिउँदा पिउँदै थाकिरहेछु । झेल्दा- झेल्दै थाकिरहेछु। आजलाई जिउँदा जिउँदै थाकिरहेछु । भोलिको पर्खाइमा थाकिरहेछु। म मेरो अस्तित्वको खोजीमा थाकिरहेछु ।  म थाक्दा थाक्दै थाकिरहेछु। 🥴

करण न्यौपाने

काठमाडौँ

मेराे अनलाइन कक्षा

कोभिड १९ ले हाल संसारभरि नै असर गरी रहँदा यसबाट प्रभावित हुने विभिन्न क्षेत्रहरु मध्ये महत्वपूर्ण एक  शिक्षा पनि हो । भर्खर सुरु भएको हाम्रो स्नातकोत्तर तहको पहिलो सेमेस्टरको कक्षा के हुन्छ होला? क्याम्पस लाग्छ कि बन्द हुन्छ? पठनपाठन के हुने हो? जस्ता प्रश्नहरु मनमा उब्जिरहेका थिए। स्नातक तह उत्तिर्ण भइसकेपछि स्नातकोत्तर तह यानेकि मास्टर डिग्री आफैमा एउटा ठूलो तह मानिन्छ। नयाँ तह, नयाँ साथीहरु, नयाँ क्याम्पस, नयाँ जोस र उत्साह उस्तै थिए। कक्षाहरु रमाइलो पनि हुदैँ थिए। पठनपाठनले गति लिदै थियो। तर नेपाल सरकारद्बारा देशभरि लकडाउनको घोषणासँगै क्याम्पस अर्को सूचना प्रकाशित नभएसम्म क्याम्पस तथा पठनपाठन बन्द हुने भनिएको थियाे। दुर्भाग्यवस् अर्को सूचना अझै प्रकाशित भएको छैन। 

क्याम्पस र पठनपाठन बन्द, अब के गर्ने? सुरुवाती दिन भएको कारण लाइब्रेरीमा पर्याप्त किताबहरु नहुँदा न त निकाल्न पाइयो न त स्टेशनरीबाट खरिद गर्न नै पाइयो। निजी क्याम्पसमा अध्ययन गर्ने साथीहरुले अनलाइन कक्षाको अनुभव सुनाइ रहँदा यता हाम्रो सार्वजनिक क्याम्पसको केही सूचना आएको थिएन। लकडाउनको २१ ‌औँ दिन पश्चात मात्र अनलाइन कक्षाको डेमोन्स्ट्रेसन कक्षा पछि नियमित अनलाइन कक्षा सुरुवात भयो, जुन अहिलेसम्म सञ्चालित छ।

यसरी अनलाइन कक्षा लिइरहँदा कक्षा कोठामा अनुहारले मात्र परिचित साथीहरुलाई नामबाट परिचित हुन पाउनु  मेरो लागि मात्र नभइ शिक्षक र अन्य साथीहरुको लागि पनि अवसर भयो। महामारीको अवस्थालाई पनि फुर्सदको समय नभनि शिक्षक तथा साथीहरुको दृढ संलग्नताले हामीले शिक्षा हाम्रो घरबाटै पायक पर्ने तवरले हासिल गरिरहेका छौँ। जसबाट शिक्षाको लागि घर बाहिर जानु पर्ने, कोरोना संक्रमित हुने चिन्ता रहेन। लकडाउनका कारण लामो समयसम्म अध्यापन नहुँदा, नगन्य अध्ययन गर्दै गर्दा, अनलाइन कक्षा सञ्चालन हुन थाले पछि अध्ययनलाई  निरन्तरता दिइरहेको छु। हाम्रो क्याम्पसको म सहित करिब ७० प्रतिशत साथीहरु हाल अनलाइन कक्षामा सहभागी भइरहेका छौँ। यसरी अनलाइन कक्षा लिइरहँदा कक्षाकोठाको अध्ययन अध्यापन जस्तै स्वः अनुशासित भइ कक्षा लिन प्रेरित भइन्छ भन्ने मेरो व्यक्तिगत ठम्याइ छ। किनकि म लगायत मेरा साथीहरु पनि सक्रिय तथा ध्यानपूर्वक अनलाइन कक्षामा संलग्न हुदै आएका छौँ। यसरी सञ्चालन हुने कक्षाका कारण आधुनिक प्रविधिको प्रयोग पनि हामीमा अभ्यस्त भइ रहेको छ। अनलाइन कक्षाको बारेमा टिकाटिप्पणी गरी रहँदा, कसरी र केबाट कक्षा भइ रहेको भन्ने कुरा छुटाउनु सायदै उचित होला। हाम्रो अनलाइन कक्षा Google Meet र Zoom बाट भइ रहेको छ ।

घरबाट नै अनलाइन कक्षामा सहभागी हुने अवसर पाउँदा, यसका चुनौती तथा समस्याहरु ठूलो बाधकको रुपमा उब्जिएका छन्। इच्छा तथा लगाव हुदाँहुदैँ पनि इन्टरनेट तथा प्रविधिको पर्याप्त पहुँच नहुँदा करिब ३० प्रतिशत विद्यार्थीहरु सहभागी  हुन नसक्नु आफैमा एक चुनौती हो। वास्तवमा भन्नु पर्दा अनलाइन कक्षा अवसर भए पनि सबै जनाको लागि उपयुक्त तथा सहज चाहिँ भएको छैन। त्यस्तै अनलाइन कक्षाको क्रममा बाहिरि आवाज तथा आवाजमा इकोको कारणले गर्दा बुझाइमा अस्पष्ट हुन्छ। आधुनिक प्रविधि तथा इनटरनेटबारे केही शिक्षकहरु अझै पनि अभ्यस्त नहुनुका कारण कक्षा सञ्चालनको क्रममा समस्या उब्जिदा महङ्गो मोबाइल डाटाबाट कक्षा लिँदा बिचबिचमा Disconnect हुँदा घाउमा नुन छर्के सरह हुन्छ। हाल मैले सात दिनका लागि मान्य हुने डाटा लिने गरेको छु। सातामा ५ दिन मात्र कक्षा सञ्चालन हुने त्यसमा पनि कहिलेकाहीँ शिक्षकको व्यस्तताका कारण कक्षा नहुँदा  बाँकी डाटा त्यसै खेर जाने गरेको छ। साथै कक्षामा शिक्षकले दिनु भएको व्यक्तिगत असाइनमेन्ट ल्यापटप नभएको कारण इच्छा हुदाँहुदैँ पनि तयार गर्न समस्या भइरहेको छ। 

लकडाउनको अवस्थामा विद्यार्थीहरुको शिक्षामा पहुँच बनाइ राख्न दुरसञ्चार कम्पनीहरुले अनलाइन कक्षाका लागि नाम मात्रैको सहुलियत डाटा भन्दा पनि सम्पूर्ण इन्टरनेट सेवा प्राप्त गर्ने डाटा सुलभ तथा सस्तो दरमा उपलब्ध गराए सहयोग पुग्ने थियो। हामीले डाटा खरिद गर्दा कम्पनीहरुले All time Data कम र 4G डाटा बोनस भनेर धेरै दिने गरेको छ, तर हाम्रो देशमा घर बाहिर 4G, घर भित्र 3G हुँदै 4G को हुने नेटवर्क हामीलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात झै हुन्छ । त्यसैले दुरसञ्चार कम्पनीहरुले सुलभ, सस्तो तथा उपयोगी डाटाहरु उपलब्ध गराइ प्रयोगकर्ताहरुबाट अझ बढी मुनाफा लिने कुरामा इच्छा पो देखाउने हो की ? 

सुभाष चौधरी

सुन्दरहरैंचा, मोरङ

पङ्ख

घरबाट टाढा आफ्नो सपनालाई पंख दिन गएका ती हजार पढन्ते,जागिरेहरू यो लकडाउन अगावै घर फर्कन पाए पाएनन् कुन्नि! तर म चाहिँ घर आइपुग्न भ्याए। यो कठिन समयमा सबै सँगै भएर बस्नु पर्ने घडीमा रहले टाढा भएका त भै हाले तर नजिकै भए पनि अहिलेको यो अवस्थाले गर्दा परिवारका सदस्यहरूकाे सामिप्यताबाट टाढा रहनु परेको छ। यो पिर म मेरी आमाको आँखामा पनि देख्छु । कारण आफ्नो कान्छि छोरी साथै नहुँदा। उनी एक स्वास्थ्यकर्मी भएकाले यो समयमा छुट्टी लिएर घर बस्न मिलेन। मान्छे सानी नै भए पनि आँटिलो कुरा गरेर सम्झाउँछिन्।आमाको मन न हो, यसै आँसु आखाँको डिलसम्म आएर रोकिन्छन्।

आजकल मलाई पनि दैनिक बिहान उठेर क्याम्पस जानु पर्दैन। म यी दिनहरू घरको कामकाज आमालाई सघाएर बिताइरहेकाे छु। गाउँ घरकाे काम कहिल्यै सकिदैन। बुवा र आमाले याे लकडाउनको वहानामा एक दुई दिन केही काममा पालो र सहयोगी पनि पाउनु भएको छ । गाउँ घरका केटाकेटीले खेल्ने नयाँ साथी पाएका छन। पढ्ने,जागिर गर्ने वहानाले रित्ताे भएको गाउँ अचेल भरिभराउ छ। धेरै पछि पुराना गाउँले साथी पनि भेट भएका छन्। बेग्लै पंख बोकेर धेरै गाउँ फिरेका छन् अचेल। फेसबुक चलाउने समय घाँस, दाउरा गर्ने, मकै गोड्ने, अम्लिसो फाड्ने अनि बाजे, बजुका पुराना कथाहरू सुनेर बितिरहेकाे छ। यहाँ गाउँमा पत्र पत्रिका पढ्ने भन्ने त परकाे कुरा भैगयाे। हटिसकेको रेडियाे सुन्ने बानी भने फेरि लाग्न थालेको छ। 

यसो कहिले काहीँ झुक्किएर टावर दिंदा फेसबुकको भित्तामा लकडाउनको समयमा आफूले गरेका गतिबिधिहरू पाेष्ट गर्छु। घरबाट निस्किन नपाउँदाको आफ्नो दैनिक कार्य गर्न नपाउँदा वाक्क लागेको कथा पाेखिबस्छु। अरूका पाेष्ट हेरेर जे जसरी भए पनि सबैले आ आफ्नै तवरले यी दिनहरू गुजारिरहेका रहेछन् भन्ठान्छु । यो प्रकोपको असर नघटेसम्म  सुरक्षित भएर, धैर्य गरेर बसौं। यसपालिको नयाँ वर्ष पनि कोरोनाको भयले यस्तै भयाे। ढिलै भए पनि सबैलाई नव वर्ष २०७७ को शुभकामना शुभेच्छा…….

प्रतिमा चाम्लिङ

लेटाङ, मोरङ

तारा झैँ छरपष्ट सपना

भोका पेट!!अक्सर यी रातहरुमा म एक्लै हुनेगर्छु! कथा सुनिदिने, सुनाउने मान्छे नि छैन। जसोतसो दिन त यतिकै बित्छ, तर रात? रात एकदम कष्टकर, सुतौँ निद्रा लाग्दैन, नसुतौँ अनेकौं प्रश्नले सताउँछ। यी रातमा मुख भन्दा बढी आँखा र मन बोल्ने रहेछन्।पीडाको सागरबाट बगेर पनि यही सिरानीमा सकिन्छ। सुने पनि नसुने पनि यहीँ चार भित्ता हुन्, कान हुन्छ भन्थे सुन्छन् होला, तर मुख भएको भए कुरा गर्न हुन्थ्यो!  अब मेरा आँखाले मात्र चार भित्ता देख्छ, भित्तामा झुण्डिएका तस्बिर यस्तै यस्तै।

हजारौं सपना देखेका मेरा आँखाले अब सपना देख्न छोडेका छन्। अनगिन्ती रहर सँगलेको मेरो मनले अब रहर हराइसक्यो!चारैतिर घरै-घर अनि त्यही मध्यको एउटा घरको एउटा बन्द कोठामा थुनिएको छु। हो थुनिएको हो! आफ्नै रहरले हैन कुनै अदृश्य तत्वको कहरले। मेरा रहर कैद छन्, छुट्ने अत्तोपत्तो नि छैन।

पहिला घर बस्न भनेपछि खुसी हुने म अब त दिक्क लाग्न लागेको छ। मोबाइल नि कति थिच्नु वाक्क लागेको छ। बोल्ने की के बोल्ने को सँग बोल्ने शब्द सकिसकेको छ। केही नयाँ भएको भए पो कुरा गर्नु। केही छैन, अनि कहाँबाट आउँछन् गफ पनि। कुरा सुन्न नि मन लाग्दैन सुनाउन नि! समाचार नि के छ र त्यस्तो नयाँ, सधैँ त्यही हो एउटै आज त्यति जना मरे, यति बढे, यति निको भए। हैन यो कस्तो बाध्यता हो, खाली बाटो छ हिँड्न मिल्दैन, स्वच्छ वातावरण छ घुम्न मिल्दैन। मेरा खुट्टा अब कुँजिन लगे होलान्। मेरो मोबाइल नि रिसले चुर भयो हाेला, मेरो खाट पनि थाक्यो होला। त्यो पिंजडामा रहेको पंक्षी जस्तै छु। अब म आजाद हुन चाहन्छु।

थाहा छैन आज यो कस्तो दिन आयो, मान्छेहरू नै घरमा थुनिएर बस्नु पर्यो। तारा जस्तै छरपस्ट भए मेरा सपना अनि रहर। ज्याला मजदुरी गरेर खानेले खाना पाएको छैन, भविष्य बनाउन तयारी गरेकोले अन्धकार सिवाय केही देख्दैन, सुनौलो भविष्य देखेको विद्यार्थीले उचित शिक्षा पाउन सकेको छैन। सारा संसारले भयावह स्थितिको सामना गरिरहेको छ।

सुनेको थिए पृथ्वी गोलो छ, पालो सबैको आउँछ। हो यस्तै भयो, यो देखेर ती पिंजडामा रहेका पंक्षी, ती चिडियाखानामा कैद भएका जनावर कति खुसी होलान्! त्यो प्रकृति कति खुशी होला! लाग्दैछ यो देखेर वर्षमा एक महिना लकडाउन हुनुपर्ने रहेछ। प्रकृतिलाई कुरुप त हामीले नै बनाएको रहेछौ। तर यो सबै सबैलाई ठीक पनि नहुने रहेछ। दुई हात जोडेर दुई छाक टार्न नसक्ने मजदुर अहिले के गर्दैछ होला? भन्थे गरिबले सुख पाउँदैन, पाउन लाग्यो भने नि मृत्यु आउँछ, त्यस्तै लाग्छ।

आखिर जे गरेपनि पर्ने पिर त गरिबलाई नै रहेछ। अब के हुन्छ कसैले केही सोचेको छ होला त? भोको पेटले भोक मात्र देख्छ, अझै यस्तै भयो भने, भोकले मरेका भोका पेटको विद्रोहको बारेमा कसैले सोचेको छ होला त? जे जस्तो भएपनि संसारले चाँडै यो भयावह स्थिति बाट मुक्त होस्! फेरि एकछिन भए नि खुशीको सास फेरुन्! सबैले ज्ञान पाउन्, सिकुन्!!!

विचित्र विवेक श्रेष्ठ

२२ घण्टे कर्फ्यु

न हरेक बिहान चाँडो उठेर नुहाई धुवाई गर्नु हतार छ। न त बेलुकी फ्रीजमा राखेको खानलाई टिफिन बक्समा राख्नलाई आतुर छौँ । न गाडी  नै छुट्छ कि भन्ने चिन्ता। न त आज बोसको भिजिटर धेरै आउँछ कि भन्ने त्रास नै। हप्तामा आउने बिदाको पर्खाइमा बस्ने म हरेक दिन छुट्टी मनाउँदैछु । तर आजभोलि छुट्टी धेरै भएको जस्तो लाग्छ।

मार्च ११ तारिख, म काम गर्ने देश कुवेतको सरकारले एक्कासी सबै क्षेत्र अस्पताल र खाद्यान्न पसल बाहेकका सबै सार्वजनिक स्थानहरुमा लकडाउन घोषणा गर्यो। बेलुकी अफिस बन्द गरेर निस्कने बेलामा म्यानेजरले ‘भोलिदेखि १५ दिनको कम बन्द भयो, हाम्रो रेस्टुरेण्ट सबै बन्द भएको छ। अफिस पनि बन्द गर्न भनेको छ। त्यसैले पन्ध्र दिन हामी काममा आउँदैनौ।अफिस राम्रोसँग बन्द गरेर निस्कनु’ भनेको थियो। तर फेरि राति अचानक म्यासेज आयो- भोलि मिटिङ्ग गरेर मात्र हामी अफिस बन्द गर्छौ भनेर। बिहान सधैँको समयमा नै अफिस पुगियो। र सबै विभागका कर्मचारीको संयुक्त बैठकपछि लकडाउनमा बसेका हामी अहिले सम्म आइपुग्दा ६० दिन भन्दा बढी भैसकेछ। 

यस बिचमा बढी समय समाचार मै ध्यान गयो। हरेक दिनको ब्रेकिङ्ग न्युजमा संक्रमितको संख्या बढेको अनि विश्वमा नै तिव्र गतिमा बढेको यो महामारीले सिकायो धैर्य हुन। लकडाउन खुल्ला र दैनिकी पहिलेको जस्तै होला भनेर आशा राख्थे। तर त्यो दिन अहिलेसम्म आएन।

यस अवधिमा  हेर्ने कथाका हरेक शृंखलाहरु दोह्रोएर हेर्ने र आफूलाई मन परेको शृंखलालाई अझ हेर्ने गरियो। यस बिचमा नेपाली, हिन्दि, अंग्रेजीका केही फिल्महरु पनि हेरियो। केही श्रव्यदृश्यहरु हेर्दै सममासमयिक घटना र बिषयहरुका अन्तर्वार्ता समाचार हेर्दै लगभग साठी दिनको लकडाउन त काटियो। तर अझै संक्रमण बढेको कारण कुवेत सरकारले लकडाउन सँगै २२ घण्टे कर्फ्यु जारी गरि कोठा भित्रै बस्न बाध्य बनाएको छ। 

यस अवधिमा सुरुको एक महिनामा आत्तिए पनि दैनिक रुपमा बढेको संक्रमणले मनलाई धैर्य हुन सिकाउँदै लगेको छ। आजभोलि प्रेरणादायक भिडियोहरु हेर्ने अनि सन्देशहरु पढ्ने गरेको कारण अझ सहने शक्ति बढेको जस्तो महसुस गर्न थालिएको छ। अझ विभिन्न धार्मिक लेखहरु र पुस्तकहरु पढ्ने चेस्टा पनि गरिरहेको छु। अझै कति लाग्ने हो यो लकडाउन खुल्न। तर यो लकडाउनले सहनशील हुन पनि सिकाएकाे छ। त्यसैले धैर्यताको फल पक्कै मिठो मिल्छ भनेर नेपालमा रहेका बाबा आमा र भाइहरुलाई आश्वासन दिदैँछु।श्रीमतीलाई पनि सान्वना दिन्छु। लामो छुट्टी बाँकि रहेको कारण तलब आइरहेको भएपनि अर्को महिनाबाट तलब नआउने जानकारी कम्पनीबाट पाइसकेँ।

चाँडो यो कोरोना भाइरसलाई जितेर लकडाउनलाइ पार गर्दै काममा जाने आशा राख्दै फेरि भन्नेछु पक्कै धैर्यताको फल मिठो नै हुनेछ ।

आकाश शेर्पा (आङ्ग काजी )

ओखलढुङ्गा

हाल कुवेत  


आकाश कस्तो थियो ?

सधैँ बसन्तले नवीनता भित्र्याउन सक्दो रहेनछ। अहिलेको बसन्त उदारहण बनेर बसेको छ। यो बर्ष हामीलाई एउटा यस्तो दुःखद परिस्थितिको सामाना गर्नुपरेको छ । जुन सायद कालन्तरमा सबैलाई याद रहनेछ।

बिए. सि एजिमा आफ्नो शिक्षा र भविष्य खोज्ने म अहिले लकडाउनमा आफूले माटो विषय पढ्नुको फाइदाजनक कुराहरू खुब नजिकबाट नियाल्ने अवसर पाएको छु। करिब करिब १६ घण्टाको यात्रा पश्चिमाञ्चल दाङकी छोरी म पूर्व झापामा बसेर पढ्दै गर्दा मैले धेरै कुरा सिक्नुपर्ने रैछ जीवनमा आफूलाई चिनाउन भन्ने कुरा बुझेँ। पठनपाठनमा सिक्ने क्रममै थिएँ। हामीले कृषिमा बीउ विरूवा हुँदै पातको भित्र फिजेलोजी हुँदै विरुवामा लाग्ने किरा रोग खाद्यपदार्थहरूमा गर्न सकिने परिवर्तन, हाइब्रिड तरकारी उत्पादन क्लोनिङ, विरुवाको बजार मूल्य दर, अर्थशास्त्र, माटो, जेनेटिक, सोसियोलोजी ,वातावरण आदि धेरै कुरा सिक्ने अवसर पायौँ। तर बिडम्बना लकडाउन सुरु भयो ।

खेतबारीमा पर्याप्त समय बिताउन पाउँदा अहिले आफूले अध्ययन गर्दै गरेको विषयको सार्थकता बुझ्ने मौका पाएको छु। हाम्रो देशमा लकडाउनमा जस्तै अरु दिन पनि सबैले खेतीपातीतिर चासो दिने हो भने सायदै हामी दैनिक जीवनमा अरू देश प्रति निर्भर हुनु पर्थेन। वास्तबमा हामीसँग के छैन ? प्रकृतिको अनुपम सौन्दर्य छ ,अग्ला अग्ला हिम श्रृङ्खला छन् , विश्वलाई चकित पार्ने जलाशय छन् , धनी भूगोल छ , भाषा, संस्कृति, मठ मन्दिर छन् तर कमी एउटै चीजको छ त्यो हो सही र कुशल नेतृत्वकर्ताको र असल सुशासनको ।तसर्थ यो अवधिलाई अवसरको रूपमा प्रयोग गर्न सक्ने रैछौ भन्ने कुरा यस लकडाउनमा मैले सिकेको छु।

घरबाट धेरै जसो अध्ययनको सिलसिलामा टाढा बस्नु पर्दा आमाको ममता उनको हातको खाना ,भाइसँगको लडाइँ र प्रेम,बाबाको स्नेह औधी सम्झन्थेँ। बिहानको सूर्य उदाउँदा कहिले आँखा मिच्दै फिल्डमा कुद्नु पर्दथ्यो भने कहिले ट्युसन पढाउन। दिनभरको भागदौडले साँझ कतिबेला निदरीको काखमा पुगिन्थ्यो पत्तै हुन्थेन।

बिदा हुन घरपरिवारसँग समय बिताउन दशैँ कुर्नु पर्ने जति समय पनि छोटो लाग्ने मलाई आजभोलिका दिनहरू निकै मिठाे लाग्दैछन्। म आमाको काखमा घण्टौं लुटपुटिरहेको हुन्छु। आजभोलि प्रसस्त समय छ कहिले बिहानीको मिर्मिरेसँगै उठ्छु र उदाएको सूर्य नियाल्छु कहिले भने खाना पाकेर खान उठ् भनेर भान्साबाट आमा कराएपछि मात्रै उठ्छु। ढिला उठ्दा रिसाएकी आमालाई खुसी पार्न केही गर्नै पर्दैन बश खाना थपेर खाइदिए पुग्छ। साँझ धेरै पारिवारिक कुराकानी हुन थालेको छ। हामी कहिले खाना खाँदै गर्दा घण्टौं सम्म पुराना दिन सम्झन्छौ।

कहिलेकाँही आमाले बाल्यकाल याद गराउँदै गर्दा फेरि त्यही दिनहरू फिर्ता आउँदैन आमा, म ज्ञानी थिए कि कस्तो ? पहिलो पटक ‘क’ भन्दा अरू के के भने ? म जन्मदा आकाश कस्तो थियो? म खुब प्रश्न गर्छु कहिलेकाहीँ आमालाई नै दिक्क लगाउँछु । आफूलाई धेरै कुरा आउँदा आउँदै पनि आमालाई सताइरहनुमा पनि छुट्टै आनन्द छ । आजभोलि मलाई आकाश र धरती दुबै एकैपटक नियाल्ने खुब समय छ। तारामा आकार बनाउँदै बस्ने म मात्रै हो कि अरू पनि कोही छ होला सोच्छु। भाइलाई पढाइरहँदा आफूले पढेको धेरै कुरा पुनः ताजा हुन्छ। समय रोकिएको हो कि फेरि दोहोरीएरहेको यो चाँहि छुट्याउन सकिराखेको छैन। वास्तवमा हामी सबै लाई जीवन धेरै प्रिय रहेछ भन्ने कुरा मृत्युको समिप भएपछि महसुस भयो।

समयको अभावमा बसेका दिनहरू सम्झन्छु र अहिलेको दिनमा तुलना गर्छु वास्तवमा हामीलाई के चाहिएको हो यो प्रश्न प्राय मेरो मनमा आउने गर्छ। घर ,परिवार, लक्ष्य, रहर, जिम्मेवारी, सम्बन्ध, सबै नियाल्ने अवसर पाएँ। सानै देखि म यस्तो परिवेशमा हुर्किएँ जहाँ माया र स्वतन्त्रता दुवै थियो। जतिनै लामो उडान भरेर आकाश खोज्ने सपना भए पनि थाकेपछि र समय क्रुर भएपछि फर्केर आउने रुखमा नै हो भन्ने पनि मैले सिकेँ। पूर्व मजदूरी गर्न गएका मजदुर र पश्चिम मजदुरी गर्न गएका मजदुर लकडाउनमा घण्टौको यात्रा गरेर पश्चिम वा पूर्व फर्केको दृश्यले अरूले के बुझेँ थाहा भएन मैले चाँहि सायद अन्त्यमा हामीलाई चाहिने आफ्नो परिवार र आफ्ना हुन्।

इन्टरनेट यो समयमा सबैको प्रिय बन्न पुगेको छ। मानिस सायद आज नेपालमा बसेर इटाली र युएसको न्युज हेर्न पाउँदैनथ्यो होला यदि इन्टरनेट हुँदैनथ्यो भने। धेरैलाई यसले समय बिताउन मद्दत गरिरहेको छ। सामाजिक सञ्जालमा आजभोलि निकै व्यापक चर्चा छ हरेक सानो देखि सानो चीजको पनि। कतिले आफ्ना प्रतिभा प्रस्तुत गर्ने मौका पनि पाएका छन्। म भने इन्टरनेटमा हालिएका धेरै कुरालाई ज्ञान र मनोरञ्जनको रूपले हेर्छु। मानिसहरूले विभिन्न खालको शिक्षा मुलक भिडियो, अडियो हालिरहेको हेर्छु, खानाका विभिन्न परिकार सामाजिक सञ्जालमा हालेको देख्दै गर्दा कतिलाई यो समयले मानसिक पीडा दियो होला,कति भोको पेट जिन्दगी गुजारा गर्दैछन् होला सोच्छु। यस्तो अवस्थामा कोही वृद्धको मृत्यु भयो भने? धेरै कुरा मनमा खेल्छन र अर्को पाटो समय निकै कारुणीक भएको महसुस हुन्छ।

जे जस्तो भए पनि जिन्दगीको नाम भोग्नु रहेछ । मैले धेरै कुरा सिक्दैँ छु र धेरै कुरा सिक्ने क्रममा छु। यो अवधिभर मैले आफू बनेर खुसीका साथ जिउनु नै वर्तमानलाई अँगाल्नु हो भन्ने कुरा सिकेँ। यद्यपि परिस्थिति अनुकूल हुँदै गर्दा फेरि उही पुरानो भागदौड, सफलताको खोजी र भविष्यलाई अंकमाल गर्नु त छँदै छ।

बन्दना भट्टराई

दाङ


चुनुमुनु

पेसाको हिसाबले म ड्राइभर। समय र परिस्थिति पनि कस्तो भएर आइ दियो भने जब म साउदीमा थिए। ४ वर्ष लगाएर दुःख सुख एउटा घर बनेको थियो। घर बनाइसके पछि खुसीले गदगद हुँदै छुट्टी म घर गकाे थिए। झ्याल ढोका थुन्दै थिए। डकर्मीहरुलाई विदाइ गरेर सुतेर बिहान उठेर नास्ता खाँदै थियो। भुइँचालोले सब खुसी छिन्याे। मेराे खुसीलाई दुःखमा परिणत गरिदियाे।

त्यसपछि दुःख सुख चल्दै थियो मेरो मायालुसँग विवाह भयो र मेरो खुसीको दिन सुरु भयो। तर समय परिस्थितीले फेरि मुग्लानको बाटो रोज्नु पर्याे। हाल म कुवेतको माबुल्ला भन्ने ठाउँमा छु। वरिपरिको सबलाई कोरोना लागि सक्यो। हामी पनि रूम भित्र छाैं। दिमागमा अनेक थरी कुरा आइरहन्छ। यहाँको भन्दा नेपालको बढी चिन्ता लाग्छ।

लकडाउन हुनु भन्दा २ दिन अगाडिको टिकट थियो घर जाने। सामानहरू सब प्याक गरेर मन खुसी थियो। जानु २ दिन अगाडि नै लकडाउन भयो। मेरो भाग्य भनुँ या समयको खेल।

मेरा दुई छाेरा छन्। अहिले त कान्छो छोरा पनि हिड्ने भइसक्यो।’पापा नमस्ते’ पनि भन्छ। ज्यान मात्र यहाँ छ, मन त उही गाउँ घर सन्तानसँग छ। मेरो इच्छा नै मेरो चुनुमुनुलाई खेलाउने हो। तर दिनका दिन आँखाको सामुन्नेबाट कोरोना पोजेटिभहरुलाई लाइन लगाएर लैजाँदा त नेपाल पनि कसरी जाने हाेला जस्तो लाग्छ। तर मनले हरेस खाएको चैँ छैन। दैनिक एक्सरसाइज गरेर दिन कटाइरहेको छु। अनि हेर्न कथा हेर्याे बस्याे भएका छन् दिनहरु।

इलिगल बसेकाहरुलाई यहाँको सरकारले फ्रिमा नेपाल पठाउनु लाको छ। तर नेपाल सरकारले ध्यान नदिँदा यहाँ उहाँहरू विचल्लीमा पर्नुभएकाे छ। प्रत्येक देशको एम्बेसी आएर आफ्नो नागरिक लागिराको छ। मसँगै बस्ने इन्डियन साथीलाई पनि लागिसक्यो। इन्डियन एम्बेसी आएर जाने जतिको लिस्ट पनि लागिसक्यो। हाम्रो मात्र यहाँ ‘मरे बाँचेको ख्याल गर्दैन’ किन होला! उनीहरूको त राहत पनि ल्याएर दिन्छ एमबेसीले, हाम्रो मात्र किन यस्तो होला!

उही परदेशी कान्छा,

प्रमाेद शेर्पा

कुवेत

हजुरआमाको सम्झना

“हल्लो नानी सन्चै छौ?” 

“नमस्ते आमा, ठिक छ अनि हजुर!”

“त्यहीँ त हो यो घुँडा दुख्ने समस्याले कहिल्यै नछोड्ने भयो,कोरोना हो कि के आछ अरे बाहिर फेर ननिस्क है। गाडी नि बन्द भयो अरे नत्र यही आए हुन्थ्याे”

म झसङ्ग बिउँझिए “ओहो! सपना पो रहेछ।’ आँखा भरि आँशु आयो। हजुरआमालाई सस्झिएर !  हन, यो कस्तो माया हो! आफू नै संसारमा नहुँदा पनि सपनामा आएर भएपनि सम्झाउन नछोड्ने !! एकछिनसम्म टोलाइरहे। अनि सोचेँ – आज आमा भइदिएको भए कस्तो हन्थ्याे होला! हामी पनि अरुजस्तै हतार हतार गरेर गाडीमा कोच्चिएर भए पनि गाउँ जान्थ्याैं होला! चार वर्ष बितिसकेछ आमाले छोडर जानुभएकाे पनि।

त्यसकाे एक वर्ष अगाडि त हाे बुवाले पनि हामी सबैलाई छाेडेर जानुभएकाे। समय पनि कति छिटो बित्दो रहेछ नि! 

हिजो जस्ताे लाग्छ दशैंमा घर गएको बेलामा आमाको पछि पछि लागेर गाउँ डुलेकाे, बारीमा तरकारी टिपेको, दाउरा लिन गएको अनि चुलोको छेउमा आमासँगै बसेर आगो ताप्दै तातो तातो दुध पिएको। सबै सम्झना न भए अब। कहिले आउलान् र ती दिनहरु? आमाले भैसी दुहुन जाँदा पछिपछि  लागेर जान्थेँ अनि अनि अलि परै बसेर हेर्थे। “नजिक नआऊ है फेरि भैसी चम्किन्छ” आमा भन्नुहुन्थ्याे। अनि म आमालाई जिस्काउँदै भन्थे,“भैसी त केटी नै हो के आमा,मलाई देखेर चम्किदैन।”

कति रमाइला थिए ती दिनहरु, कति प्यारा थिए ती पलहरु। अनि कति निश्चल थियाे त्यो मायाको आभाष।वास्तबमा हजरबुवा हजुरआमाको नाति नातिनी प्रति कति चोखो माया हुन्छ, त्यस माथि म त घरकी जेठी नातिनी, ममीले भन्नुभएको म जन्मदा बुवाले बार्दलीमा गएर पटका पड्काउन भएको थियो अरे। अनि मेरो छैटी पनि गर्दिनुभएकाे थिए अरे! त्यतिबेला छोरा जन्मदा मात्र छैटी गर्ने चलन रहेछ। सुरु देखि नै बुवाआमाको काखमा पुल्पुलिएर हुर्केकी भएर होला आज सम्म पनि कसैले ठूलो आवाजमा केही भन्यो भने सहन नसकेर आँखाबाट आँशु खसिहाल्छ।

पढाइको लागि गाउँ छोडर सहर झरेपनि हरेक दिन बुवाआमाको सम्झना आइराख्थ्यो। त्यतिबेला फोनको सुबिधा 

त्यति थिएन। गाउँमा एउटा मात्र टेलिफोन हुन्थ्याे। सहरमा पनि पसलमा टेलिफोन हुन्थ्याे, मान्छेकाे हातहातमा मोबाइल हन्थेन। कहिलेकाहीँ घरबाट फोन गर्नुहुन्थ्याे। हामी स्कूलमा हन्थ्याैं। पढाइराखेको बेला बुवा लिन आउनुहुन्थ्याे। अनि हामी उफ्रिदैँ खुसी हुँदै जान्थ्याैं फोनमा कुरा गर्न।

नयाँ वर्षकाे क्यालेन्डर पाउने बित्तिक्कै दशैं कहिले पर्छ हेरिन्थ्याे, अनि दशैंमा गाउँ जाने सपना सजाउन थालिन्थ्याे। तीज सकिने बित्तिक्कै दिन गन्न सुरु हुन्थ्याे दशैंलागि। कस्ताे समय परिवर्तन भएछ। अहिले न दशैं आउने उत्साह छ न त गाउँ जाने नै।

जुन दिन आमाले हामीलाई छोडेर गएको थाहा पाएँ,मलाई त्यतिबेलाबाट नै भगवानमा विश्वास लाग्न छोड्यो। सुरुसुरुमा त निकै गाह्राे भयो, कति आँशु बग्यो, बाटोमा हिड्दा कति बुढाबुढी मान्छेहरु देख्न्ने बित्तिक्कै नरमाइलो लाग्याे। मेरो बुवा आमा भइदिएको भए कति मज्जा हन्थ्याे होला।

आमा बितेकाे एक वर्षसम्म प्राय जस्तो सपनामा देखिरहन्थेँ। एउटै सपना दोहोरिरहन्थ्याे। आमा बित्नुभयो भनेर रुदैँ घर जाँदा आमा चैँ जिउँदै भएको। तर त्यो त केवल सपना न हुन्थ्याे वास्तविकता फरक थियो। मनले अझै त्यो तितो सत्यलाई स्वीकार्न नसकेर होला सपना त्यस्ताे देखिने। आज चार वर्ष बितिसक्दा पनि एक दिन छैन जुन दिन आमाको याद न आएको होस्।साथीहरुले अहिले लकडाउनकाे बेलामा हजुरबुवा हजुरआमामासँग समय बिताएकाे अनि फेसबुक, टिकटकमा राखेकाे फोटो भिडियाे देख्दा कति सम्झना आउँछ। तर के गर्नु संसारको नियम यस्तै रहेछ। कसको कति महत्व हुन्छ भन्ने कुरा उसको अभावमा मात्र थाहा हुने रहेछ।

म सबलाई आफ्नो हजुरबुवा हजरआमा साथमा हुँदासम्म उहाँहरुलाई माया गरौ, खुसी राखौं , सेवा गरौं भन्न चाहन्छु।

अस्मिता न्याैपाने

काठमाडाैं

 

डामाडाेल पढाइ

ओहो ! आज त लकडाउन भएको पनि ५१ औँ दिन पो भइसकेछ त। यति लामो बिदा त धेरै विद्यार्थी र कर्मचारीलाई सायदै पहिलो पटक भयाे। हुन त यति बिदा म जस्तो विद्यार्थी अर्थात एक सरकारी क्याम्पसमा अध्ययनरत विद्यार्थीको लागि नौलो भने होइन। म त घर आएको पनि ५ महिना पूरा भएर ६ महिना लागिसकेछ। म एउटा सेमेस्टर पूरै घरै बसिसकेछु र एउटा सेमेस्टरको पढाइ भने डामाडोल नै भइसकेछ।

यो लकडाउनको समयमा सबै परिवारको सदस्यहरु ख्याल ठट्टा गर्ने, रमाइलो गर्ने, मिठा मिठा परिकार पकाएर खाने अवसर जुटेको छ। परिवारसँग हाँस्दा खेल्दा त आफ्नो पढाइको बारेमा बिर्सिन्छु। तर पनि मनमा लागेको पिर बिर्सिन कहाँ सजिलो छ र ! जब यस्तो पिर पर्छ तब आफ्नो मनलाई भुलाउन कहिले आफूलाई मनपर्ने गीत सुन्छु त कहिले फिल्म हेर्छु अनि कहिले बरण्डामा गएर आकाशलाई नियाल्छु। वारीपारी देखिएका बनपाखा हेरेर खुसी हुन्छु। कहिले बारीका बोटबिरुवा रुखहरु हेरेर हर्षित हुन्छु र ती रुखहरुमा भएका चराचुरुङ्गी हेरेर दङग पर्छु। म एक फरेस्ट्रिको विद्यार्थी भएर होला बोटबिरुवा रुखहरु चराचुरुङ्गीहरु देखेपछि उनीहरुसँग एउटा छुट्टै किसिमको लगाव हुन्छ।

सबै मानिसको एक निरन्तर रुपमा चलिरहेको दैनिकिलाई यो लकडाउनले बिथोलिदिएको छ। यो प्राकृतिक प्रकोपले एउटा लयमा चलेको मानवीय जीवनशैली फेरिदिएको छ। याे बन्दले यहाँका बाल बच्चा देखि वृद्ध सम्मको लय विथोलिएको छ।बिहान सबेरै उठेर छिटो खाना तयार पारेर अफिस जान हतार पर्नेहरु अहिले आरामले उठेर चिया नास्ता गर्ने भएका छन्। यस लकडाउनले विश्व अर्थतन्त्र तहसनहस पारेको बेलामा आम नागरिकलाई चिन्ता थपिनु स्वभाविक हो। हिजोको दिनमा खुलस्तरुपमा खर्च गर्नेहरु पनि अहिले खर्च गर्न केही हिच्किचाउन पर्ने भएको छ।

भनिन्छ नि सबै कुराको सकरात्मक र नकरात्मक दुबै पक्ष हुन्छ । त्यस्तै अंग्रेजी वर्ष २०१९ को अन्तिम दिन चिनको वुहानवाट फैलिएको यो महामारीले विश्वका झण्डै ३ लाख मान्छेको मृत्यु भइसकेको छ । आफ्ना जनताको उपचारमा सम्पूर्ण शक्ति खर्चने शक्ति राष्ट्रहरु आज दिन दिनै हजारौ मान्छे मर्दा पनि केही गर्न सकिरहेका छैनन्। तर यसका राम्रा पक्ष पनि छन्। सधैँजसो धुलो र धुँवाले भरिने सहरहरु सफा देखिन थालेका छन् र यससँगै प्रकृतिले जितेकाे छ।

लामो समयको फुर्सदले मानिसहरुको जीवनशैली निकै पट्यारलाग्दो भएको छ भने भविष्यकाे चिन्ता बढेको छ। यो महामारी कहिलेसम्म रहन्छ र कति प्रभाव पार्छ भन्ने बारेमा आज नै भन्न सकिन्न।यो बेला घरमा रहेका हामीले हाम्रो संस्कार रहनसहन र प्रकृतिसँगको सामिप्यता वारेमा बुझ्ने र बुझाउने अवसर प्राप्त भएको छ। प्रकृति भन्दा भिन्न कृतिम जीवन जिइरहेका हामी तरकारी, दुध, चामल जे खाँदैछाैं त्याे सब कहाँबाट आउँछ? के हो ? भन्ने जानकारी नहुनेलाई बुझ्ने अवसर भएकाे छ। अहिले म जस्ताको लागि बा आमासित घर र खेतबारीमा यस्ता कुरा सिक्ने अवसर मिलेको छ ।

यो महामारी अहिल्यै समाप्त हुने लक्षण देखिदैन तसर्थ सानो असावधानीले पनि ठूलो खतरा निम्तने हुँदा हाम्रो खानपान उठवसमा सावधानी अपनाउँदै हाम्रो शरीरमा महामारी विरुद्ध लड्न सक्ने प्रतिरोध शक्तिको विकास गर्दै स्वास्थ्यका सामान्य नियम सावुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने आदि कामलाई निरन्तरता दिनुपर्दछ ।

उत्पल देवकोटा

आँबूखैरेनी, तनहुँ


सिरियस्ली!

स्नातक तेस्रो वर्षको फाइनल परीक्षा नजिकदै थियाे। कोर्स सकिएको थिएन। त्यसैले हामीले एक्सट्रा क्लासको व्यवस्था गर्नको लागि डिपार्टमेन्ट प्रमुखलाई पत्र पठाएका थियौं। सरले पनि केही दिनमा सबै प्रबन्ध मिलाउने कुरा बताउनु भएको थियो। हामी परीक्षा कै तयारीमा थियौं। 

यसैबीच कोभिड-१९ अर्थात कोरोना भाइरस सुरू भो चाइनामा। म जान्ने भएदेखि कुनै पनि यस्ता भाइसहरुको हल्ला सुनिएको थिएन् नेपालमा। त्यसैले हामीले यसलाई मजाक कै रुपमा लियाैं। तर समय बित्दै गयो, भाइरस लाग्ने मात्र होइन । लागेर मर्नेहरूको समाचार बाहिरिएसँगै अन्य देशमा पनि फैलिएर यसले पारेको प्रभावका समाचारहरू पनि आउन थाले। छिमेकी राष्ट्र भारतमै पनि संक्रमितको संख्या ह्वात्तै बढ्यो। हिजो-अस्ति सम्म मजाक गर्दै हाँसोको विषयवस्तु बनाएको कोरोनालाई मेरा साथीहरू पनि सिरियस्ली लिन थाले, म स्वयं पनि।

 हामी यति सम्म सिरियस्ली लिन थालेछौं कि, हाम्रो मनमा अनेकौ डर पैदा हुन थाल्यो। यसै त कोरोनाको डर, अझ सरकारले गरेको “लकडाउन”को कुराले झनै डर पैदा गर्यो। सरकारको निर्णय मनासिब थियो । तर हामी बाहिरबाट आएर काठमाडौँमा बस्नेहरूको लागि खान बस्न समस्या हुने ठानेर म प्यूठान फर्किएँ।         

लामो समयदेखि अध्ययन र अन्य कामको बहानामा घरभन्दा बाहिर नै बितेका थिए दिनहरू। चाडपर्वको बेला घर आएपनि फर्कन उस्तै हतार हुने। धन्न इन्टरनेट छ, नत्र त गाउँमा भएका नयाँ गतिविधिसँग बेखबर हुनुपर्थ्यो।          

अहिले गाउँघरमा गहुँ भित्र्याउने, मकै छर्ने काम छ। म पनि यिनै काममा परिवारलाई सघाउँछु। यो परिस्थितिले हामीलाई एउटा सुनौलो मौका पनि दिएको छ। आफ्नो समय सिर्जनात्मक काममा खर्चने र आफूलाई सिर्जनशील बनाउने। म पनि यसलाई सकारात्मक तरिकाले उपयोग गर्दैछु।

मैले यहीँ समयमा थुप्रै कविता, गजल र मुक्तक पनि रचना गरें। यसको बारेमा थप अध्ययन गर्ने मौका मिलेको छ। त्यसैले अझै सरल भएको छ। बेला-बेला अनलाइन प्रतियोगिता पनि हुन्छ। जसमा सक्दो सहभागी हुन्छु। थुप्रै साहित्यिक संस्था तथा मिडियाले लाइभ प्रोग्राम चलाउँछन्।म सुनेर र हेरेर दिन बिताउँछु। यसबाहेक आफ्नो कोर्स बुकहरू पढ्ने त छदैछ। बाँकी समय चलचित्र हेरेर बित्छ।          

बिहानैदेखि कलेज, बाँकी समय कलेजकै जब, अनलाइन यस्तै कुरामा प्रायः व्यस्त हुने हुनाले आफन्त र साथीहरूसँग दुरी बढ्दै गएको थयो। कतिपय त ‘तिमीले भुल्यौ’ भनेर रिसाउनु पनि हुन्थ्याे। तर अहिले लकडाउनले सबैसँग बोल्ने मौका दिएको छ। आफन्त र साथीहरुसँग कुराकानी गरेर सम्बन्ध सुमधुर बनाउन पाइएको छ।              

वास्तवमा कोरोनाले हामीलाई एउटा राम्रो लेसन पनि दिएको छ। प्रकोपले कुनै पनि आधारमा कसैलाई पनि विभेद गर्दैन; जात,धर्म,वर्ण,धन वा बल। त्यसैले सक्षम भनिनेले असक्षमलाई हेप्ने-चेप्ने होइन। सबैमा सम भावको विकास हुने संकेत पनि हाे याे।

यसैबिच मास्क, चामल, नून, तेल लुकाउने जनप्रतिनिधि र राजनीतिक पार्टीको कर्तुतका समाचारहरूले फेरि मानिसको तुच्छताको सिमा छर्लङ्ग पार्छ। यस्तो महामारीको बेलामा पनि मित्र राष्ट्र भनिने भारतले नेपाली भूमीमा गरेको सडक निर्माण र चाइनाले ट्विटर मार्फत सार्वजनिक गरेको सगरमाथा सम्बन्धि समाचारले अझै मन दुखाउँछ। आफ्नो भूमी र हाम्रा गौरवका विषयहरूमा बिदेशीले हस्तक्षेप गरिरहँदा, सरकार आन्तरिक भागबन्डामै ब्यस्त छ। कसले हेर्छ सिमाना, सगरमाथा र लिपुलेक!!               

आज लकडाउको पचासौं दिन, संक्रमितको संख्या २१९ पुगेको छ भने निको हुनेको संख्या ३५ पुगेको छ। अहिलेसम्म कोरोनाको कारणले देशमा कसैको मृत्यु नभए पनि, रोजगारी तथा अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा रहेका नेपालीको मृत्युको खबरले स्तब्ध तुल्याउँछ।              

 अस्मिता के.सी. 

प्यूठान

पूर्णविराम।

पेशाको हिसाबले म केटाकेटी पढाउँदै हिडेँको एक शिक्षक हुँ। विगत चार वर्षदेखि म काठमाण्डौँको मुटु न्युरोडमा अवस्थित एक सरकारी विद्यालयमा पढाउँदैछु। दुर्गम गाउँमा जन्मिएर मुस्किलले शिक्षा आर्जन गर्दै करिब आधा दशक पिछडिएका गाउँ बस्तीहरुका विभिन्न विद्यालयमा पढाएपछि देशको राजधानी काठमाण्डौको शिक्षक हुने साैभाग्य मिलेको थियो। आर्थिक, सामाजिक र शैक्षिक धरातलको असाध्यै पिंधबाट आएको मान्छे म। उच्च शिक्षा अध्ययनको क्रममा पनि काठमाण्डौँले  मलाई बारम्बार लखेटेको तितो सम्झना ताजै छ। २०७२ साल पछि भने काठमाण्डौँ मै टिक्ने र औपचारिक अध्ययनको लागि केही बलियो आधार बन्याे।

अरु बर्षहरु भन्दा यस वर्ष मेरो निम्ति उपलब्धी र चुनौतीहरु ज्यादा भएको वर्ष थियो। विद्यालयको नियमित कक्षाहरुका साथै पेशागत दायित्वहरु अनि कलेजको औपचारिक अध्ययनको अन्तहिन शृङखलाहरु। काठमाण्डौँको केन्द्रमा बसेर आगामी जीवन यात्रामा देखेका अनन्त र सिमाहिन फाँटहरु। यसरी अध्ययन र अध्यापनको सघन चापबाट निस्केका केही फुर्सदिला समय सामाजिक संजालमा टहलिँदा डिसेम्वरको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको एक किसिमको भाइरसबारे थाहा भयाे। केही महिनामै विश्वभर यो भाइरस सुकेको खरमा लागेको फिलिङ्गो सावित भयो।

बढी चहलपहल रहने काठमाण्डौँको केन्द्र न्युरोड र यहाँको जनजीवनलाई प्रभावित नबनाउने कुरै थिएन। न्युरोडमा भेटिने सबै मानिसहरुमा एक किसिमको संशय, छटपटी र त्रासदी देखिन्थ्यो। उनीहरुको एउटै प्रश्न थियो अब के हुन्छ ? कसरी अगाडि बढ्छ? जतिखेर चीनको वुहान शहर पुरै लकडाउनमा थियो। निकट भविष्यमा हामीले पनि कठोर लकडाउनको सामना गर्नु पर्ने कुरा  न्युरोडमा बसेर अनुमान गर्थ्यौ।
चैत दश गते देश पुरै लकडाउन हुनु पूर्व नै न्युरोडका व्यस्त सडक र गल्लीहरु करिब करिब सुनसान भइसकेको थियो। मेरो विद्यालय अघि सधैँ अटेसमटेस रहने पार्किङ स्थल खाली खाली भइसकेको थियो। मानिसहरु दैनिक उपभोग्य सामग्रीहरु ग्यास,दाल,चामल र नुनको जोहो गर्न हतारिरहेको देखिन्थ्यो। पेट्रोल पम्प अगाडि घण्टौ लाग्ने लामो लाईन लागेको थियो। न्युरोडका सधैँ व्यस्त दुकानहरुमा काम गर्ने कामदारहरुले काम छोडेका थिए।न्युरोडको स्थिति एक किसिमले भन्ने हो भने भयानक हुरी आउनु अघिको सन्नाटा जस्तै थियो।हामीले पनि विद्यालयको पढाइ र परीक्षालाई निर्धारित सम़य अगावै सकायौँ। संभावित जोखिमलाई ध्यान दिएर विद्यालय बन्द भयो।

त्यसपछि काठमाण्डौँ बसाइँ रोगको प्रकोपको जोखिम, दैनिक उपभोग्य सामग्रीहरुको अभावसँगै अझै कष्टकर हुने लागेर  चैत नौ गते मात्र आठ महिनाको छोरी बाेकेर, पोको पन्तुराे कसि हामी तीन जना बाइकमा एक किसिमले जोखिमपूर्ण यात्रा गरेर भएपनि गाउँ फर्कने निष्कर्षमा पुग्यौं।

राति अबेर हामी कतै ठाउँ नसरि बसेको गन्तव्य आइपुग्यौं। त्यसपछिका केही दिन काठमाण्डौँबाट धेरै मानिसहरु गाउँ आए।गाउँमा झरेका मानिसहरुले सर्वप्रथम सिस्नुका झाङहरु रित्याए। जंगलमा भेटिने निउरो, कर्कलो र खान मिल्ने जति जे भटिन्छ सकाए। त्यसपछि खोलाको माछा, बनका कालिज, कुखुरा, खसी, बोका, बाख्रा, राँगा भैंसी ,बंगुर केही बाँकी हुने कुरा भएन।

कोही समह समुह बनाएर गाउँ गाउँ डुल्दै हिडें त कोही बाँझो खेतबारी फुटाउन र झाडी फाड्न तिर लागे। कोही बाल्ने दाउराको जोहो गर्न तिर लागे। सुनसान बनिरहेको सहर लकडाउनले बाहिर निस्कनसम्म पनि नमिल्ने, तर गाउँमा भने एक किसिमले उत्सव जस्तै भएको थियो। लकडाउनको करिब महिना दिनपछि काठमाण्डौबाट गाडीका गाडी तरकारी, टमटार,दाल,चामल,चिनी,तेल र नुन गाउँ गाउँ बिक्रीका लागि आइपुग्यो। बुझ्दै जाँदा काठमाण्डौँमा बिक्री नभएपछि व्यापारीहरु गाउँ पसेका रहेछन्।मैले बुझेको थिए, लकडाउनले काठमाण्डौमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हनेछ जीवन अति कष्टकर हुन्छ तर भयो उल्टो। अहिले त झन दिनहुँ जसो दैनिक उपभोग्य सामाग्रीहरु काठमाण्डौँबाट निर्वाध रुपमा यता आइरहेका छन। 

यतिखेर म आफ्नै गाउँमा बसि यो डायरी लेखिरहेको छु। सायद लकडाउन नभइदिएको भए यतिखेर म विद्यालयको नियमित कक्षा पेशागत जिम्मेवारी,विद्यालयको आगामी कार्यक्रमको लागि कुदिरहेको हुन्थे। साथै न्याय सेवा आयोगको पढाइ, परीक्षा, बार काउन्सिलको परीक्षा,चैत वैशाख जेष्ठ महिनामा हुने भनिएकाे एम ए राजनीतिशास्त्रको परीक्षाकाे तयारीमा लागिरहेको हुने थिए। तर विडम्वना नै भन्नु पर्छ कोरोना र लकडाउनले जिन्दगीका सबै निर्धारित तालिकाहरु बिथोलिदिएको छ। नियमित कामहरु भन्दा बिल्कुलै भिन्न कामहरु गाउँमा गोरु किन्ने देखि सुरु गरेर, बाँझो खेतबारी जोत्ने, मकै रोप्ने, घाँस दाउरा लगायत घरायसी कामहरुमा दैनिकी बितिरहेको छ। जुन कामहरुमा मेरो पुरै बाल्यकाल बितेको थियो। याे बिचमा बाँझो फुटाउने देखि मकै रोपेर एक सरो गोड्ने बेला भइसक्यो।

तर कोरोनाको जोखिम कम हुने र लकडाउन खुलेर नियमित काममा फर्कने कुनै छाटँकाट देखिएको छैन। हुन सक्छ रोपेको मकै फलेर खाइ सकेर अर्को मकै रोप्ने बेला सम्म पनि यही जाममा अल्झिनु पर्छ। लकडाउनले गर्दा आठ महिनाको सानी छोरीसँग मज्जाले खेल्ने र रमाउने अवसर पनि पाएकाे छु। छाेरी अब दश महिना पुरा गर्दैछिन्। के थाहा मेरो सानी छोरीकाे बोलि सक्ने समयसम्म पनि यो कोरोनाको त्रासदी सकिने हो, होइन? प्रश्नहरु आफै भित्र गुजुल्टिएर आउँछन। तर उतर निक्कै कठिन छ।

भन्ने हो भने एक किसिमको कोरोनाले मडारिरहेको कुहिरोमण्डल भित्र छ जीवन। कोरोनाले आफ्नो उन्माद देखाउन कम गरेको छैन।  पुरै विश्वलाई नै लपेटिरहेको छ। अझै के हुन्छ र कसरी अगाडी बढ्छ भन्ने सनसनीपूर्ण प्रश्नको भुमरीभित्र रुमल्लिएको छ हाम्रो यात्रा।

हो मलाई राम्रैसंग थाहा छ कि, हरेक विनासको गर्भभित्र विकासको बिउ हुन्छ। मानव, इतिहासको लामो कालखण्डदेखि डरलाग्दो प्रकृतिसँग जुध्दै आयो। जंगली जनावर, नदि, पहाड, हिउँ, बाढीपहिरो, चट्याड़, ज्वालामुखी, भुकम्प, प्लेग भनिने महामारी, हैजा, एड्स, स्वाइनफ्लुदेखि घातक इबोलासम्म। ओडारदेखि अन्तरिक्षसम्म, आदिम मानव देखि आधुनिक अभिनवसम्मको विकासमा प्रकृतिकै योगदान  छ । 

बिस्तारै विश्व आफ्नो स्वभाविक गति र लयमा फर्कन्छ अनि एउटा अनिश्चयको यात्राको सफल पूर्णविराम हुनेछ।

प्रतिक लामा

चौरी देउराली, काभ्रेपलान्चोक

उल्टाे चप्पल

आजकाल म चराहरूसित गुनासो गर्छु। मलाई चरासँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु। म कुकुरहरूसँग गनासो गर्छु। मलाई कुकुरसँग आरिस लाग्छ। भनौँ म आरिसे भएको छु।

केही काम नभए घरमा बस्नु जस्तो मजा संसारमा अन्त कतै आउँदैन। तर होइन रहेछ। आफू बस्ने कोठा पनि वा आफू बस्ने घर पनि यतिसम्म दिग्दारलाग्दो बन्छ? सायदै कसैले सोचेका थिएनन् । हो त्यही नसोच्नेमा म पनि एक थिएँ।

म राजधानीमा थुनिएको छु,यो मैले भन्नु हुँदैन। किनकि हामी थुनिएका होइनौ। हामीले कसैलाई ‘मलाई बन्दकोठामा थुन वा घरमा थुन’ भनेर अर्हाएका छौँ। त्यसैले हामी थुनिएका छौँ, आफैँबाट। र बाँच्नको लागि यस घडीमा आफैलाई थुन्नुभन्दा अन्य सुन्दर उपाय केही पनि छैन ।

जब जब झ्यालबाट चराहरू बेपर्वाह उडेको देख्छु, जब सडकमा कुकुरहरू बेतोडले दौडेको देख्छु, तब स्वतन्त्रताको महत्व कति रहेछ अनुभव हुन्छ। जिन्दगीमा मान्छेले केही सिकेन होला, तर यो लकडाउनमा मान्छेले बाँच्न भने सिक्यो। कमसेकम आफ्नो लागि बाँच्यो। मान्छेले करौडौँको व्यापार बन्द गरेर घरभित्र बस्याे। मान्छेले धेरैकुरा गुमाएर घरभित्र बस्याे। मान्छेले यो लकडाउन भर यही सोच्यो कि बाँचियो भने फेरि गरौँला।

डिसेम्बरमा नै देखिएको महामारी नेपालमा आइपुग्न चार महिना लाग्यो। सरकारले पूर्व तयारी गर्नु पर्दथ्यो, गरेन। यसमा सरकार चुक्यो। ठीकै छ! सरकारले धेरै व्यवस्था मिलाउनु पर्ने हो। तर सकिरहेको छैन, त्याे पनि ठीकै छ। तर ‘किन’ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। नेतृत्वकर्तालाई जनताले सत्तामा पठाएका हुन्। त्यसैले पनि जनतालाई ‘किन’ भन्ने प्रश्न सोध्ने अधिकार अवश्य छ ।
सरकार गरिब हुन पाउँछ तर व्यवस्थापनमा हामी गरिब छौँ भनेर सरकार भाग्न भने पाउँदैन। धनी मानिएको देशको हालत पनि हामीले लकडाउन हुँदै सुनेका छौँ र देखेका छौँ। व्यवस्थापनमा अर्थले फरक पार्न सक्छ तर तरिकाले फरक नपार्नुपर्ने। सरकार त्यति पनि गरिब भने छैन जति हामीले सोचेका छौँ । हुँदै नभएको पानी जहाज कार्यलयको लागि करोडको गाडी किन्न सक्ने सरकार कसरी गरिब छ ?

टेलिभिजन प्रस्तोता विजय कुमारले केही दिन अगाडि एक भिडियोमा भनेका थिए – “ बिनोद चौधरीले पिपिइ बाड्दा नेपाली जनताले गुनगान गाइदिनुपर्ने ? ” यो भिडियो हेर्दा मलाई यो कुराले चाहिँ धेरै नै छोएको थियो । देशमा सङ्कट आउँदा धनाड्यकै अनुग्रह मात्र चाहिने हो र ? हामीले नेतृत्व गर भनेर पठाएकाहरूको चाहिँ के काम ? माथि बसेर के चाहिँ गरिरहेका छन् ? जवाफ कसले दिने ?
यो लकडाउनभर नेपाली जनताले तत्कालिन सरकारलाई भित्रसम्म पढ्न पाएको छ । अरूबेला राजनीतिमा चासो नदिनेलाई पनि लकडाउनले समाचार पढ्न लगाएर राजनीति सिकाइरहेको छ । यस अर्थमा नेपाली जनताले सरकार चिने । म कुनै पनि राजनैतिक विचारलाई समर्थन गर्दिनँ। यस मानेमा म एक स्वतन्त्र नेपाली नागरिक हुँ। मतदान गर्न पाउने मेरो अधिकार छ। र सत्तामा पुगेको सरकारलाई यो काम राम्रो भएन वा यो काम राम्रो भयो भन्ने अधिकार पनि मेरो छ।

यी त भए सरकार र राजनीतिका कुरा जुन कहिल्यै सकिन्नन्। यो डायरी लेख्न सुरु गर्दा लिपुलेक र कालापानीको कुरा उठिसकेको छ। हेरौँ सरकारले के गर्छ।

म लकडाउनमा पूर्ण बच्चा भएको छु। म यो लकडाउनभर चौबीस घण्टामा करिब पाँच घण्टा बच्चा भएर बिताइरहेको छु। म आफ्नो बालापनमा फर्किरहेको छु। बाल्यकालमा जुन कुरा गर्न मन लाग्थ्यो, तर डर लाग्थ्यो त्यो कुरा गरिरहेको छु । तर कोठाभित्र सम्भव हुने मात्र।

कहिले म उल्टो चप्पल लगाएर उभिरहन्छु। चार दिन सम्म दाँत नमाझी बस्दिन्छु। कयौँ दिनको अन्तरालमा नुहाउने आँट गर्छु। यस्ता कुराले मलाई बाल्यकालमा लैजान्छ। जति धेरै बाल्यकालमा फर्कन सक्यो त्यतिधेरै मलाई फाइदा छ। केही वर्ष अगाडि बाल्यकालमा रहेर एउटा किताब लेखौँला भन्ने सोचेको थिएँ तर कसरी थाहा थिएन। केही प्रतिशत अल्छि मानेर हुनसक्छ, केही प्रतिशत बालापनमा फर्कन नसकेर हुनसक्छ। तर अहिले जमर्को गरेको छु बाल्यकालमा फर्केर केही लेख्न। लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि जागिर छाडेको थिएँ। त्यसैले मसँग पूरै समय थियो र छ।

मैले लकडाउनमा आफैँलाई चिन्ने मौका पाएको छु। मेरो मस्तिष्क दिनमाभन्दा रातमा धेरै उर्जावान हुन्छ भन्ने कुरा पत्ता लगाएको छु। केही समयबाट दिनभर सुत्ने रातभर जाग्ने मेरो दैनिकी बनेको छ।

मान्छेलाई जसै बाँच्नु न रहेछ। मान्छे हर समय बाँच्न खोज्दो रहेछ। मान्छेलाई मृत्युसँग डर लाग्दो रहेछ। आत्महत्या गर्न तयार रहेको मान्छे पनि अन्तिम पल्ट नमरौँ कि भनेर सोच्छ रे! सायद जिन्दगी भनेको बाँच्नु हो। त्यसपछि आउने जागिर, धर्म, श्रीमती, छोराछोरी अलग कुरा हुन।

नदीको पुछारमा पुगेर टक्क रोकिएर माथिबाट नदी बग्दै आएको हेर्नु जस्तो मजा अरू के छ? जिन्दगी अहिले लकडाउनमा अल्झेको छ। योबेला आफ्नो पछाडि छाडिएको जीवनलाई हेर्नु जति मजा अरू के छ?

समय आउँछ र जान्छ। आउनेलाई समाउनु र जानेलाई छाड्नु नै प्रकृतिको नियम हो। समय जसरी स्थीर छैन, त्यसरी नै प्रकृति पनि स्थीर छैन।

निरज दाहाल

झापा

बन्दले मामाघरै

मेरो पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिस नगरपालिका हो। म पढ्नकाे लागि ममीसँग सुर्खेतमा बस्छु। मेरो घरमा हजुरबुबा, हजुर आमा, बाबा,मामु, भाइबहिनी, काकाहरु, काकीहरु र फूपू हुनुहुन्छ। मेरो बाबा गाउँको स्कुलमा बिज्ञान बिषय पढाउनु हुन्छ। म सुर्खेतमै बसेर पढ्छु। 

कक्षा २ को एउटा परीक्षा बाँकी नै थियाे। तर बिद्यालय बन्द भयाे। त्यसपछि बाबा, मामु र म मामाघर दुल्लु गयौँ। लकडाउन सुरु भएदेखि अहिलेसम्म मामाघरमै छु। मामाघरमा तिदुँ, काफल, चुत्राे खाएर रमाइलो गर्दै समय बित्छ। बेलाबेलामा स्यानिटाइजर,साबुन पानीले हात सफा गरिरहन्छु। बाबा र हजुरबुवाले समय समयमा चुट्किला, कथा सुनाउनु हुन्छ। मामाघरदेखि  यताउता कतै पनि गएको छैन। अब लकडाउन खुलेपछि हजुरबुवा हजुरआमालाई  भेट्न जान मन छ।अनि बाँकी भएकाे परीक्षा दिन सुर्खेत पनि जानुपर्छ।

तपाईंहरु पनि घरमै बस्नुहोस् र सधैँ साबुनपानीले हात धुनुहोस् है!

युनिका तिमिल्सेना 

दैलेख

राईली दिदी

देश लकडाउनमा फसेको ५० दिन पुग्यो। दिनहुँ संक्रमितहरु बढेको देखिएकाले हामी संयमित र सजग हुन जरुरी छ। देश लकडाउनमा भएपनि हाम्रो दिमाग लकडाउनमा छैन।दिमागको अनन्त शक्तिलाई पूर्ण प्रयोग गर्न मैले बुझेसम्म अलि कठिन नै कार्य हो। लकडाउनकै प्रसङ्गमा बिगतका कुरा गरौँ। सन १६६५ मा लन्डन शहरमा बुबोनिक प्लेग भन्ने रोगको महामारी फैलियाे। कलेजकाे पढाइ बन्द भएपछि एक जना युवक स्वतन्त्र महशुस गर्दै आफ्नै ठाउँमा चिन्तन मनन गर्दै प्रकृतिसँग खेल्दै गर्दा स्याउको रुखमुनि बस्छन्।त्यही बेला रुखबाट स्याउ खस्छ।त्यही स्याउ खसेको घटनाले विश्वमा एउटा युगपुरुषको जन्म हुन्छ। ती हुन् सर आईज्याक न्युटन। जसले न्युटनको गुरुत्वआकर्षण सम्बन्धि नियम पत्ता लगाए।

चिन्तालाई चिन्तनमा रुपान्तरण गर्नु नै उत्तम हो। म पनि बुटवलमा मास्टर लेभल पढ्दै गरेको युवक लकडाउनको समयमा गुल्मीको गाँउमा आएको छु। हाम्रोतिर स्याउ त पाइदैँन, तर लिचि चैँ पाउँछ। लिचिको बोटमुनि बसेर चिन्तन गर्ने प्रयास गर्छु।लिचि खस्दै खस्दैन पात मात्र खस्छ। के थाहा फ्याट्ट बरुण ज्ञवाली पनि लिच्चिकाे बोटमुनि बसेर चिन्तन गर्दै गर्दा गुरुत्वआकर्षण त होइन अर्कै कुनै आकर्षणको नियम पत्ता लगाएर युग पुरुष हुन के बेर।

गाँउमा नयाँ मान्छेको खास आगमन छैन। सुरक्षित नै छ। त्यसैले तल्लाघरे माथिल्लो घरे चहार्दा खासै फरक नपर्ला भन्ने बिचार गर्दै आमालाई सोधेँ, ‘आमा यसो गाँउतिर जानुपर्यो।’ आमाले भन्नुभो ‘अस्ति खनेको तरुल छ, एक छाक भएपनि हुन्छ नाइडाडा लैदेन त।’ ‘ल ल प्लास्टिकमा राख्दिनु।’

दिनहुँ जसो पानी परिरहेका छन्। डाडाँकाडाँहरु भर्खर नुहाएर कपाल फिजाएँझै भएका छन्। बाटोमा जाँदै गर्दा किर्रर आवाज गरेका किराहरु र पारि रिडिखोलाको स्वा…. गरेको आवाजले ध्यान आकर्षित गर्दै थियो। नाईंडाँडा पुगेर तरुल दिएँ।

त्यहाँबाट फर्केर कान्छा खत्री सानी दिदीकोमा छिरेँ। सानीदिदी अविवाहित हुनुहुन्छ। ५६, ५७ बर्षकि राईलीकाे छोरी। नगदे बाली र गोठभैसीँ कृषि गर्दै आफ्नो जिविका चलाइ राख्नुभाछ। जाँताे घिरघिर पार्दै मकै पिँस्दै हुनुहुन्थ्यो।

‘ए दिदी नमस्ते सन्चै हुनुन्छ ?’ मैले सोधेँ।

दिदीले जाँतो टक्क रोकेर भन्नु भो – ‘नमस्ते बाबु, खबर के हुन छ र मेरो। तिमी सन्चै ​छौं? लकडाउन त बर्षै भरिहुने भयो रे है ?’ दिदीलाई कुन चाहिँ साईद्वाले बर्षैभरि लकडाउन हुने भो भनेर लाइदिएछ कुन्नि!

दिदीको अन्तिम प्रश्नको मात्र जवाफ दिए – ‘कहाँ बर्षभरि हुनु दिदी। सरकारले ५ गतेसम्म भन्या छ। अर्को निर्णय के गर्छ थाहा छैन।’ प्रायजसाे हरेक घरका चेलीहरुको २ ओटा फरक परिवारसँगको नाता हुन्छ। उहाँको घर र माइत दुबै एकै थियो। उहाँको बारेमा अरु थाहा पाउन मनलागेर आयो।

‘दिदी तपाईंले पढ्नु भएन?’

‘पढ्न त पढेकि हुम् नि बाबु , तर कति पढेँ याद नै भएन। ओलपाटेका र तिम्रा माईँलाबाका मितले यहीँ माथि पोखरामा पढाउँथे, तिम्ले जान्यौ नाई पोखरामा स्कुल भको ?

‘नाइ दिदी, म त जानेन नि! झ्वाले स्कुलमा हो म पढ्या त। तर पोखरामा भत्किएको पुस्तकालय चै जाने’- मैले भने।

‘तारा, हाम्री कान्छि, मसँगै पढ्थिम्। मलाई त पढ्नै आएन। भकारा भरि डिगा थिए। बाले राईलीले पढ्न जानिन भन्दै गाई पनि जोड्नुभो। स्कुल जान छोडेर म गाई चराउन थाले।’

मैले फेरि उत्सुकताका साथ सोधेँ ‘दिदीहरुको बिहे भएपछि तपाईंको पालो आउँदा घरकाले बिहे गर भनेनन् तपाईलाई ?

मुसुमुसु हाँस्दै दिदीले भन्नुभो-‘ घरकाले त भनेका थे, मलाई बिहे गर्नै मन छैन कान्छिलाई भन्नु भन्दिए। अनि कान्छिले बिहे गरि।

दिदी आफैले प्रसँग बदलेर भन्नु भो, ‘चिया बनाम खान्चौ’

म – ‘नाइ दिदी खाँदिन म।

दिदी ‘ कैले यसरी नबस्ने मान्छे !’

म-‘ होइन दिदी यता नाईँडाँडा गएर आको थिए। यसो दिदीलाई पनि भेट्छु भनेर पसेको।’

‘ल दिदी अहिले निस्किए है। काम भुलाएँ कि बरु मैले’

दिदी ‘के को भुलाउनु र बाबु। आयौ कुरा गर्यौ। खुसी लाग्यो मलाई त। आउँदै गरे है।’ दिदी पनि खुसी देखिनु भो।

दिदीसँगको कुराकानीबाट मलाई पनि खुसी लाग्यो। म दिदीको आँखामा पनि हर्षको अनुभूति देख्न सक्थे। खुसी भन्नेकुरा दिमागको स्थिति हो। कोही के मा खुसी हुन्छन् कोही के मा!

बरुण ज्ञवाली

गुल्मी

आर. जे. उमेश

जिन्दगीले पनि नसोचिकन अनौठो कोल्टे फेर्छ। सानै देखि एउटा असल अनि कुशल सञ्चारकर्मी हुने धोको यो मनको कुनामा खोपिएको थियो। आफ्नो लगाव र मेहनतले एस एल सि दिएको ३ महिने छुट्टीमा म सञ्चार माध्यममा काम गर्ने भैसकेको थिए। ११-१२ पत्रकारिता पढ्दै काम गर्दै गरेँ। रमाइलो थियो त्यो पल जब घरको जिम्मेवारी म माथि थिएन। तर जब जब पढाइ र उमेर उकालो लाग्दै गयो, तब  म प्रतिको परिवारको आश पलाउँदै गयो। अनि म झसङ्ग भए। अब मेरो सपनाले मेरो जिम्मेवारी पूरा नगर्ने भयो।

मैले बाेल्ने त्यो माइक, मेरा औलाले चलाउन मन पराउने ती फेडर र मेरा कानले हर दिन आनन्दसँग सुन्न खोज्ने त्यो हेडफोन र सबै भन्दा प्यारा अनि प्रिय मेरा श्रोताहरुसँगको सुमधुर सम्बन्ध तोडेर, घर भन्दा पर नबसेको म परिवार छोडेर आँसुका ढिक्का झार्दै कहिले कल्पना नगरेको भारतको नयाँ दिल्ली प्रस्थान हुनु पर्यो। अहिले बिश्वमा फैलिएको महामारीको कारण न काम छ न परिवार, कोठामा बस्दा अनौठो कुरा मनमा खेलाउँदा, परिवार सम्झिदा अनि बिगत सम्झिदा आँखाबाट आँसु बग्छन्। फेरि पनि मन भुलाउन हेर्ने कथा हेर्छु र लाग्छ म भन्दा धेरै दुखी पनि छन् अनि चित्त बुझाउँछु। साँच्चै सोचे जस्तो नहुने रहेछ जीवन। मन बुझाउनु र परिस्थितिसँग अंकमाल गर्नु रहेछ जीवनमा।

म दिल्लीमा रहेको तिब्बती क्याम्पमा बस्छु।याे क्याम्प तिब्बती र नेपाली कलाले सजिएको छ। एक रुपले पर्यटकिय क्षेत्र पनि हाे।यसलाई नियाल्न र मनोरञ्जन लिन धेरै भारतीय र पर्यटकहरु आउने गर्छन। तर यो विषम परिस्थितिकाे कारण सधैँ चहलपहल र होहल्ला मच्चिने साघुँरो गल्ली पनि फराकिलो र सुनसान छन्। नजिकैको यमुना नदि शान्त र सुस्त आफ्नै गतिमा बगिरहेको छ। सधैँ ग्राहकलाई स्वागत गर्ने साना पसलहरु बन्द छन, पानीपुरी बेच्ने दाइ जहाँ सधै भिड लाग्थ्यो, त्यो ठाँउ पनि सुन्सान छ। हेर्दा लाग्छ साँच्चै त्यही ठाँउ नै हो कि होइन जस्तो!

चारकुनाको कोठामा बन्द रहेर सोच्न बाध्य हुन्छु, के अब दिनहरु फेरि फर्केलान? के उस्तै होलान् ? होलान् त कैले? के ती देखेका सपनाहरू पूरा होलान? के आफ्ना परिवार भेट्न र खुसी सात्न पाइएला त? ?? यसरी नै मनमा र दिमागमा अनेकौं प्रश्नका कुन्ठाहरु खेलाउँदै दिनहरु धिमा गतिमा पाइला चालिरहेका छन, फेरि उठ्ने कोसिस गरिरहेका छन्।

उमेश बस्याल

नयाँ दिल्ली

याद गर् त!

यो बन्दाबन्दीको समयमा घरमै थन्केर ,लामा कपाल झुस्स दारी कालो अनुहारसँगै  फुर्सदिलो जिन्दगीमा त्यही पुरानो सम्झनाको वाल्यकालमा फर्केर केही शब्द कोर्न मन लाग्यो साथी, तिमीहरुको यादमा।

याद गर त साथी! त्यो गाउँको चौतारीमा सँगै बसेर हरेक दिन बेलुका लगाएका गफहरु, साथमा थिएन मोवाईल। थियो त केवल समय। अनि त्यो मोजाका बलहरु बनाएर सँगै खेलेका दिनहरु, बिद्यालय जाँदा सँगै जाने आउने, एक अर्काको होमवर्क हुवहु सारेकाे, मास्टरले थाहा पाएर कसको सारेको भनेर अगाडि कुखुरा बनाएका ती दिनहरु, याद गर् त साथी!

स्कुलमा तँ र म मिलेर  मकै, भटमास, विस्कुट लगेर मन नपर्ने साथीलाई देखाइ देखाइ लोभ्याएर खाएको हिजै जस्तो लाग्छ।
विद्यालय छुट्टी भएपछि चौरमा बाख्रा गाई गोठालो आँउदा साँधेको अमिलो पिरो गुन्द्रुक भटमास खाएर बस्दा बाख्रा अरुको बारीमा पसेर सबै घाँस खाँदा कान्लाघरे बाले गाली गरेका दिनहरु। दिमागमा अहिले पनि घुमिरहन्छन्। चौरमा चिप्लेटि खेल्दा – खेल्दा  च्यातिएका नयाँ कट्टु अनि घरमा खाएको गालीको त के बयान गर्नु। अनि त्यो स्कुलमा मोजाको बल बनाइ खेलेका दिनहरु। बल तलतिर गुल्टिएर जाँदा साना भुराभुरीहरुलाई चक्लेट दिन्छु भनेर फकाइ फकाइ लिन पठाएका ती सम्झनाहरु।कति मज्जा हुन्थ्यो है पहिला।

घर गएर थोरै काम गर्याे अनि टिभीमा कार्टुन मुमिन हेर्न बस्न। बेलुकासम्म टिभी हेरेर घरमा ढिलो पुग्दा ममीले ढुङ्ग्रीले कुटेका दिनहरु, साँच्चै साह्रै अविस्मरणिय छन्। कहिले मेरो घर, त कहिले तेरो घर कति खुसी हुन्थेम् है हामी। सँगै तितेपाति बनमाराको पैसा वनाएर चुङ्गि अनि चिलाउनेको गेडाको गुच्चा खेल्न।

रमाउनको लागि टाढा सुन्दर ठाउँ जान पर्दैनथ्यो, जंगलमा काफल चुत्रो ऐँसेलु खान १  घण्टा उकालो हिँडेको, खोलामा, कुलामा पौडी खेलेर फर्कदा बेलुकीलाई तरकारी हुन्छ भनेर सिस्नु, निउरो, जलुको सिमझार निमारो टिपेर ल्याएको अनि घरमा स्याबासी पाउँदा खुसी भएको।

अलि परको खालि खेत पाखामा मेरो घरबाट चामल अर्काकोबाट नुन तेल ल्याएर एक डोको घाँस काट्ने निहुँले पिकनिक खाएर फर्केकाे , घर आउँदा पानीले चुटेर पिडाँलुको पातको छाता ओडेकाे। ती सबै सबै याद गर् त साथी! गाउँघरमा पूजा हुँदा रातभरसँगै नाचेर कटाएका दिनहरु, मन्दिरमा फर्कदा सुतेका मान्छे नि बिउँझिने गरि ट्वाङट्वाङ वझाएका घण्टीका आवाजहरु। अझै पनि कानमै गुन्जिरहन्छन्।

अझै पनि सम्झेर मुस्कुराउँछु कहिलेकाहीँ सम्झेर ती हाम्रा बातहरु,
कसरी बिर्सन सकिन्छ र बिना निम्तोको विहामा गएर भोज खाएको,सम्झि त साथी विहेमा जाँदा नयाँ लुगा लगाएर पर्समा टन्न कागज, रुमाल हालेर  कोचेर विचमा काँगियो वोकेर हिँडेको, बाटोमा काक्रा सुन्तला चोरेर खाएको घर आउँदा ढिला भएर  ममीले कान तानेका ती दिनहरु याद गर् त साथी।

त्यसैले समय वगेको खोला जस्तै रहेछ, कति चाँडै बितेछ ती दिनहरु। पत्तै भएन।आज कता गए खै ती दिनहरु, साथीहरु, अनि कता छु म। सायद बढ्दो उमेरसँगै हामी सबऊको परिस्थीति र बाध्यता बढ्दो रहेछ र नचाहेर पनि हामी सबैलाई  समयले कहाँवाट कहाँ पुर्याउदो रहेछ।

पारसमणि खतिवडा 

मेलम्ची, चियावगान
सिन्धुपाल्चोक


बाबाकाे जाँगर

भनिन्छ जीवन एउटा मिठाे भ्रम हाे अनि मृत्यु यसकाे शास्वत सत्य। एकदिन मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि जीवन प्रतिको माेह कहिले सकिँदैन। बरू बढ्दै जान्छ । त्यही भएर त हाेला नि अहिले सारा दुनियाँ धन-एश्वर्य कमाउन छाेडेर प्राणरक्षाका निम्ति भूमिगत भएकाे छ। लकडाउन। क्वारेन्टाइन। इमानदारीपूर्वक भन्नुपर्दा याे काेराेनाकाे कहर अघिसम्म यी शब्दसँग चिनजान नै थिएन मेराे। अर्थ बुझुन्जेलसम्म यी शब्दहरूकाे प्रयोग दैनिक जीवनकाे अभिन्न अंग बनिसकेकाे थियाे।

सुरुवातकाे लकडाउनका दिनहरूले मलाई अन्तिम परीक्षापछिकाे छुट्टीकाे अनुभूति दिइरहेका थिए। फरक के थियो भने यसपटक मामु बाबाकाे पनि छुट्टी थियाे।दशैँतिहारमा बाहेक यसरी सपरिवार हाम्रो जमघट कमै हुन्थ्यो। सायद त्यही भएर हाेला पहिलाे हप्ताको लकडाउन रमाइलै बित्याे। सुरूसुरुमा फुर्सद बढि भएर हाेला जाँगर पनि निकै चलेको थियाे। घरका ब्लाङ्केट, गलैँचा,झ्यालढाेकाका पर्दा, साेफाका चकटी, कुसन,तन्ना, झुल केही नछाेडि धाेइयाे। प्रायः छरपस्ट रहने भाइका लुगाफाटो पनि समेटेर उसले दराजमा थन्क्याउन भ्यायाे। बाबाले पनि जाँगर चलाएर युट्युवकाे सहायताले मःम पकाएर खुवाउनुभाे। यस्तै सहकार्यले हामीबिच सामिप्यता बढेकाे थियाे। त्यसैले खासै नराम्रो अनुभव रहेन पहिलो हप्ताको लकडाउन।

त्यसपछि बिस्तारै लकडाउन पनि एक हप्ता, एक हप्ता हुँदै महिना दिन पनि बढी भयाे। गर्ने कामहरू पनि सकिँदै जान थाले। दिन काट्न गार्‍हो हुदैँ गयाे। बिस्तारै दिनहरू बिताउने बहानामा फेसबुक र युट्युवकाे सहायता लिन बाध्य भइयो। तर फेसबुकका भित्ताहरू पनि काेराेनाकाे सन्त्रासले भरिएको थियोे। राहत वितरणमा ठगी, खाद्यान्नकाे कालाबजारी, स्वास्थ्य उपकरणमा भ्रष्टाचारी अादि इत्यादि का समाचारहरू सुन्दा-पढ्दा मन कुँडिएर उँछ। विश्वभर बढेको काेराेना सङ्क्रमितकाे सङ्ख्या र मृत्युदरले मनमा झनै त्रास बढाएकाे छ। यस्ताे अवस्थामा अाफ्नाे साेच सकरात्मक बनाउनु अावश्यक थियाे। त्यसैले जति सक्दाे अाफूलाई व्यस्त बनाउन खाेजेँ।

पढाइमा खासै रूचि भएन। झन काेर्सका किताबसँगकाे त भेटघाट ह्वात्तै घटेकाे थियोे। बरू नयाँ उपन्यास भए पढ्थें भकाे थियाे। साथी भुवनकाे रिकमेन्डेसनमा युट्युबमा अडियो भर्जनमा ‘एक सर्काे माया’ सुरु गरेँ। प्रतिक्रिया राम्रो सुनेकी थिए। उपन्यासले निरास पारेन। जि.एस पाैडेलकाे शब्दहरूमा अलग किसिमकाे नसाकाे सर्काे थियोे जसलाई अच्युत घिमिरेकाे मधुर स्वरले नयाँ जीवन दिएझै लाग्याे। कथासँगै मन पनि उडेर माले पुगेको थियाे। मानाै ती संवादहरू मैले त्यही रकबाेमा बसेर प्रत्यक्ष सुनिरहेकी छु। यसअघि सुविन भट्टराईकाे ‘साया’ काे वाचन सुनेकी थिए। त्यहीबाट त्यो स्वरप्रति माेह भएकाे थियाे। अहिले झमक घिमिरेकाे ‘जीवन काँडा कि फूल’ सुरु गरेकी छु। यसपछि ‘कर्णाली ब्लुज’ काे पालाे छ। त्यतिन्जेलमा त याे लकडाउन सक्किएला कि ?

भनिन्छ हरेक समयकाे अाफ्नै महत्त्व हुनेगर्छ।अहिले धेरै भएको याे लकडाउनकाे समयकाे अाफ्नै महत्त्व छ। धैरैलाई नयाँ कुरा सिक्ने र सिकाउने अवसर पनि भएको छ। यसकाे सही सदुपयोग गरौँ।

अन्त्यमा हेर्नेकथाले ल्याएको यस लकडाउन डायरी लेखनमा याे लेख पठाउन प्राेत्साहन गर्ने साथी दिक्षालाई विशेष धन्यवाद। के लेख्ने? कसरी लेख्ने? केही थाहा थिएन। सहयाेग गर्ने सुमन सरप्रति पनि अाभारी छु।

नीलम पराजुली

इटहरी

चिउरा, दालमोठ र ड्युटी

म नेपाल प्रहरी संगठनको प्रहरी कर्मचारी। २०७६ चैत्र १० गते देखि नेपाल सरकारले लकडाउन घोषणा गर्यो। लकडाउन घोषणा हुनासाथ सम्पूर्ण सरकारी गैर सरकारी वित्तीय सघं संस्था उद्योग कलकारखाना शिक्षण संस्था बन्द भए। कर्मचारी बिदामा बस्ने भए। प्रहरी कर्मचारीको ड्युटी झन बढ्यो। ड्युटी मात्र बढेन आफन्त इष्टमित्रलाई  चिन्ता पनि बढ्यो। देशमा  परेको संकटसँग जुध्न  प्रहरी कर्मचारी कहिले पछि परेनन् चाहे त्यो २०७२ सालको भूकम्पमा होस् वा विश्व कोरोना भाइरसको महामारीको बेला अहाेरात्र ड्युटीमा खटिने प्रहरी कर्मचारी पानी चाउचाउ बिस्कुट खाएर पनि रमाइलो मान्दै खटिररहेका छन्। यति मात्र होइन। ‘तपाईंका लागि हामी बाहिर छौं तपाईंहरू भित्र बसिदिनु’ भन्दै हामीले गरेकाे अनुरोध पनि देख्न सक्नु हुन्छ।     

म यति बेला चितवनको व्यस्त सहर नारायणगढमा कार्यरत छु।यहाँ कुनै बेला सवारी साधन तथा पैदल यात्रुको निकै बढी चाप हुन्थ्यो। नारायणगढ बजारसँगै जोडिएको नारायणी नदी किनारमा पनि बेलुकी ५:०० बजे देखि ८:०० बजे सम्म मानिसको निकै भिडभाड हुन्थ्यो। आन्तरिक तथा वाहृय पर्यटककाे आकर्षण बनेको नारायणी नदी किनारा अहिले शून्य छ।      

मानिसहरु आफ्नो गाउँ घर फर्कने क्रम पनि निकै बढेको छ। कामदार र मजदुरहरु आफ्नो मनको पीडा दुःख बिसाउन आइपुग्छन् कहिले कहिले। कति दिन खाना नखाएको, गाडी नपाएर हिड्नु परेको, ५/५ दिन हिड्दै आएको सुनाउँदा मन भारी हुँदाे रहेछ। २५ दिनको सुत्केरीले पनि पानी समेत खाना नपाएको सुनेर झनै गाह्राे भयाे। कम्पनीले कामबाट निकालिदिएको, ठेकदारले आफ्नो व्यवस्था गरेर  घर जाउँ भन्दै हात १०००/१००० थमाइ दिएको पीडा बाेकेर दिनमा हजार मानिस आइपुग्थे पुला चोक नारायणगढ ड्युटीमा। कतिका पीडा सुनेर मन त्यसै खिन्न हुन्थ्यो। उनीहरुलाई कोरोना सँग डर थिएन। चिन्ता  थियो मात्रै ‘एक छाक खान र कसरी घर पुगाैं’ को ।

सकेकाे सहयाेग त गरेँ। कतिलाई पानी, चिउरा, दालमोठ दियौं त कतिलाई मन प्रफुल्ल पार्ने  मिठा शब्दका परिकार। उनीहरुको एउटै मात्र सोचाइ थियो। अब आफनै  ठाउँमा केही गरेर जीवन निर्वाह गर्ने छौँ।

तारा प्रसाद पोख्रेल

 प्युठान

हाल चितवन


मानवरुपी डायरी

मैले डायरी नपल्टाएको धेरै वर्ष भएछ। लेखुँ पनि के लेखुँ। हुन त आजभोलि मनमा कुरा धेरै छन् , तर त्यसलाई बुझाउन सक्ने शब्द कम। सानो हुदाँ डायरीका पानामा चित्र समेत कोर्थे, आजभोलि भने कालो मसीले पनि ठाउँ पाएन। जीवनका अनगिन्ती बिर्सन नसक्ने यादहरुलाई लेख्न मन लाग्छ, तर कसैले मनमा चलेका सबै कुरा थाहा पाउने हो कि भनेर लेख्नु अगाडि धेरै पल्ट सोच्छु। आजभोलि मनमा खेलेका कुरालाई मोबाईलमा लेख्छु, तर मोबाईलमा डायरीको जस्तो फिचर कहाँ छ र?

डायरीका पाना भर्दै जाँदा जीवनमा अनुभव बटुलेको जस्तो लाग्थ्यो। डायरीलाई सबै कुरा थाहा हुन्थ्यो। मिठा अनुभवलाई राम्रा अक्षरले अझै साँचेको पनि छ यसले। तिता अनुभवलाई आँसु बनाएर मसी पनि फुलाएको छ। द्वेषमा लेखेको कुरा डायरीले नै थाहा पायो। आत्मालोचनामा लेखेका कुरा च्यातेको पनि डायरीलाई मात्र थाहा छ। कसैलाई बिछोडमा भन्न नसकेका कुरा पनि डायरीमै छ, अनि कसैको प्रेममा लेखिएका हरफहरु पनि त्यहीँ। तर आज ४ वर्ष भएछ, मैले डायरीको पाना नखोलेको। 

जीवनको यो अनुभवको गाथालाई भने मैले डायरीमा संगाल्ने कोसिस गरे, पुनः। मैले जीवनमा धेरै साथी बनाइन, जति बनाए उनले गार्हो पर्दा साथ दिनेछन् भन्ने छ। साथी मानवरूपी डायरी हो भन्ने लाग्छ। 

लकडाउन अगाडि धेरै घुम्न नरुचाउने म, अहिले भने लकडाउन खुल्ना साथ साथीको घरमा पुग्ने निधो गरेकी छु। भारत घुम्न गएकी मेरी साथीले ल्याएको उपहार पनि लिन जानेछु। मैले उसको लागि ल्याएको उपहार पनि झोलाको झोलामै छ। घुमेर आए पछिको मेरो झोला मैले जस्ताको तस्तै राखे, साथीहरु भेट्दा फेरि उत्साहका साथ त्यो झोला खोल्नेछु। जीवनमा दुखः सुखको बेलामा साथ दिने मेरा मानवरुपी डायरीलाई नभेटेको धेरै भयो। आज पनि खल्लो लाग्दा उनीहरूलाई फोन गर्छु। अब पछिका दिनमा घुम्न जाने ठाउँ तय भएका छन्। ती ठाउँमा फेरि नयाँ यादहरु साँच्न मन छ। 

अहिले भने किताब मेरा साथी भएका छन्। तिनले मलाई आफ्ना अनगिन्ती कुराहरू सुनाउँछन्। तिनीहरुले भनेका मध्यको मन पर्ने कुरा म आफ्नो कापीमा लेख्छु। तिनीहरुको साथले जीवनमा धेरै अनुभव दिदोँ रहेछ। एक थरी साथीहरुबाट टाढा भएर मैले अर्को साथ पाएँ, अनि आउँदा दिनमा यी दुवैलाईसँगै लैजाने मेरो मन छ।

आखिर जीवनमा सबै भन्दा महत्त्वपूर्ण कुरा भनेको आफूलाई गार्हो पर्दा साथ दिने मान्छेहरु नै हुदाँ रहेछन्। घरमा परिवारसँगकाे सामिप्यता झनै बढेको छ। यो सामिप्यता छाडि कहिले काहीँ त भविष्यमा कर्मक्षेत्रमा पनि नजाउँ जस्तो पाे लाग्छ। यो साथले जीवनमा हरेक पल साथ दियो। अहिले सबैसँग रमाइला पल बिताउन पाउँदा आफूलाई भाग्यमानी ठान्छु। बाबा केही लेखी रहनु भएको छ। बेला बेलामा मलाई कस्तो लेखेछु हेर त भनेर भन्नु हुन्छ। म पनि खुब जान्ने जस्तै गरी हेर्छु। घरमा ‘कल ब्रेक’ हाम्रो नयाँ ब्रेक भएको छ। मामुले भर्खर सिक्नु भएको, अहिले भने हामी सबैलाई हराउनु हुन्छ। बहिनी र म बिच खाना कसले पकाउने भनेर झगडा हुन थालेको छ। दुवैलाई पकाउनै पर्ने। अहिले घरमा सबैको बालापन देख्न पाउँदा खुसी लाग्छ। 

परिवारले सधैँ जमिनमा रहन सिकायो, साथ सिकायो अनि प्रेम सिकायो। जीवनका मेरा धेरै काम आमा- बुवाको लागि समर्पित भएका थिए अनि सधैँ हुनेछन्। जीवनको रफ्तारमा बाँधिदै अनगिन्ती आकांक्षा अनि अपेक्षालाई बुन्न आटेँकी म, लकडाउनले जीवनलाई सरल अनि सुन्दर बनाउनु सबै भन्दा ठूलो कुरा रहेछ भनेर दर्पण स्वरुप छर्लङ्ग पारिदियो। अरु विनाशसँगै ल्याएता पनि, यो लकडाउनमा मैले जीवनको धेरै कुरा सिके, म यसको लागि सधैँ आभारी हुनेछु। 

सारंशा अर्याल

काठमाडाैँ

ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्

लकडाउनमा अप्रिय घटनाको परिणामबाट बचियो। यो मानेमा लकडाउनको अनुभव अक्षरमा उतारीरहँदा एकप्रकारले खुसी छु।यो लकडाउनमा घरबेटीको कोठामै लक्ड भएर बस्दा ‘घर जाने हो ? पास बनाएर जाउन/आउन’ भन्ने मेरा मित्रहरु धेरै थिए।   मन त किन नहुनु! एक्लै बस्नु भन्दा परिवारसँग बस्नुको आनन्द नै मिठो हुन्छ, हर तरहले। जागिरको सिलसिलाले आफन्तदेखि करिब ५०० किलोमिटर दुर नेपालको पूर्वि भेगमा छु, मोरङ्गको सुन्दरहरैँचा नगरपालिका। परिवारसँगै बस्नेहरुलाई लाग्दो हो ‘कस्तो मन, आफन्तसँग बस्न पनि मन नहुने’ तर घर परिवारबाट टाढा बसेकालाई मात्र महसुस हुन्छ, कस्तो हुन्छ मन। थाकेर कोठामा साँझपख आउँदा आमाले पकाएर दिनु भएको तातो चिया याद आउँछ। बिरामी भएर उठ्न नसक्ने हुदाँ आमाको मायालु हातको स्पर्षकाे तिर्सना लाग्छ । खुसीकाे खबर फोनबाट सुनाए पछि भाइबहिनीहरुको त्यो उत्साह याद आउँछ। काँधमा बाबाको स्याबासी धाप याद आउँछ।  यो मनको कुरा गर्न थाल्दा धेरै भावुक भइने, भैगो नगरौँ।  

अहिले चै लकडाउनकै अनुभवबारे कुरा गराैं। २०७६ सालको चैत्र १० सम्म सुन्दरहरैँचा नगरपालिकाको समुदायहरुमा नोभल कोरोना भाईरसको बारे जनचेतनामुलक क्रियाकलाप गर्नु पर्ने भएकाले घर (काठमाण्डौँ) फर्कन मिलेन। चैत्र ११ बाट लकडाउन सुरु भै गयो। लक्ड हुनु पर्ने समाचार पाउन बित्तिकै यो समय के गरेर बिताउने योजना बनाइयो। तर कुनै काम सक्नै पर्छ, भन्ने नभएपछि घरमा बस्दा योजना अनुसार कहाँ काम गरिँदो रै छ !  सुरुका दिनमा मस्त सुतियो। केही दिन घरबेटीका केटाकेटीहरुसँगै डन्डीबियो, स्किपिङ्ग, गट्टी खेलियो। २० थान जति मिश्रित प्रकृतिका फिल्म हेरियो। ती मध्ये अधिकांश सस्पेन्स थ्रिलर थिए। केही थान राजनैतिक विमर्सका अनलाईन अन्तरवार्ता पनि हेरियो। एक हप्ता जति त अनलाईन गेम नै खेलियो। गेम खेल्दा रमाइलो भई नै हाल्छ तर अनलाइन गेम अझ रमाइलो। समय वितेको पत्तै नहुने।अहो ! अनलाईन गेमले त दैनिकी नै परिवर्तन गरिदियो नि। लकडाउनका क्रममा हिजोको दैनिकी फेरिन थाल्यो। ढिलो सुताइ, गेमका कारण एकै ठाउँको एकै प्रकारको बसाइले शरीरकाे दुखाइ। रमाइलो त भयो तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे। धत् भएन भनेर योजना अनुरुपका काम शुरु गर्न थालियो । 

फागुन चैत्र तिर मुसुरीको दाल भित्र्याउँछन् किसानहरु। हामी खेती नहुनेहरु किसानको मिहिनेतमै भर गर्छौ। बजारमा भर्खर थ्रेसर लगाएको नयाँ दाल आएको थियो। तर लकडाउनका कारण सबै जसो दाल चाडै बिक्री भएको थियो। त्यसैले मैले काम गर्ने समुदायको एक जना दिदीले मेरो लागि दाल खोजिदिनु भएको थियो। दाल त लकडाउन खोले पछि ल्याउँदा नि हुने थियो, तर चाँजोपाँजो मिले काठमाडाैँ हिड्ने योजनाले लिन जाने विचार गरे। लकडाउनमा सरकारले अत्यावश्यक खाद्यान्न खरिदका लागि बाहिर निस्कन अनुमति दिएको समय साँझ ४ बजे पछि त्यता जाने निधों गरे। एकमन (४० के.जी.)दाल थियो। बोकेर ल्याउने ह्याउ भएन, त्यसैले स्कुटीमा गए। 

लकडाउनका कारण कमै सवारी साधन चल्न दिइएको थियो। एम्बुलेन्सहरु चै अलि बढी नै गुडिरहेका थिए। अरु सवारी साधनको दाँजोमा। सडक खाली थियो। पूर्व दिशाबाट पश्चिम ईटहरी तर्फ जाँदै गर्दा मेरो स्कुटरको स्पिड २० थियो। दुई पाङ्ग्रे सवारी साधन चलाउन लाईसेन्स पाएपछि सुरु सुरुमा खुब हुइँकाइन्थ्यो। केही वर्षको अनुभवले त्यो गति ईकोनोमि स्पिडमा सिमित गरिदिएको छ। यसो भनौ सवारी साधन जोसले हैन होसले चलाउने बानी बसेको छ। जोसमा सवारी साधन चलाएकहरु धेरैले ज्यान गुमाएको थाहा पाएको छु। 

कोभिड-१९ को संक्रमित भटाभट देखिन थालेपछि सुन्दरहरैँचा नगर क्षेत्र भित्रका गाँउ/टोल छिर्ने बाटाहरु बन्द गर्न सुरु गरिएको थियो । “..यो बाटो खुल्ला छ कि..” भनेर आफ्नो बाँयातिरको बाटो हेर्दै थिए। त्यतिबेला मेरो स्कुटरको स्पिड ५ मा पुग्न लागिरहेको थियो। झन्डै स्कुटर रोकिने अवस्थामा। त्यत्ति नै बेला पछाडिबाट ढ्याम्म मेरो स्कुटीको दाँयातिरको छेउमा ठोक्कियो। छिन मै मेरो स्कुटिलाई हान्ने बाईक एक मिटर दुरीमा लड्यो, गर्ल्याम्म।  

चालक करिब ५० देखि ६० वर्ष उमेरका देखिन्थे। पछाडि अर्का मानिस पनि थिए। उनी भन्दा कम उमेरको हुनुपर्छ। पछाडि बसेका मानिसले दुईवटा ग्यालिन बोकेका थिए। पेट्रोल किन्न निस्केका थिए, सायद। चालक बाईकबाट उछिटिएर बाँया तर्फ पछारिए। अर्का मानिस बाईकसँगै लडे।  उनको खुट्टा बाईकले किचेछ। उनी उठिहाल्न सकेनन्। एकै छिनमा मानिसको भिड नेपाल सरकारले तोके भन्दा बढी संख्याको हुन लाग्दै थियो। मैले स्कुटी ठोक्किएकै स्थानमा अड्याए। मेरो स्कुटी सडकको बाँया सिमानाको छेउको एक बित्ता मात्र पर थियो। म उनीहरुलाई हेर्न अगाडि बढे। बाईकसँगै लडिरहेका मानिसलाई उठाउन सहयोग गर्न भिडलाई भने। उनीहरुलाई देख्दा म आफैलाई दुखिरहेको थियो। अझै पनि उनीहरुको घाउ सम्झदा जिरिङ् हुन्छु। 

वरपर मेडिकल कमै खुलेका थिए। कोभिड-१९ को डरले अन्य सामान्य रोगीहरुको उपचार नभएकाे खबर आइरहेको थियो। हड्डी भाचिएको रैछ भने, अस्पतालले हेरेन भने दु:ख पाउने भए मनमा अनेक कुरा आयाे।धन्न ठूलो घाउ चोट भएन। एकछिन बहस चल्यो कसको दोष भन्ने विषयमा। गल्ती बाईक चालककै भएको महसुस भएपछि सहमतिमा छुट्यौ।

घटनाको १ घण्टा पछि पो दिदीले “..धन्न बच्नु भयो” भनेपछि चैं मुटुले डरको ढ्याङ्ग्रो बजायो, ढ्वाङ्… ढ्वाङ् ….ढ्वाङ्.. । कसरी चलाएको थियो होला त्यो मान्छेले बाईक!

सहकर्मी बैनीले केही दिन अघि मात्र सुनाउँदै थिइन् । भर्खरै लकडाउनकै दौरान ईनरुवाको एकजना जनप्रिय स्वास्थ्यकर्मीकाे सडक पार गर्ने क्रममा एम्बुलेन्सकाे ठक्करले ज्यान गएको कुरा।

आफू दुर्घटना परेको अनुभव गरेपछि भने अचेल म झन् सचेत भएको छु।हिड्दा होस् या सावारी साधन चलाउँदा, तपाईंहरु पनि सचेत रहनुहाेला। नत्र दुर्घटनाको सरकारी डाँटामा तपाईंको पनि नाम आउन सक्छ। धन्न मेरो दिन बलियो परेछ र मलाई केही भएन। 

लक्ष्मी राई

सुन्दरहरैचा , मोरङ्ग

लकडाउन ‘क्रान्ति’

हाल म काठमाडौँ स्युचाटारकाे एउटा कोलोनी भित्र अस्थायी बसोबास गर्छु। कोलोनी भएकाले यहाँ राजधानीकाे अन्य स्थानको तुलनामा अलि बढी व्यबस्थित छ। घरहरु कोही भन्दा कोही कम छैनन्। सबैका घरअगाडि ठूला र पीच गरेका बाटा पुगेका छन्। पानीको असुविधा छैन। यसको मतलब यहाँ घर भएका अधिकांशहरुको आर्थिक हैसियत राम्रै छ।

मेरो घर पछाडि करोडौं मूल्यको रोपनी भन्दा माथिको जमीन छ। अहिले यो लकडाउनले गर्दा त्यो बाझो जमीनको स्वरुप बिस्तारै फेरिदैँ छ। त्यहाँ केही छिमेकीहरुले दिनभरि परिश्रम गरेर तरकारी लगाएका छन्। जो जसले तरकारी लगाएका छन् उनीहरुलाई त्यो जमीनको फोहोर पन्छाएर, सुकेका कागज, झुस र झाडीमा आगो लगाएर, कोदालो चलाउन बिर्सिएका हातहरुमा ठेला उठाएर, त्यसमा नित्य चाकर गरेर फलाएको तरकारीमा भर गर्नुपर्ने बाध्यता छैन। तर, उपलब्ध फुर्सदको गतिलो शारिरीक व्यायाम, तरकारी वा नगदको किनमेल गर्दाको संभाव्य कोरोना संक्रमणको जोखिम, ताजा आफैले फलाएको तरकारी उपभोगको उत्कट चाहना आदि जे जस्ता कारण भएपनि उनीहरुमा जाँगर देखियो ।

मेरै घरबेटी दिदी जो सिङ्गो तल्लामा एक्लै बस्नुहुन्छ, उहाँले पनि भएको थोरै करेसाबारीमा सकीनसकी साग, धनियाँ, सिमी आदि लगाउन थाल्नुभएको छ। म कोठा सर्दा बारी बाझो थियो। जब लकडाउन लम्बिदै गयो, उहाँले कोदाली समाउन सुरु गर्नुभयो। दक्षिण कोरियामा छोराको बैंकको जागिरसँगै तराईको घर र जग्गा जमीन उहाँका लागि छेलोखेलो हुँदाहुँदै बुढेसकालमा सकीनसकी बिहान, दिउँसो र बेलुका बारीमा बिताउनुहुन्छ। युट्युब र सामाजिक सञ्जालमा प्राप्त तरकारी खेतीका सामग्रीहरु रुचिपूर्वक हेर्नुहुन्छ। सँगै घरभरि अटाएका गमलाका रंगीबिरंगी फूलहरुको हेरबिचार त छँदैछ। छिमेकी दिदी र आमाहरु दिदीसँगै कौसीबाट कौसी खेतको अनुभव साटासाट गर्नुहुन्छ। अर्को एक बहिनी पनि कौसी खेतीका लागि कस्सिएर मल, माटो र प्रविधिको जोहो गर्न लागेकी छिन्। बिहान टहल्न निस्कदा कोलोनी भित्रका खाली जग्गाहरुमा जाँगरहरु भरिएको देख्न पाइन्छ ।

समाचारहरुमा समेत ठूला कृषि क्रान्तिको कुरा भइरहँदा, त्यसका केही झलक आफ्नै आँखाले देख्न पाएको छु। संकटको यो लम्बिदो समय र स्वास्थ्य सावधानीका कारण पूर्व मन्त्री, प्रशासक, पूर्व मिस नेपालदेखि थुप्रै सेलिब्रेटीहरु समेत कृषिका सपनाहरु साटीरहँदा लहड र अस्थायी प्रयोजनकै लागि सही मेरो कोलोनीका केही बासिन्दाहरु विपना बाँचिरहेको देख्दा सुखानुभूति हुन्छ। के भन्न सकिन्छ र यसरी लहडका लागि सुरु गरेको कामले भविष्यमा स्थायित्व नपाउला भनेर। बानी बस्दै र यसप्रकार कृषिमा रम्दै जादाँ नयाँ योजनाहरु बुनिन सक्छन्। पौरखसँग प्रविधि मिसिएर राम्रै उब्जनीका सम्भावना नजन्मेला भन्ने छैन।
केही दिनअघि मेरो कार्यालयका प्रशासकीय प्रमुख सर सुनाउँदै हुनुहुन्थ्यो– ‘नयाँ बस्तीकाे घर अगाडिको ५ आना जग्गामा सुरक्षित तवरले परिवारकै सदस्यहरु मिलेर मकै लगाएकाे छु ।’ उहाँलाई पनि मकैका घोगा खान खेती गर्नुपर्ने अवस्था होइन। यसरी गरेको मिहिनेतलाई उहाँले गौरवका साथ सबैसँग साट्नुभएको थियो। ‘बुढेसकालमा उक्लिएको मलाई काम गर्ने इच्छा मात्र होइन, जाँगर पनि छ भने युवावयकाहरुले उपलब्ध बाझा जग्गाहरुको सदुपयोग गर्नुपर्छ’ भनेर सुनाउँदै हुनुहुन्थ्यो ।

यसैगरी, काठमाडौँ मात्र नभएर जता भएपनि खाली जग्गामा पौरखी हातहरुले परिश्रम गर्ने हो भने सानो तिनो कृषि क्रान्ति सम्भव हुनसक्छ। जताततै ढुंगा, इँटा, छड र सिमेन्टका अचल भवनहरुको बीचमा लेनदेन नमिलेरै भएपनि बचेका माटाका डल्लाहरुमा मन र मस्तिष्क मिलाएर कोदालाहरु कुदाउने हो भने त्यसले समृद्ध नेपाल निर्माणमा एउटा इँटा थप्छ कि ?

रञ्जनमणि पौड्याल

काठमाडाैँ

‘सुपारी’ गाई

नाम जस्तै चाम्रो र टर्रो थिएथ्यो उसको व्यबहार पनि। उसो त चाम्रो र टर्राेलाई नराम्रो भन्न भने मिल्दैन । चाैरमा चर्ने नियमलाई कतिखेर छिर्कने मारेर खरबारीमा बालीघाँस चोरी खान पुग्थ्यो स्वयं गोठालोलाई थाहा हुँदैनथियो। दाम्लो घाँटीबाट जब गोठालाले निकालेर बनमा चराउन लैजान्थ्यो तब उ निर्बाध स्वतन्त्रताको खोजिमा हिड्थ्यो। उसको मनले चिताएको र दृष्टिले देखेको ठाउँ बाली बिचरण गर्ने, खाने काम गरेरै छाड्थ्यो। बाली खाइदिनु, नोक्सानी पुर्याइदिनु नाजायज काम हो भन्ने पनि थाहा थिएथ्यो शायद उसलाई । यसो गरेको थाहा पाए मालिक वा गोठालाले पिट्छ भन्ने पनि थाहा थिएथ्यो उसलाई। त्यहीकारण गोठालाले तत्काल भेटाउन नसक्ने ठाउँका बाली खान पुग्थ्यो। चाहे डाँडै पारी जान किन नपरोस्।

बाली चोरेर खाएको दिन आफ्नो मालिकको नजिक पर्दैनथ्यो। चाहे ऊ भकारै छोड्न किन नपरोस्। कैलेकाहीँ त दुईचार दिन कतै बसेर आफ्नो गोठमा आउने गर्थ्यो । एकदिन बनबाट डाँडै काटेर बाली चोरी खान पल्लो गाउँ गएको थिएछ। त्यहाँका मान्छेले समाएर आफ्नै गोठमा बाँधिदिएका थिएछन्। यता कतै खोज्दा भेटिएको थिएन। उता केही दिन पछि त्यो गाईलाइ काटेर खाने प्रयोजनका लागि तीन जिल्ला टाढाको मान्छेलाई बेचिएको थिएछ । ती मान्छेले गाईलाइ दाम्लोले डोर्याएर लगेका थिएछन्। जाँदाजाँदै कहाँ पुगेर ऊ  फुत्किए थियो ती मान्छेबाट ? के गरि फुत्किए थियो ? कसरी आफ्नै भकारोमा नौ दिन पछि आए थियो? सबै कुरा रहस्यमै थिए । बश बेचिएको कुरा कसैले धेरैपछि सुनाएथ्याे मालिकलाई।

पहाड गाउँमा रैथाने गाई पाल्नै छोडिँदै थिए । मूल्यहिन बन्दै थिए सुपारी गाईहरू । खेतवारी बाझीदैँ थिए, गाईका बाच्छा किन चाहिनुपर्ने र गाई पालिनुपर्ने? घरहरू माटोले पोत्न नपर्नेगरि प्लास्टर हुँदैथिए, गोबर किन चाहिनुपर्ने र गाई पालिनुपर्ने? स्राद्व, पित्रीकर्म गर्न छोडीदैँ थिए, गहुँत किन चाहिनुपर्ने र गाई पालिनुपर्ने? पुजाआजा गर्न बिर्सीदैँ थिए, पन्चामृत किन चाहिनुपर्ने र गाई पालिनुपर्ने?

हो, यस्तै समय वरिपरिको जीवन बाच्दै थियाे सुपारी गाई। बचेखुचेको खेतवारी, पित्रीकर्म, पूजाआजा, माटाका घरमा सास्कृतिक रङ्ग भर्ने काम सुपारी गाईको भागमा थियाे। त्यसैले उ जीवनको नौ बर्षमा पाँच बेत ब्याउनु पर्थ्याे। मान्छेको मृत्युपस्चात् तेह्रदिने कर्मकान्ड पार लगाउन तीन ठाउँ बेचिनुपर्थ्याे। बेचिएको हरेकपटक उ भागेर आफ्नै गोठमा आउने गर्थ्यो । उसले आफ्नो भकारो छोड्न कैल्यै मानेनथ्यो। बिते थिए यसैगरी उसका जीवन।

विश्व मानव समाज एकान्तबासमा छ। मनहरू कोलाहलमय छन्। कोरोनाको कहर जो छ। लाखौं मान्छे मरेका समाचार छन्। यो ज्यानमारा किराको यति नाम्रो नाउँ ‘करिना’ किन राख्या होलान् भन्दै हुनुन्छ पल्लाघरे जेठीआमा। म चारबिसे चौध बर्षको भएँ, संसारको यस्तो सन्नाटा चाल पाएको थिएन नाति! भन्दै हुनुन्छ पारिघरे हजुरबुवा। हाम्रो स्कुल कैले खुल्छ अन्कल भन्दैछन् नानीबाबुहरू। यो बिमार हो कि व्यापार हो भन्दै शंका व्यक्त गर्दैहुनुन्छ तल्लाघरे कान्छाबुबा। बाँच्नु, बाँच्नु अनि बाँच्नु, नमरुन्जेल बाँचिरहनु ! के यै हो जिन्दगी? भन्दै फोन गरे काठमाडौँका साथीले।

बैशाखको महिना छ। गहुँ, जौँ काटेर खाली भएको बारीमा गाइबाख्रा चराउँदै काफल, किम्बु र ऐसेलु खाने मौसम हो यो। झरी र हुरिले साउन हो कि फाउन हो झुक्याउँछ बेलाबेला। बारीमा गहुँ ,केराउ ढलेर कुहिँदैछन्। स्याहार्न पाएका छैनन् कृषकहरू। आमाले गाई भैँसीको लागि पानी तताउदै हुनुन्छ गोठमा। म छेउमा बसेर आगो ताप्दैछु। सुपारी गाई गोठमा छैन। मावली हजुरआमाले लाख बत्ती बाल्ने पुजा लगाउँदा ब्राह्मणलाई दान गरिएको बाच्छि थियाे सुपारी गाई। ब्राह्मणले पाल्न नसक्ने भएर हाम्री आमालाई दिएका थिए रे। अनेकन नाममा धेरैचोटि बेचिन परेको सुपारी गाईलाई गएको हिउँदले बाच्न दिएन छोरा भन्नुभयो आमाले। आमाका गन्थनमन्थन सुन्दै, खेतबारीमा सकेको हातसरो गर्दै बित्दैछन् लकडाउनका दिनहरू। 

हिमाल थापा क्षेत्री

अर्घाखाँची

काम, झोला र म

मेरो घर अगाडि हुँदै गएको सिद्धार्थ राजमार्गले मलाई खाेजिरहेकाे होला! दिनहुँ आउने मान्छे किन आएन भनेर। मेरो मोटरसाइकल दिनहुँ कुदिरहन्थ्यो, तर नचलेको धेरै भयो। मलाई किन चलाएकोे छैन भन्दो हो त्यसले पनि। निराश हुँदो हो कि खुसी हुँदाे हाे ! मौन एकै ठाउँमा बस्दो हो। त्यो झोला दिनहुँ बोक्ने गर्थें, जसको फिताले आज मलाई किन अकंमाल गरेन भनेको होला। त्यो मेरो अफिसको चाबी! त्यसमा खिया लागिसक्याे होला! त्यो मेरो सधैँ बस्ने कुर्सी जसले अहिले आराम पाएको होला ।

नियमित भएको बेलामा बिहान उठ्यो मर्निङ वाक गयो, नुहायो, खाना खायो अनि अफिस गयो। फिल्ड गएकाे दिनबाहेक यसरी नै बित्ने गर्थ्याे। लकडाउनकाे सुरुसुरुमा बिहान ८:३० बजे नै खाना खान मन लाग्ने। त्यो झोला बोक्न मन लाग्ने। त्यसैले त झोला अहिले पनि पलङको छेउमा नै राखेको छु। बन्द कोठा, पारिवारिक समय अनि घरैबाट नियमित काम।

अब त बानी परिसकेको छ। म एउटा गैर सरकारी संस्थाकाे फिल्ड संयोजकको रुपमा काम गर्छु। अहिले अफिसका सबै कामहरु घरमा नै बसेर गर्ने बानी परेको छ। घरमा इन्टरनेटको सुविधा भएको कारणले काममा कुनै बाधा पुगेको छैन। फोन र नेटबाटै सबै काम हुन्छ। सबै स्टाफहरुलाई फोन गरेर उनीहरुले गरेको गतिविधिबारे थाहा पाउने, सहयोग गर्ने काम मुख्य छ। अर्काे स्वास्थ्य संस्थाका विभिन्न तह र अन्य सरोकारवाला निकायसँग समन्वय र कुराकानीमा पनि दिनहरु बितेका छन् । यो पनि कामै भित्र पर्छ।

घरमा बसेर काम गर्दा अफिस जाँदा र आउँदा लाग्ने समयको बचत भएको छ। धेरै समय अगाडि ल्यापटप राखेर अफिसियल काममा नै बितेको छ। यस समयमा अनलाइन कोर्स गर्ने किताव अध्ययन गर्ने, पुराना साथीभाइसँग मेसेन्जरमा कुरा गर्ने गरेर पनि केही समय बितेको छ । बिपद व्यवस्थापनमा केही तालिम लिएको र अहिले थोरैथोरै अध्ययन गरेको छु। तालिमले सबै जना धैर्य र एकजुट भएर विपदकाे सामना गर्न सिकाउँछ।

कोरोना भाइरसको यो माहामारीमा मुख्यत: सामाजिक दुरी कायम गरेर कोभिट १९ लाई जित्न सकिने कुरालाई मैले पनि पूर्णत: आत्ससात गरेको छु । सामाजिक सन्जाल र आपसी कुराकानीमा भएका अनुभवले हेर्दा कतै कतै दम्भले जितेको छ भने कतै कतै काँचो अनुभवले काममा ढिला सुस्ती भएको छ। यस समयमा हामी सबैको सुरक्षाका लागि स्वास्थ्यकर्मीले अगाडि सरेर जे जति कामगरिरहनु भएको छ त्यसलाई हृदयबाट नै सबैले धन्यवाद दिइरहेका छन् । मेरो पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सबै सहयोगी मनहरुलाई हार्दिक धन्यवाद।

दिनेश घिमिरे

तानसेन–८, पाल्पा