gandharbas singing kaha bajyo madalu mane bhanjyang gaun

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ, यो गाउँलाई छोडेर भन कहाँ जाउँ । पूर्व झापाका गन्धर्वहरुले गाएको यो मार्मिक लोकभाका प्रस्तुत गर्दैछौं मजा लिनुहोस् । 

हामीले यो गीतको केही अंश हेर्ने कथाको अंक ११ मा प्रसारण भएको सिमानाको कथामा पनि प्रयोग गरेका थियौं । हेर्ने कथाको आउँदो अंक “बाउ छोरीको कथा” बनाउने सिलसिलामा हामी झापाका दक्षिणी भेग केचना कवलमा रहेको गन्धर्व गाउँ पुगेका थियौं । 

संगीत चोक नामले चिनिने यो गाउँमा ४० भन्दा धेरै गन्धर्व परिवार बस्छन् । गाउँका गन्धर्व दाजुभाइहरु कहिलेकाहिँ सँगै बसेर सारङ्गी बजाएर आफ्ना पीर व्यथा भुल्ने गर्छन् । 

पूर्वका शहरहरुमा भेटिने गन्धर्वहरुले यो गीत गाएको हामीले बेलाबेलामा सुन्ने गरेका थियौं । तर गाउँमै पुगेर यति मिठो मौलिक भाका नजिकैबाट सारङ्गी र मादलूको तालमा सुन्नुको मजा भने बेग्लै थियो । 

कहाँ बज्यो मादलु माने भन्ज्याङ गाउँ

यो गाउँलाई छोडेर भन कहाँ जाउँ

म त हजुर नुन बोकेर तराई पहाड डुल्ने

यो दुःखीको मनको फूल कहिले होला फुल्ने

ढाकर बोकेर अफ्ट्यारा बाटाहरु छिचोल्दै धरान धनकुटा गर्ने भरियाहरुको दुःख बोलेको छ यो गीतले । शायद धेरै पहिलेदेखि गन्धर्वहरुले यो गीत गाउँदै आएको हुनुपर्छ । हामीले यो गीत रेकर्ड पनि भएको छ कि भनेर खोज्ने प्रयास गर्यौं । तर फेला परेन । 

सारङ्गीको र्याइँ र्याइँ र मादलूको तालमा गहिरो अर्थ बोकेको यो गीत गन्धर्वहरुको मिठो गलाबाट निस्केको आफैं सुन्नुहोस् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply