जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना

तपाईंले जुबेदा खातुनको कथा हेरिसक्नु भयो भन्ने पक्कै थाहा भयो होला : जुबेदाकी छोरी हीनाको गायक बन्ने सपना को बारेमा । हीनाले गाएको एउटा हिन्दी गित प्रस्तुत गर्दैछौं जुन कार्यक्रममा समावेश थिएन ।

जुबेदाका ४ छोरी मध्ये हीना जेठी हुन् । जुबेदा र हीना दुबै जना १२ कक्षामा सँगै पढ्छन् । हामीले जुबेदा र उनको संघर्षका बारेमा हीनासँग पनि कुरा गरेका थियौं । गाउँघर वरपर मुस्लिम समुदायमा हीनाका उमेरका धेरै केटीहरु बिचमै पढाइ छाड्न र कलिलै उमेरमा बिहे गर्न बाध्य हुने हीनाले हामीलाई बताएकी थिइन् । जुबेदाको कारणले आफूले पनि भाग्यमानी महशुस गरेको हीनाले बताइन् ।

हीनालाई गीत संगीतमा असाध्यै रुचि छ । उनका समवयी मुस्लिम साथीहरु उनीजस्तो खुलेर गीत गाउन पाउँदैनन् । हीनालाई चाहिँ परिवारको ठूलो साथ छ । उनको परिवार पनि साह्रै रसिलो र रमाइलो रहेछ । बाबु उमेरमा कलाकार बन्ने प्रयास गरेर पुर्खेनी पेशा राँगा ब्यापारमा लागेका । हजुरआमा र हजुरबा दुबै गीत गाउने । गाउने मात्र होइन नातिनी हीनालाई सिकाउने पनि । हामी जाँदा हजुरबुबासँग चाहिँ भेट भएन । राँगा किनबेच गर्न गाउँतिर छिरेका उनी त्यो दिन घर आएनन् । हजुरआमा र नातिनी मिलेर गाएको अवधि भाषाको सुन्दर र मार्मिक लोक गीत त हामीले यसअघि नै प्रस्तुत गरिसकेका छौं । जुन गीत हेर्ने कथा अंक ०८ – जुबेदा खातुनको कथामा पनि समावेश भएको थियो ।

आज चाहिँ हामी हीनाले गाएको एउटा हिन्दी गीत ‘जरुरी था‘ यहाँ राख्दैछौं । यो गीत कार्यक्रममा चाहिँ समावेश गरिएको थिएन । हीनाको आवाज कस्तो लाग्यो भन्नुहोस् र हीनाको गायक बन्ने सपना लाई हौसला दिन केही कमेन्ट पनि लेख्नुहोला । आशा छ हीनाले पनि आफूले गाएको यो गीत हेर्नेछिन् र तपाईंका कमेन्ट पनि पढ्नेछिन् ।

हीनाले गाएको हिन्दी गीत ‘जरुरी था’

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply